महिलाको अगुवाईमा समृद्ध समाज निर्माण संभव- एमाले नेतृ केसी

बागलुङ, २०७४ जेठ १५ । नेकपा एमाले समर्थित अखिल नेपाल महिला संघ बागलुङले नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा आयोजना गरेको वधाई ज्ञापन तथा स्वागत कार्यक्रममा बोल्दै नेकपा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य मना केसीले समाज रुपान्तरणका लागि महिलाको नेतृत्व सफल र सक्षम रहेको दावी गरेकी छिन् । स्थानीय तह निर्वाचनले ४० प्रतिशत भन्दा बढी महिलाहरुलाई जनताका प्रतिनिधिका रुपमा स्थापित गर्न सफल भएको भन्दै महिलाको अगुवाईमा समृद्ध समाज निर्माण संभव रहेको उनको भनाई थियो ।

समाजमा अझै पनि महिलाले के गर्न सक्छन् र ? भन्ने सोंच विद्यमान रहेको भन्दै उनले महिलाले नेतृत्व पाए भने यसरी काम गर्न सक्छन् भन्ने उदाहरण बन्न स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपालीले नेकपा एमालेको नेतृत्वमा महिला लगायत समाजमा पछि परेका र पारिएकाहरुलाई अगाडि बढाउने काम भएको भन्दै उच्च मनोबलका साथ जनताका बीचमा काम गर्न आग्रह गरेका थिए ।

बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख जनकराज पौडेलले जनताको इच्छा आकांक्षा र आवश्यकतालाई मध्यनजर गरेर आफुहरु काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जनताका अपेक्षा धेरै छन्, प्राथमिकता र सम्भाव्यताका आधारमा काम सम्पन्न गर्दै अगाडि बढ्ते प्रतिवद्धता व्यक्त गर्दै प्रमुख पौडेलले कुनै पनि कामलाई राजनीतिक आस्था, भुगोल र अन्य कारणले विभेद नगर्ने स्पष्ट पारे ।

कार्यक्रममा नेकपा एमाले प्रदेश नं. ४ संगठन कमिटिका सदस्य गीता शर्मा, केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसी, केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी, नेकपा एमाले जिल्ला सचिव लालबहादुर थापाले जनप्रतिनिधिहरुलाई जनअपेक्षा अनुसार काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बानपा–३ का नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा, काँठेखोला गाउँपालिका वडा नं. ८ लेखानीमा नेकपा एमालेका तर्फबाट नवनिर्वाचित वडा अध्यक्ष चित्रकला छन्त्याल श्रीस, बानपा–५ का वडा सदस्य कालिका शर्माले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अखिल नेपाल महिला संघ बागलुङका उपाध्यक्ष यमुना रानाको अध्यक्षता, उपाध्यक्ष सुजाता नेपालीको स्वागत र सचिव अम्बिका रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिकाबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *