नयाँ शहर बुर्तिबाङको जग्गा खरिद प्रकरण विवादमा : कुनाकाप्चाका जगा महंगोमा बेच्ने चलखेल !

भब्रेटाको भीरालो जगा खरीद कुन प्रयोजनका लागि हो ? स्पष्ट पार्न प्रजिअको निर्देशन !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ जेठ १९ । नयाँ शहर बुर्तिबाङको लागि जग्गा खरिद प्रकरण विवादमा तानिएको छ । स्थानीय राजनैतिक दलहरुको खिचातानीको कारण नयाँ शहर आयोजनाकोे जग्गा खरिद प्रकरण विवादमा तानिएको हो ।

नेपाल सरकारबाटै नयाँ शहर आयोजनाका लागी आवासीय, शैक्षिक, अस्पताल, मनोरञ्जन, वित्तीय संस्था लगायतका भवन निर्माण गर्न जग्गा विकास आयोजना सुरु गरिएको छ । र यसका लागि कम्तिमा पनि ७ सय रोपनी र बढीमा १ हजार रोपनीसम्म जग्गा खरिद गर्नुपर्ने शहरी विकास तथा भवन निर्माण विभागको निर्देशन रहेको छ । तर नगर विकास समिति, बुर्तिबाङको २ वटा कार्यकाल सकिदासम्म मुस्किलले ५० रोपनी जग्गामात्र खरिद भएको छ । खरिद गरिएका जग्गा समेत विवादित बनेका छन् । अघिल्लो नगर विकास समितिका संयोजक तुलसीराम अर्यालको २ बर्षे कार्यकालमा १५ रोपनी र पछिल्लो अर्जुन शेरचनको कार्यकालमा ३५ रोपनी जग्गा मात्र खरिद गरिएको नयाँ शहर आयोजनाका कार्यलय प्रमुख प्रविणप्रताप अधिकारीले बताए ।

पमुख जिल्ला अधिरकारी भागिरथ पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरु राजनीतिक विचारधारामा विभक्त भएर कसैले तीव्र जनसंख्या वृद्धिको कारण जग्गा पाउन मुस्किल भएकोले बुर्तिबाङ बजारदेखि नजिकका अन्य भिरालो जग्गा भएपनि खरीद गर्नुपर्ने प्रस्ताव अघि सारे भने कसैले महंगै भएपनि बुर्तिबाङ बजारभित्र नै जग्गा खोज्नु पर्ने बताए ।

आयोजनाले खरिद गर्ने भनेको ढोरपाटन नगरपालिकाको विस्मोर र भब्रेटाको जग्गाको स्थिती र त्यसलाई कुन प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डे र स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य सहितको टोलीले बिहिबार स्थलगत अध्ययन गरेको थियो ।

स्थलगत अध्ययनपछि शुक्रवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले नगर विकास समितिलाई जग्गा खरिदबारे छिट्टै नै प्रकृया बढाउन सुझाव दिएपनि समिति त्यसप्रति गम्भिर नभएको आरोप लगाए ।

उनले नयाँ शहर आयोजनाका कर्मचारीहरुलाई उक्त भिरालो जग्गा खरिदको प्रकृया कुन प्रयोजनको लागि अघि बढाइएको हो भनेर स्पष्ट पार्न समेत आग्रह गरे ।

नयाँ शहर आयोजना बुर्तिबाङका कार्यलय प्रमुख प्रविण प्रताप अधिकारीले विभिन्न स्थानमा जग्गा हेरेपनि उपलब्ध नभएकोले बुर्तिबाङ बजारदेखि केही नजिकको विस्मोरको ३१ रोपनी र पुर्कोटको ८३ रोपनी जग्गालाई खरिद प्रकृयामा लगेको बताए । उनले त्यहाँका जग्गाधनीहरुले निवेदन दिएकाले विज्ञ टोलीको अध्ययनपछि कुन प्रयोजनको लागि प्रयोग हुने भन्ने बारे टुङ्गो लाग्ने पनि बताए ।

जग्गाधनी मध्यका एक गुञ्जबहादुर भण्डारीले नयाँ शहर आयोजनाको मापदण्ड अनुसार बुर्तिबाङ र आसपासमा कुनै पनि जग्गा उपलब्ध नभएकोले पुर्कोट, विस्मोर र भब्रेटाको जग्गालाई खरिद प्रकृया अघि बढेकोले आफुहरु तयार रहेको बताएका थिए ।

त्यस्तै, स्थानीय यामु पौवी, निलबहादुर पुन र अशोक विक लगायतले सवै राजनैतिक दलहरुले संयुक्त रुपमा स्थलगत अनुगमन गरेरै जग्गा खरिद प्रकृया अघि बढेकोले उक्त जग्गा जसरी भएपनि किन्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

तर नगर विकास समितिका सदस्य तथा जग्गा खरिद समितिका संयोजक दलबहादुर भण्डारीले बिस्मोरको जग्गा केही हदसम्म ठिक भएपनि भब्रेटाको जग्गा भिरालो भएकोले आफुलाई चित्त नबुझेको स्पष्ट पारे ।

त्यस्तै, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, पूर्व नगरविकास समितिका संयोजक तुलसीराम अर्याल, महिला सञ्जाल बुर्तिबाङकी अध्यक्ष दुर्गादेवी घर्तिमगर, लगायतले केही महंगो रकम तिरेरै भएपनि जतिसक्दो छिटो सकेसम्म बजार क्षेत्र भित्रनै एकीकृत सेवाका कार्यलय स्थापना गर्न जग्गा खरिद गर्नुपर्ने बिचार अघि सारेका थिए ।

अन्तरक्रियामा बोल्ने कतिपय बक्ताहरुले बुर्तिबाङ मात्र नभएर ढोरपाटन उपत्यका लगायत आसपासका कतिपय समथर भूभाग भएका जमिनलाई समेत खरिद गर्नुपर्ने धारणा राखेका थिए ।

जग्गा खरिद सम्बन्धमा निष्कर्ष हुन नसकेपछि ढोरपाटन नगरपालिकाका प्रमुख, उपप्रमुख, ९ वटै वडाका वडा अध्यक्ष, विभिन्न राजनैतिक दलका १ड्ड१ जना प्रतिनीधि, नगर समितिका कर्मचारी र जग्गाधनी विचमा छलफल गरी प्रमुख जिल्ला अधिकारीलाई अनुमोदनको लागि प्रतिवेदन बुझाउने सहमति गरि आजको भेला समापन भएको छ । नगर समितिको बैठक भने केही दिनपछि बस्ने नयाँ शहर आयोजना बुर्तिबाङका प्रमख अधिकारीले बताए ।

कार्यक्रममा बुर्तिबाङ स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनीधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनीधि तथा जग्गाधनीहरुको उपस्थिती रहेको कार्यक्रममा नयाँ शहर आयोजनाका लेखापाल नेत्रप्रसाद ङरेग्मीको स्वागत मन्तव्य र कार्यलय प्रमुख प्रविणप्रताप अधिकारीको सञ्चालन रहेको थियो ।

स्थानीयले बुर्तिवाङ बजारलाई सरकारको नयाँ शहर बनाउने योजना अनुसार आवश्यक पर्ने समथर भूभाग बुर्तिवाङ बजार आसपासमा नभएको भन्दै नेताहरुले आआफना पक्षधरका पाखा पखेराका जमीन खरीद गर्न दबाब दिने गरेको बताए ।

७ सय देखी १ हजार रोपनी जग्गा आवश्यक पर्ने सरकारी योजना पूरा गर्न बुर्तिवाङ बजार आसपास प्रयाप्त जग्गा छैन, एक स्थानीयले भने, बुर्तिवाङ, अधिकारीचौर र खुँगा समेतका १५/२० ठाउँमा टुक्रा टुक्रा समथर जग्गा खरीद गरेर ७ देखी १ हजार रोपनी पुराउन सकिन्छ ।

अहिले बुर्तिवाङवासीहरु कुरा गर्छन, बुर्तिवाङ बजार (बडीगाड खोला) पारीको टारीखेत र त्यसदेखी केहि तल रहेको सेराफाँट बाहेक अर्को बिकल्प छैन । यी जग्गाहरुमा मुद्दा हालेर किचलो निकाल्ने काम भएको उनीहरुको आरोप छ । बुर्तिवाङ नया शहरमा विकास गर्ने हो भने यी दुई जग्गानै सर्वाधिक उपयुक्त छन नत्र ढोरपाटनको जग्गा लिएर हजार रोपनी पुराउन पर्छ या खुंगा, अधिकारीचौरका जमीन खरीद गरेर बस्ती विकासगरी बुर्तिवाङलाई नयाँ शहर होईन टुक्रे शहरमा रुपान्तरित गर्नु पर्छ भन्ने टिप्पणी भैरहेको छ । स्थानीयहरुको भनाईमा बुर्तिवाङलाई नयाँ शहरमा विकास गर्ने हो भने महंगै भएपनि बुर्तिवाङ आसपासकै जग्गा खरीद गर्नु आवश्यक छ नकि पाखा पखेराका जग्गा ।

१ हजार ७ सय ७६ किलोमिटर लामो मध्य पहाडी लोकमार्गमा १० वटा आधुनिक सुविधा सम्पन्न सहर बनाएर प्रत्येकमा करिब १ लाख व्यक्ति बसाउने योजना सरकारको छ । ती स्थानमा खानेपानी, सडक, बत्तीलगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइने छ । जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको स्थिति, जनसंख्या, यातायात सुगमता लगायतका आधारमा सरकारले २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रुपमा लागेको छ । प्रत्येक सहर विकासका लागि ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *