जन माध्यमिक विद्यालय, झिम्पाको नामलाई किन कौडीको भरमा बेचियो ?

—लोकेन्द्र निरासी

साविकको बोहरागाउँ गाविस वडा नं. ९ झिम्पा, हाल निसीखोला गाउँपालिका वडा नं. ४ मा पर्ने जन माध्यमिक विद्यालयको नाम एकाएक कौडीको भरमा बेचिएको छ । यस घटनाले स्थानीय व्यक्ति, विद्यालयका चन्दादाता, अभिभावक र आम सरोकारवालाहरुलाई यतिबेला बहसको विषय बनाएको छ । उक्त जन माध्यमिक विद्यालयको नाम परिवर्तन गरि जन जीवराज सुशिला माध्यमिक विद्यालय राखिएको छ । संचालक समितिका केही व्यक्तिहरुको चलखेलबाट अन्तत: आफ्नो अभिष्ट पुरा गर्न सफल भएका छन् ।

वि.सं. २०१२ सालमा स्थापना भएको जन माध्यमिक विद्यालय बागलुङ क्षेत्र नं. ३ कै सबैभन्दा पुरानो विद्यालय हो । यस अर्थमा पनि यस विद्यालयले आफ्नो छुट्टै इतिहास बोकेको छ । वि.सं. २००७ सालपछिको क्रान्तिबाट आम जनमानसमा शिक्षाको लहर बढ्दै गएपछि र देशभर धमाधम विद्यालय एव. शैक्षिक संस्थाहरु खुलेको अवस्थामा स्थानीय शिक्षाप्रेमी र समाजसेवीहरुको सक्रियतामा त्यतिबेला यो विद्यालयको स्थापना भएसंगै यस क्षेत्रमै शिक्षाको पहिलो बत्ती बेलेको थियो । देशमा प्रजातन्त्र आउँदा देशको साक्षरता स्थिति जम्मा २ प्रतिशत भएको तत्कालीन अवस्थामा गाउँघरका जनताहरुको शैक्षिक अवस्था र चेतनास्तर कस्तो थियो होला ? जोकसैले सहजै अनुमान गर्न सकिन्छ । त्यसबेला सरकारले धमाधम देशभर विद्यालयहरु खोल्ने काम गरे पनि तिनीहरु व्यवस्थित बन्न सकेका थिएनन् । स्थापना भएका सीमित विद्यालयहरुमा पनि पाठ्यक्रम, पाठ्यपुस्तक, भौतिक पूर्वाधार र जनशक्तिको समेत अत्यन्त कठिन अवस्था थियो । त्यस अवस्थामा स्थानीय समाजसेवी र शैक्षिक व्यक्तिहरुकै सक्रियतामा विद्यालयको श्रीगणेश गर्नु अवश्य पनि कम चुनौती थिएन । जसरी स्थानीय जनताले विद्यालयको स्थापना गरे त्यसरी नै विद्यालयको नाम पनि जनताले अपनत्व हुने गरि जन प्राथमिक विद्यालय भनी नाम जुराइएको थियो ।

सुरुको वर्षमा १ कक्षाबाट सुरु गरि ३ कक्षा हुदैं क्रमशः प्रा.वि. तह कक्षा ५ सम्मको पढाइ सुचारु हुँदै गयो यस विद्यालयमा । देशको शैक्षिक अवस्था र शिक्षा नीति अनुकुल सामन्जस्य हुदैं यस विद्यालयले ५२ वसन्त पार गरिसकेपछि मात्र २०६४ सालमा यस विद्यालयलाई कक्षोन्नति गरि निम्न माध्यमिक तहमा पठनपाठन सुरु गरियो । २०४८ सालपछि जिल्ला भरका प्रा.वि. तहका न्यूनतम ४ ओटा शिक्षक दरबन्दी कोटालाई समेत राज्यले कटौती गरी ३ ओटा दरबन्दी मात्र दिने व्यवस्था गरेको र त्यो पनि सबै ठाउँमा पर्याप्त नहुने, विद्यार्थीको चापका कारण स्थानीय तहबाट शिक्षक नियुक्ति गर्नुपर्दा र विद्यालयको अन्य भौतिक व्यवस्थापनका कारण पनि विद्यालयलाई शैक्षिक व्यवस्थापनमा कठिनाइ पर्नु स्वभाविक नै थियो । वि.सं. २०६९ सालमा यस विद्यालयलाई निमावि तहबाट कक्षोन्नति गरि मा.वि. गराइयो र हाल कक्षा १ देखि १० कक्षासम्म नियमित पढाइ संचालन भइरहेको छ ।

गत वर्षदेखि नै विद्यालयको नाम परिवर्तन गर्ने भन्ने हल्ला बाहिर आएको थियो । कुनै पनि इतिहास बोकेको विद्यालयको नाम एकाएक परिवर्तन गरि व्यक्ति विशेषको नाम राख्नु अत्यन्त गम्भीर विषय हो । यसको लागि आम स्थानीयबासी, चन्दादाता, शिक्षाप्रेमी र सरोकारवालाहरुबीच व्यापक छलफर र बहस हुनुपथ्र्याे । विद्यालयको नामलाई परिवर्तन गरि यतिबेला लेंड न बेंड गराई एकै परिवारका २ जना व्यक्तिको नाम झुण्डाइएको छ । यसले विद्यालयको इतिहासलाई समेत नामेट गरिदिएको छ । आखिर विद्यालयको नाम परिवर्तन गर्नुमा खास कुन पक्षले काम गर्यो त ? को हुन् जीवराज र सुशिला ? यी प्रश्नको उत्तरसंगै यो घटनाको आन्तरिक पक्षलाई बुझ्न र विश्लेषण गर्न जरुरी छ ।

जीवराज शर्मा न्यौपाने पुराना कट्टर पन्चे थिए र उनी पन्चायत कालमा अन्चल उपसभापति समेत भएका थिए भन्ने जानाकारहरु बताउँछन् । उनी गाउँका ठूलाठालु र सामन्त वर्गको कित्तामा पर्ने व्यक्ति थिए । उनले आफ्नो जीवनकालमा लामो राजनीति समेत गरे । उनको जीवन कालमा सरकारले समेत उनलाई राजनीतिक पीडित भनेर तराईमा धेरै मौजा जमिन समेत उपलब्ध गरायो । पछिल्लो समयमा उनको बसाइ पनि तराईमा नै भएको थियो । एक समाजसेवी र शैक्षिक व्यक्तिको हैसियतकै कारण आफ्नो क्षेत्रमा सबैभन्दा पहिला शैक्षिक संस्थाको स्थापना गर्न उनी सफल भएका थिए । त्यसैले पनि जन मा.वि. को स्थापना गर्नेदेखि लिएर आफै शिक्षक र विद्यालय व्यवस्थापन समितिमा समेत रहेर विद्यालयको शैक्षिक उन्नतिको लागि उनको योगदान महत्वपूर्ण छ । उनैकी धर्मपत्नी हुन् सुशिला शर्मा । त्यसैगरि छोराहरु डा. शान्तराज शर्मा र चक्रराज शर्मा समेत स्थानीय बौद्धिक र राजनीतिक व्यक्तित्व मानिन्छन् । धरै जसो समय क्यानडा बस्ने डा. शान्तराज शर्माले आफ्नो क्षेत्र र जिल्लाका विभिन्न विद्यालयहरुमा विदेशी भोलुन्टर शिक्षक पठाउनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छन् ।

विद्यालयको नाम परिवर्तन गर्नका लागि छोराहरु शान्तराज शर्मा र चक्रराज शर्मा लगायत परिवारजनले कुनै प्रस्ताव नराखेको तर कसरी एकाएक नाम परिवर्तन गरियो त ? यो विषय भने आफैमा गम्भीर छ । विद्यालयलाई भवन निर्माणका लागि जग्गा नभएको र समस्या भएकाले विद्यालयसंगै उनको जग्गा सटेको हुँदा विद्यालयलाई ३५ लाख बराबरको जग्गा आउने भए बुबा आमाको नाम राखिदिने भनी छोराहरु दुवैभाइसंग विद्यालय व्यवस्थापन समितिले नै प्रस्ताब लगेको विद्यालयका प्रधानाध्यापक यमकान्त पौडेल बताउँछन् । विद्यालयसंग सटेको जग्गा झण्डै २ रोपनी मात्र छ । विद्यालयलाई दिएको झण्डै ४९ रोपनी जग्गा मध्ये अरु जग्गा झिम्पाखोला भन्ने ठाउँको पाखो जग्गा हो । हिजोका दिनमा यस्ता पाखो जग्गाहरु गाउँका ठूलाठालु र सामन्त वर्गले अमिनसंग मिलेर सित्तैमा आफ्नो नाममा गराउने गर्थे जुन सर्वसाधारण जनतालाई थाहा समेत हुँदैन्थ्यो । तर यस विषयमा जीवराज शर्मा कत्तिको चोखो थिए ? यो विषय भने अनुसन्धानको फरक पाटो रहला । त्यसैले उनलाई दोष देखाएर यसैमा मुछ्ने ठाउँ अहिले देखिदैन । जे होस् जीवराज शर्मामो विद्यालय स्थापनादेखि आफ्नो जीवनभर विद्यालयलाई दिएको योगदान अमूल्य छ । तर यो संगै जोडिएको विषय हो, किन विद्यालयको नाम परिवर्तन गरियो त ? सामान्य रुपमा हामीले विश्लेषण गर्ने हो भने पनि अहिलेसम्म इतिहास बोकेको विद्यालयको नाम परिवर्तन गरि विद्यालयलाई योगदान दिएको नाममा सिङ्गो विद्यालयको नाम परिवर्तन गरि एकै परिवारका दुई जना व्यक्तिको नाम झुण्डाउनु राम्रो कुरा होइन ।

यसो त जसजसले यो प्रपोकाण्ड रचे उनीहरुसंग सजिलो जवाफ छ—हामीहरुले शिक्षा नियमावलीमा व्यवस्था भएअनुसार नै प्रक्रिया पुराएर गरेका हौं । यतिबेला आम सरोकारवाला र सर्वसाधारणलाई पनि उनीहरुको जवाफ यही छ कि सर्वपक्षीय अभिभावक भेला र विद्यालय व्यवस्थापन समितिको निर्णयले यसो गरेको हो । स्मरण रहोस् यस विषयमा ३५ लाख बराबरको जग्गाको मूल्यांकन नभएको र अन्य प्रक्रिया समेत नमिल्दा जिल्ला शिक्षा कार्यालय र शिक्षा मन्त्रालयले समेत लामो समय प्रक्रिया रोकेको थियो तर रातारात कागजी घोडा दौडाएर आखिर जसले जे अभिष्ट पुरा गर्न खोजेका थिए त्यो गरेरै छाडे । तर, यसरी हेर्दा हामी संग व्यवहार र कानुन संगै छ भन्ने कुरालाई भुल्नु हुँदैन । शिक्षा नियमावलीमा ३५ लाख वरावरको विद्यालयलाई आर्थिक सहयोग गर्नेलाई चाहेमा उसैको वा परिवारका कुनै २ को नामबाट विद्यालयमो नाम राख्न सकिने प्राब्धान भए पनि त्यसको समाजिक महत्वमा सकारात्मक र नकारात्मक कस्तो प्रभाव पार्छ भन्ने विषय पनि उत्तिकै महत्वको विषय हो ।

संस्थालाई सहयोग गर्ने व्यक्तिलाई उसको नाममा विद्यालयको नाम राखेर मात्र सम्मान हुने कुरा होइन । विद्यालयका संस्थापक जीवराज शर्मालाई सम्झने र उनको सम्मान गर्ने अरु थुप्रै विकल्पहरु थिए । उनको नाममा स्मृति भवन राख्ने, पुस्तकालयको नाम राख्ने, स्मृति कक्षको निर्माण गर्ने, अक्ष कोषको निर्माण, छात्रवृत्ति र पुरस्कारको स्थापना, विद्यालय परिसरमा सालिक निर्माण आदि यस्तै यस्तै गर्न सकिने प्रसस्त बाटाहरु थिए । तर त्यतातिर कसैको ध्यान गएन । बरु हिजोका राजा महाराजा, राणा र सामन्तहरुले जस्तै नाम झुण्डाउने प्रयत्न गरियो । हिजोका दिनमा विद्यालय, क्यमाम्पस, सार्वजनिक भवन, राजमार्ग आदि राजा र राणाहरुकै नामबाट राख्ने गरिन्थ्यो । तर देशमा लोकतन्त्र आएपछि त्यसमा परिवर्तन आएको छ । कतिपय धेरै ठाउँमा ती त्यस्ता नाम समेत परिवर्तन गरिसकिएको छ । त्यसैले अबका दिनमा पनि सार्वजनिक पवित्र शैक्षिक संस्थालाई नाम परिवर्तन गरि एकाएक व्यक्तिको नाम राख्नु किमार्थ राम्रो हुन सक्दैन । यसरी नै नाम परिवर्तन गर्दै जाने हो भने भोलिका दिनमा कौडीकै भरमा थुप्रै विद्यालयको नाम किन बेच हुने छ र शैक्षिक इतिहास र गौरवको नामेट हुने छ । आज जन माविको नाम परिवर्तन गरेर व्यक्ति विशेषको नाम राख्नेहरु भोली आफ्नै गाउँमा रहेको अर्काे विद्यालय जनमुक्ति प्रा.वि.को नाम पनि नामेट गराई रामे, श्यामे वा कुनै अरु आफ्नै पौडेल सन्तान दर्सन्तानको नाम नजोड्लान् भन्न सकिदैन ।

सामाजिक सेवा भनेको देश र जनता, समुदाय र समाजको लागि गरिने पवित्र सेवा हो । त्यसैले सामाजिक सेवाको कुनै मुल्य हुँदैन । यस अर्थमा सामाजिक सेवामा व्यक्तिले होइन जनताले गर्व गर्ने ठाउँ हुनु पर्छ । साझा रुपमा अपनत्व ग्रहण गर्ने हुनुपर्छ । यति पुरानो इतिहास बोकेको विद्यालयको नाम परिवर्तन गरेर व्यक्ति विशेषको नाम झुण्डाउनु कत्तिको जायज र सान्दर्भिक हुन सक्छ ? यो प्रश्नले स्वयं डा.शान्तराज शर्मा र चक्रराज शर्मा जस्ता शैक्षिक व्यक्तित्वलाई छुनुपथ्र्याे, एक पटक अवश्य सोंच्नु पथ्र्याे । तर त्यो देखिएन । आज विद्यालयको इतिहास नामेट गरेर व्यक्तिको हाइहाइ भएको छ । साना बालबालिकालाई विद्यालयको नाम सम्झन र लेख्न समेत वर्षाै अभ्यास गर्नुपर्ने भएको छ । उता विद्यालय स्थापना हुँदा भवन निर्माणमा आफ्नो दाहिने खुट्टो गुमाएर जीवनभर अपाङ्ग भएर जीवन गुमाएका अत्यन्त निम्न परिवारका स्थानीय भोलानाथ पौडेललाई न कसैले सम्झने कोशिस गरे न त कहिल्यै राहत नै पाउन सके । वर्षको एक पटक थुप्रै चन्दादाता र समाजसेवीहरुलाई सम्मान गर्दा उनको नाम समेत कतै आउँदैन । त्यसैले यी कुराहरुमा सबैको ध्यान जान जरुरी छ ।

अन्य ठाउँको प्रसंगलाई हेर्दा पनि बुर्तिबाङ स्थित उत्तरगंगा मावि छेउँको विद्यालयलाई अत्यन्त उपयोग हुने जग्गा अनुदान दिने र त्यहाँ एउटा पुस्तकालय खोलिदिने जुन पुस्तकालयको नाम आफ्नो आमा बुबाको नामबाट राख्नुपर्ने प्रस्ताव धेरै वर्ष पहिला बुर्तिबाङका समाजसेवी एवं शिक्षाप्रेमी अर्जुन मल्लले राख्दा समेत विद्यालयले मानेको थिएन । उता निसीभुजी जनता क्याम्पस बुर्तिबाङलाई कसैले सुरुमा विपी क्याम्पस र पछिल्लो समयमा नाम परिवर्तन गरि ढोरपाटन बहुमुखी क्याम्पस राख्ने कुरा गरेपनि त्यसलाई नाम परिवर्तन गर्नेमा कसैले सहमती दिएनन् । यसरी हेर्दा विद्यालय र शैक्षिक पवित्र संस्थाहरुको नामलाई कौडीकै भरमा विक्रि गरि संस्थालाई सहयोग गरेको नाममा विद्यालयको नाम परिवर्तन गरि कुनै व्यक्ति विशेषको नाम राख्नुले हिजोका पन्चे र सामन्तवादको जरो अझै समुल नष्ट हुन सकेको छैन भन्ने कुरा स्वतः प्रमाणित हुन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हाल निर्वाचित निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल र केही शैक्षिक र सामाजिक व्यक्तित्व भनिनेहरुको समेत संलग्नतामा यस प्रकारको कार्य हुनु अत्यन्त निन्दनीय कुरा हो । यही जेठ १९ गते सम्पन्न विद्यालयको ६३ औं वार्षिकोत्सवमा समेत चन्दादाता, अभिभावक र केही शैक्षिक व्यक्तिहरुको लिखित एवं मौखिक रुपमा विरोध र आपत्ति समेत आएका छन् । उक्त दिन अभिभावकहरुको समेत अघिल्ला वर्षहरुमा झैं उल्लेख्य उपस्थिति रहेको पाइएन । त्यसैले विद्यालयको नाम परिवर्तन गरि संस्थाको इतिहासलाई नै नामेट गर्ने गरि यस खालको चक्रव्यूह कसले रच्यो ? यसमा सबै सरोकारवालाहरुको ध्यान जान जरुरी छ ।

बुर्तिवाङ, २०७४ जेठ २०

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *