ढोरपाटन नगरपालिकाको पहिलो कदम, सरसफाइ अभियान, फोहोर उठाउन गाडीको व्यवस्था !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ जेठ २७ । नेपाल सरकारको नुमना शहर आयोजनामा परेको पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा आज सरसफाई गरिएको छ । ढोरपाटन नगरपालिका कार्यालयको आयोजना र बुर्तिबाङमा रहेका सञ्चार माध्यमहरुको समन्वयमा बजारक्षेत्रमा सरसफाइ गरिएको हो ।

खुला दिशामुक्त गर्नुछ २०१७ भित्र ः सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने मुल नाराको साथमा गत २२ गतेदेखि २८ गतेसम्म राष्ट्रव्यापी रुपमा सञ्चालन भैरहेको अठारौँ सरसरफाइ सप्ताह अन्तरगत उक्त सरसफाई अभियान सञ्चालन गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । सरसफाई अभियानमा नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख करमति पुनमगर, वडा नं १ का अध्यक्ष चित्रबहादुर भण्डारी, वडा नं ३ का अध्यक्ष हेमेन्द्र घर्तिमगर, बुर्तिबाङमा सञ्चालित सञ्चार माध्ययमहरु सामुदायिक रेडियो ढोरपाटन, सामुदायिक रेडियो परिवर्तन र रेडियो बुर्तिबाङमा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै, सरसफाइ अभियानमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, इलाका बन कार्यालय लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनीधि तथा बजारबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बुर्तिबाङ बसपार्कबाट सुरु भएको सरसफाइ अभियानका सहभागीहरुले बजारका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै फोहोर व्यवस्थापनको सचेतना सहित फोहोर संकलन गरेका थिए । संकलित फोहोरलाइ नगरपालिकाले नै व्यवस्था गरेको २ वटा ट्याक्टरको माध्ययमबाट नगरपालिकाको वडा नं ३ मा रहेको सारनबास भन्ने स्थानमा लगेर फोहोरको व्यवस्थापन गरिएको थियो । सरसफाई अभियान सञ्चालन भएको खबर पाएलगत्तै बजारबासीहरुले आफ्नो घरमा उत्पादन भएका फाहोरहरुलाई घरको अगाडि बोरामा पोको पारेर गाडीमा राख्न सघाएका थिए ।

उचित डम्पिङ साइटको व्यवस्थापन नहुँदा प्रदुषित बन्दै गइरहेको बुर्तिबाङमा फोहोर व्यवस्थापनको विषयले बेलाबेलाम चर्चा पाउने गरेको छ । बजारबासीहरुले बजारको छेवै भएर बग्ने बडिगाड नदी किनारमा फोहोर फाल्दा बजारको सुन्दरता नै विग्रकोे मात्र नभइ जलचर प्राणीहरुको अस्तित्वमा समेत नकरात्मक असर पर्ने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

राष्ट्रिय तथा स्थानीय स्तरमा साताव्यापी सरसफाइ अभियान सञ्चालन भैरहँदा नगर व्यवस्थापनको महत्वपूर्ण जिम्मेबारी निकायहरु नगर विकास समिति र ढोरपाटन नगरपालिका बेखबर भएको समाचार केही दिन अघि विभिन्न सञ्चार माध्ययममा व्यापक बनेको थियो ।

फोहोर व्यवस्थापनको लागि डम्पिङ साइटको व्यवस्था भैसकेकोले अव नियमित रुपमा फोहोर व्यवस्थापनको गाडी बजारक्षेत्र भित्र आउने नगरपालिकाले जनाएको छ । केही समय भाडाको ट्याक्टर सञ्चालन गरेर फोहोर बोक्ने र निकट भविष्यमै नगरपालिकाले आफ्नै गाडीको व्यवस्था गर्ने नगरप्रमुख नेपालीले बताए । फोहोर व्यवस्थापनको लागि बजारबासीले तिर्ने सेवाशुल्कको निर्धारण भने अब केही दिनभित्र नगरकार्यपालिकाको बैठकबाट निर्णय गरिने उनको भनाई छ ।

घर वरपर तथा भान्छाकोठाबाट निस्कने अनावश्यक बस्तुहरुलाई कुहिने र नकुहिने गरी छुट्याएर फरक फरक भाँडामा राख्न समेत नगरपालिकाले आह्वान गरेको छ । साथै कम फोहोर उत्पादन गर्नको लागि सकेसम्म पुन प्रयोग गर्ने भाँडाहरुलाई महत्व दिन र पोलिथिनको प्रयोग कम गर्नको लागि बजारमा किनमेल गर्न जाँदा घरबाटै आफ्नो झोला तथा भाँडा लगेर जान पनि आह्वान गरिएको छ । उता ढिलै भएपनि नगरपालिकाले फोहोर व्यवस्थापनको लागि पहिलो कदम चालेको प्रति बजारबासीहरुले खुसी व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *