घरगाउँमै दक्ष स्वास्थ्यकर्मीबाट उपचार सेवा पाएपछि महिलाहरु खुसी !

बागलुङ, २०७४ जेठ १७ । जैमिनी नगरपालिका–९ पैंयुथन्थापमा सम्पन्न भएको स्त्री रोग सम्बन्धी बहृत् निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५७ जना महिलाले लाभ लिएका छन् । दुई दिन चलेको शिविरमा पाठेघरको जटिल समस्या देखि सामान्य स्त्री रोगका बिरामीले जाँच र उपचार सेवा पाएका हुन् । ग्रामिण भेगका महिलालाई लक्षित गरि गैरआवसीय नेपाली संघ हङकङ र पैंयुथन्थाप स्वास्थ्यचौकी मिलेर शिविर चलाएका हुन् ।

जाँच गराएका मध्ये ७ जना महिलाको पाठेघरको शल्यक्रिया गरिने स्वास्थ्यचौकीका प्रमुख कुष्मराज सुवेदीले जानकारी दिनुभयो । समस्याको निदान शिविरमै भएपनि शल्यक्रिया भने धौलागिरि अञ्चल अस्पताल बागलुङमा गरिनेछ । शल्यक्रिया गर्दादेखि पूर्ण निको नहुञ्जेलसम्मको सबै खर्च आयोजकले नै व्यहोर्ने बताईएको छ । सोमबार र मंगलबार राखिएको शिविरमा आएका १९ जना महिलाको पाठेघरमा ‘रिङ्ग प्रेसरी’ राखिएको जनाइएको छ ।

‘पाठेघर खस्ने, महिनाबारी अनियमित हुने, बढी रगत बग्ने, तल्लो पेट दुख्ने जस्ता समस्या भएका महिलाहरुले शिविरबाट लाभ उठाउनुभएको छ’ स्वास्थ्यचौकी प्रमुख सुवेदीले भने ।

आयोजकले बिरामी महिलाहरुलाई गुणस्तरीय उपचार सेवा र औषधि वितरणको व्यवस्था मिलाएका थिए । धौलागिरि अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएका दक्ष स्वास्थ्यकर्मीले बिरामीको जाँच तथा उपचार गरेका हुन् । टाढा–टाढाका गाउँबाट किशोरी देखि ज्येष्ठ उमरेका महिलाहरु शिविरमा सेवा लिन आएको आयोजक गैरआवसीय नेपाली संघ हङकङका अध्यक्ष ललित सुब्बाले बताए ।

उनले ग्रामिण भेगका महिलाहरुलाई गुणस्तीय स्वास्थ्य उपलब्ध गराउन शिविर राखिएको उल्लेख गरे । हङकङमा रहेका नेपाली समुदायबाट आर्थिक सहायता जुटाएर निःशुल्क स्वास्थ्य शिविर राखिएको हो । संस्थाले यसअघि पनि शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा कल्याणकारी कामहरु गर्दै आएको अध्यक्ष सुब्बाले बताउनुभयो । ‘यो शिविर राख्न मात्र करिब ५ लाख रुपैयाँ खर्च हुने देखिएको छ’ अध्यक्ष सुब्बाले भन्नुभयो ‘शल्यक्रिया गर्नुपर्ने बिरामीको निको नहुञ्जेलसम्मको सम्पूर्ण खर्च संस्थाले व्यहोर्छ ।’

उनले आफूहरु पेशा, व्यावसायको क्रममा विदेश पुगेपनि सदा नेपाल र नेपालीको हितमा कार्य गरिरहेको बताए ।

उक्त शिविरमा आएका महिलाहरुलाई निःशुल्क रुपमा ‘सेनेटरी प्याड’ समेत वितरण गरिएको थियो । प्रजनन स्वास्थ्यका विषयमा प्रशिक्षण दिनुका साथै स्वास्थ्यकर्मी, महिला स्वयंसेविका लगाएतलाई आयोजकले सम्मान समेत गरेको थियो । लामो समयदेखि समस्या पालेर बसेका महिलाहरुको समेत रोगको पहिचान भएको शिविरमा पुगेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । घरगाउँमै दक्ष स्वास्थ्यकर्मीबाट उपचार सेवा पाएपछि महिलाहरु खुसी देखिन्थे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *