नगरप्रमुख नेपालीसंग अन्तरंग कुराकानी : सबैसंग समन्वय, सहकार्य र साझेदारी गरेरै काम गर्छु

बुर्तिवाङ २०७४ जेठ २६ । ढोरपाटन नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख (मेयर) देवकुमार नेपालीले ढोरपाटन नगरपालिकाको विकास र सम्वृद्धिका लागी सबैको साझेदारी आवश्यक रहेको बताएका छन् । उनले ढोरपाटनवासीको पहिलो समस्या के हो भन्ने बुझेर गर्न सक्ने योजनाहरु छनोट गरी काम सुरु गछौँ, भनेका छन् ।

नगरप्रमुख नेपालीले भनेका छन्, ‘मिडियालाई पनि मैले यहाँको विकासको साझेदार मानेको छु । अवश्य सकरात्मक सहयोग हुने विश्वासमा छु । यहाँका समस्या, स्रोत साधन र त्यसको उचित प्रयोगका विषयमा जानाकार कार्यालय प्रमुखहरु, अनुभवी साथीहरुसँग कुराकानी गरिरहेको छु । समन्वय सहकार्य र साझेदारी गरेरै मैले काम गर्छु ।’

संपादक राम सुवेदीसंग गरेको अन्तरंग कुराकानीमा नगरप्रमुख नेपालीले आफुलाई माओवादी केन्द्रबाट एमाले भयो भनिएको सन्दर्भलाई स्पष्ट पार्दै भनेका छन्, ‘चुनावमा मैले एमालेको चिन्ह प्रयोग गरे, उनीहरुका जनप्रतिनिधिसँग सहकार्य गरे, अहिले म एमाले नै हुँ ।

चुनावी प्रचारका क्रममा निःशुल्क बस सेवा र एम्बुलेन्स सन्चालन गर्ने प्रतिवद्धताका बारेमा नवनिर्वाचित नगरप्रमुख नेपालीले, ‘कतिपयले यो विषयलाई लिएर सामाजिक सञ्जालमा छेड्खानी पनि गरिरहेका छन् । छेडखानी गर्नेहरुले गरि राखुन, मैले बोलेको कुरा पूरा गर्नु पर्छ । त्यसको तयारीमा छु ।’

(बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा विक्रम सम्वत २०२९ साल चैत महिनाको २९ गते पिता लालबहादुर नेपाली तथा माता सुनमती नेपालीका कोखबाट जन्मेका देवकुमार नेपाली अहिले ४५ वर्षपछि स्थानीय निकायको निर्वाचन मार्फत नगर प्रमुख बन्नु भएको छ । शालिन र भद्र स्वभावका नेपाली आफ्ना जीवनकालमा विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुग्नु भएको छ । कहिले भलिवल खेलाडीका नामले चिननु भयो कहिले सामाजिक कार्यमा सहयोग गर्ने सहयोगदाता त अव ढोरपाटन नगर प्रमुखका रुपमा निर्वाचित भएर चर्चा बटुल्नु भएको छ । एमालेको चुनाव चिन्ह लिएर चुनावमा जानुभएका नेपालीले धेरै पटक मञ्चबाटै म एमाले होईन स्वतन्त्र नागरिक हुँ, मलाई नगर प्रमुखमा निर्वाचित गर्नुस् भन्ने अभिव्यक्ति दिनु भयो । तर विजयी भएपछि अहिले आफू एमाले नै भएको बताउनु हुन्छ, आखिर के हो त उहाँको वास्तविकता ? नेपालीसंग गरिएको अन्तरंग कुराकानी…..राम सुवेदी बाट)

— नेपालीजी, तपाइलाई धौलाश्री अनलाईन (ईबागलुङ डटकम)मा स्वागत छ ।

* धन्यवाद ।

— के गर्दै हुनुहुन्छ ?

* निर्वाचित भएपछि आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन, भेटघाटमा थिए । त्यो काम सके पछि अव नगर प्रमुखको जिम्मेवारी बहन गर्ने विषयमै छलफलमा छु ।

— त्यस्तो छलफल को, कससँग गर्नु भयो ?

* त्यसो त म यहाँका समसामयिक सन्दर्भ विषय वस्तु वुझेका अनुभव राख्ने साथीहरुसँगै छलफल गरिरहेको छु । मलाई तपाईहरुको अझ बढी सहयोग चाहिन्छ । मिडियालाई पनि मैले यहाँको विकासको साझेदार मानेको छु । अवश्य सकरात्मक सहयोग हुने विश्वासमा छु । यहाँका समस्या, स्रोत साधन र त्यसको उचित प्रयोगका विषयमा जानाकार कार्यालय प्रमुखहरु, अनुभवी साथीहरुसँग कुराकानी गरिरहेको छु ।

— निर्वाचनमा एकाएक आएर तपाइको चर्चा भयो नि हैन ?

* हो अवस्था त्यस्तै देखिएको हो । चर्चामा आउनका लागि मैले उमेदवारी दिईन तर स्थिति त्यस्तै बन्यो । तपाइले भने जस्तै चर्चा हुन आवश्यक त थिएन तर पनि अलि बढी भयो की ?

— तपाई एमाले कि स्वतन्त्र ?

* म हिजो पनि बामपन्थी विचारको मान्छे हो । सुरुमा राष्ट्रिय जनमोर्चामा क्रियाशील थिए । पोखरा बसाईपछि म राजनैतिक पृष्ठमा देखिएन । सामाजिक काम गरे, सामाजिक गतिविधिमा सहभागी भएँ तर मलाई माओवादी केन्द्रबाट एमाले भयो पनि भनियो, त्यसो होईन । मात्र चुनावमा मैले एमालेको चिन्ह प्रयोग गरे, उनीहरुका जनप्रतिनिधिसँग सहकार्य गरे अहिले म एमाले नै हुँ ।

— चुनावले तपाइलाई चर्चामा ल्याएको कि,तपाइले ढोरपाटनको चुनावी चर्चामा सहयोग पु-याउनु भएको हो ?

* स्थितिले चर्चा बटुल्ने बनाएको हो । मैले चर्चाका लागि त्यसो त गरिन होला । निर्वाचनमा भाग लिन पाउने आम नागरिकको हैसियत रहन्छ । म सामाजिक कार्यमै रमाउने मान्छे उमेदवारी दिएँ । तपाइहरु जस्तै मिडियाकर्मीले चर्चामा ल्याउनु भएको त हो ।

—निर्वाचन पेरिफेरीको चहल पहल चार्चा परिचर्चा त सकियो अव कसरी चर्चित हुने त ?

* हिजोको अवस्था निर्वाचनमा उमेदवारी दिएको विषयमा चर्चा भयो । त्यो चुनावी चर्चा को कुरा गर्नुभयो । अव त निर्वाचित भएँ अर्थात जनताले मलाई रोज्नु भयो । निर्वाचित भए पछि फेरि अर्को हल्ला बढ्यो । अव काम गरेर सबैका बीच चिनिने हो । मैले केही बचन समेत यस अघि दिएको छु । मैले जे बोल्छु पूरा हुने कुरा बोल्छु । आज सम्म अरु उधारो बोले, गर्न नसक्ने कुरा बोले, जनचाहना विपरित भयो । उनीहरुले हारेका छन् । मलाई पनि जनताले के गर्छ त भनेर परीक्षामा ल्याएका हुन । म फेल हुने वा पास हुने मेरो कामबाट थाहा हुने छन् । त्यस कारण मैले फेरि काम गरेर देखाएर र चर्चामा आउनु छ ।

— चुनाव अघि यहाँले निःशुल्क बस सेवा सूचारु गर्ने र एम्बुलेन्स चलाउने कुरा गर्नुभएको थियो नि ? कहिले सुरु गर्ने बिचार गर्नु भएको छ ?

* मैले बोलेको कुरा पूरा गर्नु पर्छ । त्यसको तयारीमा छु । कतिपयले यो विषयलाई लिएर सामाजिक सञ्जालमा छेड्खानी पनि गरिरहेका छन् । छेडखानी गर्नेहरुले त्यतै गरि राखुन मैले काम गर्ने हो ।

— त्यो काम त्यत्ति सजिलो छैन भन्छन त ?

* काम नगरेकालाई संभव हुने कुरा होईन म आफै गर्ने हो । संभव छ छैन मैले जान्ने होला, अडकल काटनेहरुले जे पनि भन्छन् ।

— अव के गर्नु हुन्छ ?

* मैले जितेको ढोरपाटन नगरपालिका भौगोलिक अवस्थाबाट जटिलतामा अवस्थित छ । शैक्षिक हिसावले समस्यामा छ । नगर क्षेत्र भित्रका हरेक वडामा सडक सञ्जाल पुगेको छैन । स्वास्थ्य संस्था जनताको पहुँचमा छैनन् । शिक्षण संस्था छन् जनताले पैसा उठाएर शिक्षक पाल्नु पर्ने वाध्यता छ । खानेपानी नपाएर जनता काकाकुल छन् । दुर्गम स्थलमा दलित र जनजाति समुदायको बसोवास अत्याधिक छ । जहाँ विभिन्न समस्याहरु विद्यमान छन् । अव यी समस्याका बीच म र मसँगै निर्वाचित भएका जनप्रतिनिलाई काम कहाँबाट गर्ने भन्नै चूनौति अवश्य छ । चूनौतिको सहज सामना गछौं, सरसल्लाह लिन्छौं, संभावनाको खोजी गर्छौं, स्रोत र साधन जम्मा गर्ने प्रयत्न गर्छौं । अन्तिम निश्कर्ष काम गर्ने हो । योजना बनाएर अघी बढ्छौँ ।

— तपाई र तपाइको टिमले गर्नु पर्ने पहिलो काम के देख्नुभएको छ ?

* समस्या धेरै तिरबाट छन तर समाधानहरु पनि उत्तिकै बढी छन् । हामीसँग वडा अध्यक्ष र सदस्य पदमा सामाजिक गतिविधिमा सक्रिय र जुझारु क्षमतावान युवा नेतृत्व चयन भएर आएका छन् । नगरलाई विकास गर्न सक्ने क्षमता भएका प्रतिनिधिहरुलाई साथमा ल्याउछु । हिजो निर्वाचनमा जाँदा आफ्नै ढंगले प्रतिस्पर्धा गरिए होला । अव सबैको साझेदारी आवश्यक छ । हामी जितेकाले सबैलाई मिलाउन सक्नु पर्छ । साथ दिनेले सकरात्मक ढंगले सहयोग गर्नुहुने छ । उहाँहरुसँगै रहेर हामीले योजना बनाउने हो । तर अलि बढी भूमिका निर्वाचित प्रतिनिधिहरुको हुनेछ । निर्वाचित प्रतिनिधिहरुले यस विषयमा सोच्नै पर्छ । यसर्थः जनताका पहिलो समस्या के हो भन्ने बुझेर हामीले गर्न सक्ने र समाधानमा टेवा पुग्ने योजना छनौट गर्छौं र काम सुरु गर्छौं ।

— यो नै काम हामीले पहिलो चरणमा गर्नु पर्छ भन्नै कुनै निर्णय गर्नु भएको छ कि ?

* केही निर्णयहरु हामीले गरेका छौं । हिजो निर्वाचनका बेला जस्तो अहिले काम गर्ने एजेण्डाहरु चर्चामा आउने खालका छैनन् । तर जिम्मेवार ढंगले हामी केही कामको सुरुवात गर्ने जमर्कोमा छौं । जस्तो, हरेक वडामा वडा कार्यालयहरु छैनन् । त्यहाँ कार्यालय स्थापना गर्ने भनेका छौं । वडा सचिव र आवश्यक कर्मचारी व्यवस्थापन छैनन् । त्यसको व्यवस्थापनमा पहल गर्ने निर्णय ग-यौं । नगरपालिकाको कार्यालय भाडामा लिएका छौं । त्यो कार्यालय हामी आफूलाई अपुग जस्तो देखिएको छ । त्यत्ति मात्र होईन कार्यालय व्यवस्थापनका लागि राज्यबाट आएको वजेट समेत प्रयाप्त नभएकाले म आफैले आफ्नै लगानीमा अफिस डेकोरेशन गरिरहेको छु । यहाँका वृद्धवृद्धाहरुका लागि भत्ता वितरण कार्य ढिला भएको रहेछ । त्यसका लागि तत्काल पहल गर्नु पर्ने देखियो । त्यस विषयमा पनि निर्णय गरेका छौं । पहिलो बैठकबाट हामीले मतदान गरि विजयी बनाउने सबै मतदाताहरुलाई धन्यवाद ज्ञापन प्रस्तावलाई पारित गरेका हौं ।

— तपाइले त आफू चुनिए राज्यले दिने सरकारी तलव भत्ता लिंदैन भन्नु भएको थियो नि ?

* हो, त्यो सत्य हो । अझै पनि दोहो-याउन चाहन्छु कि मैले जितीसके, जनताले मलाई जिताउनु भयो । मैले राज्यले दिने कुनै पनि सेवा सुविधा नलिने प्रतिवद्धता विजयी भएको उमेदवारको नाताले फेरि दोहो-याउन चाहन्छु । मेरो नाममा आएको राज्यको तलव भत्ता म सामाजिक कार्यमै लगानी गरेर देखाउने छु । मैले व्यक्तिगत रुपमा स्कुलमा शिक्षक राखिदिएको छु । क्लव, आमा समुहलाई सहयोग गरिदिएको छु । खरका छाना भएका दलित गरिव परिवारका घर जस्ता पाताले छाइदिएको छु । कतिपय ठाउँमा छाइदिने प्रतिवद्धता गरेको छु । मोटरवाटो निर्माणमा सहयोग गरेको छु । अव मैले उनीहरुको आवश्यकता पूरा नभएको देख्दा देख्दै जनताको पसिनाबाट संकलन भएको रकमबाट तलव भत्ता लिदैन भनेको हुँ । त्यत्ति मात्र होईन मेरो कार्यालय मेरै व्यक्तिगत खर्चमा निर्माण गर्दैछु ।

— अफिस निर्माण भन्नाले के के गर्नु हुन्छ ?

* नगर प्रमुखको कार्यकक्षमा चाहिने डेकोरेसन देखि, सोफासेट दराज, कुर्सी, टेबुल कार्पेट, पर्दा, फर्निचरका सबै सामान म आफै व्यवस्थापन गर्दै छु । यस अघि मैले विभिन्न सरकारी स्कुल संघ संस्थालाई सहयोग गर्दै आएको छु । अव आफै बस्ने कार्यालय बनाउन मलाई के अफ्ठेरो भयो र ?

— आज सम्म तपाइले कस्ता कस्ता स्थान, संघ संस्था र समुदायलाई कति सहयोग गर्नु भयो ?

* यसरी हिसाव किताव त नगरौ भन्छु । किन कि मेरो स्वेच्छाले दिएको सहयोग हो । कतै थोरै गरेको छु होला, कतै अलि बढी गरेको हुँला । तैपनि केही न केही राहत मिलेको छ जस्तो महसूस गरेको छु ।

— यो, यो स्थानमा यति सहयोग भयो होला भन्ने केही त होला नि ?

* त्यो त होला । मेरे स्मरण भए अनुसार बागलुङ जिल्लाका २९ वटा विद्यालयमा मैले मासिक ६ हजार तलव दिने गरि एक वर्षलाई दलित समुदायका तर्फबाट शिक्षक व्यवस्था गर्ने व्यवस्था मिलाएको छु । करिव ११ वटा विद्यालयमा कम्पुटर, प्रिन्टर, फोटोकपी दिएको छु । १२ वटा विद्यालयमा गरिव जेहेन्दार वालवालिकालाई सहयोग पुगोस भनेर प्रत्येक विद्यालयमा २ लाख माथिको अक्षयकोष स्थापना गरिदिएको छु । जिल्लाका ४० भन्दा बढी क्लव, आमा समुह, सामाजिक संघ संस्थालाई सहयोग गरेको छु । १ ठाउँमा त आमा समुहको भवन नै बनाइदिएको छु । धेरै मोटरबाटो निर्माणमा सहयोग दिएको छु । यहि हो अझै पनि सामाजिक कार्यमै क्रियाशील छु । मेरो क्षमताले भ्याएसम्म सामाजिक कार्यमा लाग्ने र जनताकै बीचमा रमाउने योजना छ ।

— व्यक्तिगत रुपमै यति धेरै सहयोग गरिरहनु हुन्छ नि तपाइको आय स्रोत के हो ला भनेर पनि प्रश्न गर्छन नि मान्छेहरु ?

* अवश्य पनि हो, यसरी सहयोग गर्दा देवकुमारको आम्दानी के हो भन्नेहरु अलि बढी नै छन् । कहिले काही मिडियामा समेत यहाँहरु जस्तै पत्रकारहरुले मेरा विषयमा विभिन्न अनुमानहरु लेखेको पाएको छु । म पहिला सामान्य मान्छे भएकाले पनि मेरो विषयमा यति धेरै कुराहरु आएका हुन सक्छन् । त्यो मैले महसूस गरेको छु । मैले २०४४ सालमा स्कुल पढदै गर्दापनि बुर्तिबाङ बजारमा एक किराना पसल र फेन्सी पसल सञ्चालन गरेको हुँ । तम्घासबाट सामान आफै बोकेर यहाँ ल्याएर व्यापार गर्थे । त्यसबेला पनि एक अनौठो घटना भएको छ । सबैले बजारमा २४ रुपैयाँ किलो चिनी बेच्दा मैले २० रुपैयाँ किलो चिनी बेचें । त्यो गर्दा मलाई किलोमा २ रुपैयाँ नाफा हुन्थ्यो । धरेले मलाई त्यसबेला यस्ले आफू मासिने व्यापार ग¥यो भन्थे । त्यसताका मैले यहाँको प्रहरी चौकी र ढोरपाटन सिकार आरक्षमा रासन ठेक्का चलाउँथे । देशमा व्दन्व्द भयो त्यसबेला म २०५८ सालमा पोखरा सरें । त्यहाँ सामान्य साइकल पसलबाट व्यवसाय सुरु गरेको हुँ । त्यो साइकल पसल अझैपनि चलिरहेको छ । पोखराको सिर्जना चोकमा मनसन साइकल पसल मलाइ यो स्थानमा ल्याउने पसल हो । त्यससँगै अरु पनि पेशा व्यवसाय गरे, मेहनत गरेर मैले पोखरामा घर जग्गा जोडें । त्यसकै भाडा अहिले करिव ६ लाख मासिक रुपपा आउँछ । त्यही पैसा मैले मेरो परिवार पाल्ने देखि सामाजिक कार्यमा खर्चने गरेको छु ।

— अरु के के काम गर्नु भयो त ?

* पोखरा आफैमा ठूलो शहर हो । त्यहाँका साथीहरुसँग मिलेर केही ठूला कामहरु पनि गरियो होला । २०६८ सालमा पोखरामा इमेज सहकारी खोलियो, २०६९ सालमा बागलुङमा, २०७३ मा बुर्तिबाङ र हटियामा सहकारीको शाखा स्थापना गरेको छु । अरु त खास त्यस्तो केही छैन, म यस अघिको भलिवल खेलाडी पनि भएकाले पश्चिमाञ्चल भलिवल संघको सहल्लाहकारका रुपमा छु । बुर्तिबाङमा पनि तपाईहरुसँगै सहकार्य गर्नका लागि रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्ज स्थापना गरेको छु ।

— प्रशंग बदलौं,

* हुन्छ ।

— तपाइको अतित अर्थात वितेका दिन कस्ता थिए भन्ने बताउन मिल्छ ?

* किन नमिल्ने, मिल्छ । धेरै मान्छेले आफ्नो इतिहास मेटेर वर्तमानको परिचय दिन खोज्छन, त्यो राम्रो होईन । मैले जहाँ जाँदा पनि भन्ने गरेको छु । म एक गरिब दर्जीको छोरो हुँ । दलितको बच्चा हुँ । मैले मेहनत गरेर कमाएको पैसाबाट सामाजिक सहयोग गरेको हुँ । मेरो सहयोगले कसैको दुखेसो मान्नु पर्ने वा प्रश्न तर्क वितर्क गर्नु उचित देख्दिन । मेहनत गरे तपाईको पनि प्रगति हुन्छ ।

— कसरी पढनु भयो ?

* मैले यही बुर्तिबाङ बसपार्कमा भएको उत्तरगंगा स्कुलमा पढेको हुँ । म पढदा खेरि भने सधै सेकेन्ड हुन्थें ।

— भलिवल खुब खेल्नु भयो रे नी ?

* खेलियो हेर्नुस् । मलाई पहिलो चर्चामा ल्याउने भलिवल खेल नै हो । २०४४ सलदेखि २०५५ सालसम्म भलिबल खेलें । साथीहरुसँग खुब मिलियो । रमाइलो गरियो । मलाई क्वीक सर्टर भनेर चिन्थे ।

— भलिवल खेलबाट तपाई कसरी चर्चामा अउनु भयो ?

* भलिवल खेल मलाई सानै देखि मन पर्ने । खेल्दै गर्दा २०४६ सालमा वीरेन्द्र शिल्ड खेलियो, जितियो । २०४७ सालमा पोखरा गएर क्षेत्रिय र राष्ट्रिय गेम खेलियो, जितियो । क्षेत्रिय खेल खेल्दा मैले पहिलो पटक सट् हान्दा भलिवल फूटेको थियो । त्यसले पनि मलाई चर्चामा ल्यायो । राष्ट्रिय खेल जितेपछि मलाई भलिवल खेलको राष्ट्रिय खेलाडीको मेडल प्रमाणपत्र मिल्यो । त्यसपछि विभिन्न ठाउँमा खेल्न गइयो, खेलियो ।

— अरु ठाउँमा खेल्दा भलिवल फुटेनन् ?

* होईन, फुटे नि । मेरो खेल जीवनमा मैले सट हान्दा ३ वटा भलिवल फुटाएको छु । पहिलो पटक क्षेत्रिय खेल खेल्दा पोखरामा फुटाले । दोस्रो पटक बागलुङ कै खार बजारमा न्वागी मेलामा खेल्दा फुट्यो र तेस्रो पटक म्याग्दीको सहश्रधारमा खेल्न जाँदा भलिवल फुटाएको छु ।

— अव त विकासको मूल फुटाउने होला नि ?

* हो अवश्य, यी जीवनका पुराना इतिहास हुन् । जो आज स्मरण गर्ने मौका दिनुभयो । यहाँलाई र यहाँको मिडियालाई विषेश धन्यवाद । अव स्थानीय निकायको निर्वाचनमा चुनिएर ढोरपाटन नगरपालिकाको प्रमुख पदको जिम्मेवारीमा छु । अव यहाँका विकास निर्माण, सामाजिक परिवर्तन र समस्याहरुको समाधानमा जनतासँग मिलेर अफ्ठेराहरु फोर्नु छ । गरिव दुखी जनतालाई टिममा लिएर हामी बीचमा भएका संभावनाहरुको खोजी गरी म मात्र होईन सबै ढोरपाटन नगरवासी विजयी हुनु छ । अव त्यतै तिर लाग्छु ।

— त्यस्ता संभावनाहरु के रहेछन् ? केही अध्ययन गर्नु भएको छ ?

* संभावना अत्यधिक छन् । म स्वयं त्यस्तो विज्ञ होईन, विज्ञ साथीहरुको टिम बनाउनु छ । सामाजिक काममा म भन्दा अझ बढी अनुभव भएका साथीहरु निर्वाचनमा विजयी भएर टिममै आउनु भएको छ । उहाँहरुको माईन्डलाई पनि प्रयोग गर्नु पर्छ । अरु पनि अनुभवले खारिएका सामाजिक व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुसँग समन्वय सहकार्य र साझेदारी गरेरै मैले काम गर्ने हो ।

संभावनाका हिसावले विद्युत निर्माण गर्ने प्रशस्त ठाउँहरु छन् । हाम्रै नगरमा पर्ने ढोरपाटन उत्तरगंगामा ३ सय मेगावाटको विद्युत उत्पादन हुने राज्यले सर्बे गरिसेको र कतिपय कामहरु अघि बढेका छन् । ढोरपाटन क्षेत्र विभिन्न जडीबुटी उत्पादन हुने क्षेत्र छ । सिकार आरक्ष भएकाले त्यहाँको पर्यटन विकासलाई समेत हामीले व्यवसायीकीकरण गर्न सक्नु पर्छ । अत्यत्ने उर्बर भूमि पनि यही छ । यसको सही प्रयोग गर्न कृषकहरुलाई व्यवसायिकीकरण गर्नु छ ।

हाम्रो शिक्षा पद्धति समेत अहिलेको अवस्थामा उत्पादन सँग जोडिएको छैन यहाँ प्राविधिक शिक्षा सिकाउने वातावरण तयार पर्नु छ । सडक, पुल, पुलेसा, स्वास्थ्य, शिक्षा लगायतका विभिन्न समस्याहरुको पहिचान र परिवर्तन गर्न सकिने क्षेत्रबाट रुपान्तरण गर्नु हाम्रो काम हुनुपर्छ । धेरै गफ त नगरौं । काममा सबैले समान सहयोग गरौं भन्छु । सबैको सकरात्मक सोंच भए देवकुमार मात्र हाइलाईट हुने, वा देवकुमारको मात्र चर्चा हुने भन्ने हुँदैन होला । सबैको चर्चा हुने, नगरवासीकै परिचर्चा हुने गरि मिलेर काम गर्नु पर्ने छ ।

— सामाजिक संघ संस्था वा जिम्मेवारी लिएको इतिहास के के छन त ?

* सुरुमा बुर्तिबाङमै एक क्लव गठन गरेर पनि सामाजिक काम गरिएको हो । म यस अघि बुर्तिबाङ हुँदा खानेपानी समितिको अध्यक्ष भएर काम गरेको अनुभव छ । बागलुङ हुँदै बुर्तिबाङ आउने सडकको ट्रयाक खोल्दा एडिबीको बाटो निर्माणमा अध्यक्ष समेत भएर काम गरेको छु । अहिले विभिन्न सामाजिक गतिविधि सञ्चालन गरेका संघ संस्थासँग सहकार्य गर्दै सामाजिक जीवन नै व्यतित गरेको छु । अव यो जिम्मेवारी आयो । यसलाई पनि सम्हाल्ने छु ।

नगर प्रमुख देवकुमार नेपाली र संपादक राम सुवेदी (फाईल फोटो)

— तपाइको जीवनमा त्यस्तो कुनै विर्सन नसक्ने कुनै घटना छन जो बताउन मिल्छ ?

* जीवनका उतार चढावमा घटनाक्रम त दैनिक जसो हुन्छन् । तर मैले मेरो व्यक्तिगत जीवनको घटनामा सधै संझाउने र विर्सन नसक्ने घटना मेरो आफ्नै छोराको दुर्घटना हो । २०६८ सालमा १९ वर्षका छोरा मोहन नेपालीको पोखरामा सडक दुर्घटनामा परि मृत्यु भयो । उक्त घटनाले मलाई अहिलेसम्म पनि झस्काउँछ । व्याडमिन्टन खेलाडीका रुपमा मेरो जस्तै चिनारी बनाएका मोहनको सडक दुर्घटनामा ज्यान गयो । मेरो स्मरणमा अत्यन्त दु:खद क्षण बन्यो ।

— तपाइका अरु परिवारका सदस्यहरु के गर्नुहुन्छ ?

* मेरो श्रीमती छेला म सँगै छन् । छोरो सन्तोष मेरो व्यवहार सम्हाल्छन् । बुहारी पल्लवी युके छन् । छोरी कर्मा पढदै छन् । एक नातिनी समेत छन् । सबै आफ्नै काममा व्यस्त छन् ।

— समय दिनु भयो यहाँलाई धेरे धन्यवाद ।

* यहाँलाई पनि धन्यवाद, मेरो जीवनको यथार्थता मिडियामा ल्याई दिनुभयो, भोलिको बाटो कसरी तय गर्ने केही मनन योग्य कुराहरु भए । सधै सहकार्यमा रहने छु । धौलाश्री टिमलाई धेरै धन्यवाद ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *