शनिवार देखी बुर्तिबाङ बजारको फोहोर उठाएर सरसफाई दिवस मनाउने तयारी !

सुमन सुनार, बुर्तिबाङ २०७४ जेठ २६ । देशभर सरसफाई सप्ताह मनाई रहँदा ढोरपाटन नगरपालिकाको कार्यालयले शनिवार उक्त कार्यक्रम मनाउने तयारी गरेको छ ।

नेपाल सरकारले जेठ २२ गते वातावरण दिवसका दिनदेखि २८ जेठसम्म साताव्यापी सरसफाई सप्ताह मनाउन स्थानीय तहलाई समेत निर्देशन गरेको छ । १८औं सरसफाइ सप्ताहका अवसरमा सप्ताहव्यापी स्थानीय स्तरमा खानेपानी मुहान तथा ट्याँकी सरसफाई गर्ने, विद्यालय तथता अफिस र सार्वजनिक स्थलहरु सरसफाई गर्ने, स्कुल मठ मन्दिर परिसर सरसफाई गर्ने, सरोकारवाला निकायसँग अन्तरक्रिया तथा जनचेतना मुलक बोर्डहरु राख्ने कार्यक्रम तय गरेको छ ।

‘खुला दिसा मुक्त गर्नुछ, २०१७ भित्र, सक्षम र जिम्मेवार छ स्थानीय नेतृत्व’ भन्ने नारा सहित भोलि शनिवार विहान ९ वजे ढोरपाटन नगरपालिकामा निर्वाचित प्रमुख तथा उपप्रमुख, वडा नं. १ का वडा अध्यक्ष तथा सदस्यहरु र यहाँ स्थित तीनवटा रेडियोहरुको संयोजनमा सरसफाई सप्ताह अन्तरगत बजार सरसफाई गरिने भएको छ ।

शनिवारबाटै बजारको फोहोर व्यवस्थापनका लागि नगर प्रमुख देवकुमार नेपालीले व्यवस्थापन मिलाएपछि वडा नं. १ का अध्यक्ष चित्रबहादुर भण्डारी, वडा नं. २ का वडा अध्यक्ष युवराज महत र वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तीले फोहोर व्यवस्थापनका लागि स्थान तथा गाडी व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।

यहाँ स्थित सरकारी कार्यालयका प्रतिनिधि तथा सरोकारवाला, र वजारवासीहरुको संयुक्त पहलमा बजार सरसफाई कार्यक्रम गरिन थालिएको नगर प्रमुख नेपालीले बताए ।

राष्टिय सरसफाई सप्ताहकै अवसरमा फोहोर व्यवस्थापनका लागि काम थालिएको वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीले जानाकारी दिए ।

वडा नं. ३ को सारनबास भन्ने स्थानमा फोहोर फाल्ने स्थल तय गरिएको छ । उचित व्यवस्थापन गरेर उक्त सार्वजनिक स्थलको प्रयोग गरि फोहोर व्यवस्थापन गर्न थालिएको वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तीले बताए । यस अघि पनि सोही स्थानमा फोहोर फाल्ने सहमति अनुसार काम थालिएको थियो । फोहोर फाल्नका लागि टेन्डर जितेको टिमले काम गर्न नसक्ने भन्दै सहमति वदर गरेपछि फोहोर व्यवस्थापनको काम रोकिएको थियो ।

तत्कालका लागि बजारको फोहोर उठाउन दैनिक गाडी बजारमा आउने छ । स्थानीय बजारवासीले जल्ने, नजल्ने र नगल्ने फोहोरलाई फरक फरक पोका पारेर गाडीमा राख्न नगरपालिकाका कार्यालयले आग्रह गरेको छ । तत्काल वजारमा स्थलगत अध्ययन गरि असार महिनाको पहिलो हप्तामै शुल्क निर्धारण गर्ने काम गर्ने पनि नगरपालिकाका प्रमुख नेपालीले बताए ।

नगरपालिकाका निर्वाचित प्रतिनिधिहरुले बजार सरसफाई सँगै बजारको फोहोर व्यवस्थानिका लागि यो पहिलो कामको सुरुवात गरेको छ । फोहोर उठाउने काम र प्रक्रिया सुरुभएपनि पनि फोहोरलाई जथाभावी फ्याक्ने वा नजिकको खोलामा फाल्ने गरेको पाइएमा आवश्यक कार्वाही र जरिवाना समेत गर्नसक्ने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *