रेडियो परिवर्तन बुर्तिबाङद्वारा गणतन्त्र दिवससँगै छैठौें वार्षिकोत्सवका कार्यक्रम सुरु

प्रशान्त घर्ती मगर, बुर्तिबाङ २०७४ जेठ १३ । ढोरपाटन नगरपालिको केन्द्र बुर्तिबाङमा रहेको सामुदायिक रेडियो परिवर्तनले गणतन्त्र दिवससँगै आफ्नो छैठौं वार्षिकोत्सव कार्यक्रम मनाईरहँदा शुक्रबार पश्चिमका विभिन्न विद्यालयहरुमा वक्तृत्वकला, हाजिरीजवाफ तथा कविता वाचन प्रतियोगिता सम्पन्न भएका छन् ।

रेडियोको छैठौं वार्षिकोत्सव कार्यक्रमको पूर्व सन्ध्यामा बुर्तिबाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालयमा ‘समुदायमा संचार माध्यमको भूमिका’विषयक मा.वि.स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त वक्तृत्वकला प्रतियोगितामा कक्षा १० मा अध्ययनरत सन्तोष क्षेत्री प्रथम, कक्षा ९ मा अध्ययनरत रमा वि.क. द्धितीय र कक्षा १० मा अध्ययनरत गंगा चालिसेले तृतीय स्थान हाँसिल गरेका छन् । विद्यालयका प्रधानाध्यापक धन बहादुर कुँवरको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन तथा सहजीकरण शिक्षक हिरालाल पौडेल र लोकेन्द्र सुनारले गरेका थिए ।

त्यसैगरी ढोरपाटन नगरपालिकाको वडा नं. २ अर्नाकोट आधारभूत विद्यालय खल्बाङमा पनि शुक्रबार नै ‘सञ्चार र विद्यार्थीको भूमिका विषयक’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जसमा कक्षा ८ की अनिता थापा प्रथम र कक्षा ८ कै सुनिता कुँवर द्धितीय भएका छन् । विद्यालयका प्रधानाध्यापक धन बहादुर महतको अध्यक्षता, शिक्षक कृष्ण बुढा, रिता घर्ती र लीला खत्रीको सहजीकरण रहेको उक्त कार्यक्रमको संचालन विद्यार्थी कमल कुँवरले गरेका थिए ।

उता निसीखोला गाउँपािलका स्थित प्रभा माध्यमिक विद्यालय झिवाखोलामा पनि रेडियाकै आयोजनामा शुक्रबार नै मा.वि.स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा कक्षा ११ की रुकुमा रेग्मी प्रथम, कक्षा ११ कै हिमला पौडेल द्धितीय र कक्षा ९ की सञ्जु घर्ती तृतीय भएका छन् ।

त्यस्तै कक्षा १० का संगीता चन्द, विष्णु रेग्मी, गीता सुनार र कक्षा ९ की राधा खड्काले सान्त्वना स्थान हासिल गरेका छन् । विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । विद्यार्थी प्रकाश सापकोटाको अध्यक्षता तथा विद्यालयका शिक्षक जनकलाल खरेल र लोकेन्द्र चन्दको सहजीकरण रहेको उक्त कार्यक्रमको संचालन नवीन पौडेलबाट गरिएको थियो ।

त्यस्तै निसीखोला गाउँपालिककै जन माध्यमिक विद्यालय झिम्पामा रेडियो परिवर्तनकै आयोजनामा अन्तर सदानात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रममा पास्कल सदन प्रथम, अल्वर्ट आइन्सटाइन सदन द्धितीय र न्युटन सदन तृतीय भएका छन् । विद्यालयका प्रधानाध्यापक यमकान्त पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक एवं रेडियोका सदस्य रिम प्रसाद पौडेलले गरेका थिए ।

त्यसैगरी आफ्नो छैठौँ बार्षिक उत्सवको अवसर पारेर सामुदायिक रेडियो परिवर्तनले ढोरपाटन नगरपालिका—५, सहिखोला स्थित शिवालय माध्यमिक विद्यालयमा भोलि आइतबार वक्तृत्वकला प्रतियोगीताको आयोजना गर्ने भएको छ । माध्यमिक तहमा सञ्चालन गरिने उक्त वकतृत्वकला प्रतियोगीताको शिर्षक शिक्षा क्षेत्रमा सञ्चार माध्ययमको भूमिका रहेको छ ।

रेडियोले यस वर्ष वार्षिकोत्सवका अवसरमा यही जेठ १४ गते बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका विरामीहरुलाई फलफूल वितरण गर्ने छ भने १५ गते गणतन्त्र दिवससँगै रेडियोको छैठौं वार्षिकोत्सवका अवसरमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरक्रिया गर्ने भएको छ । पत्रकार आपत रामजाली पत्रकारिता स्मृति पुरस्कारबाट सञ्चार माध्यममा क्रियाशील २ जना पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको रेडियोका अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिए ।

दैनिक १९ घण्टा प्रशारणमा आएको रेडियोले सामुदायिक सरोकारका विषयलाई मुख्य प्राथमिकतामा राखेको रेडियोका स्टेशन म्यानेजर राम सुवेदीले बताए । सामुदायिक रेडियोको भूमिका भनेको समुदायलाई जगाउनु, व्युझाउनु र जागरुक गर्नु हो । सामाजिक सरोकारका विषयलाई उठान गर्नु प्रमुख दायित्व समेत रहेको उनको भनाई छ । छैठौं वर्ष प्रवेशसँगै रेडियोले जिल्ला तथा त्यस बाहेकका विभिन्न सञ्चार माध्यम, सञ्चारकर्मी, बुद्धिजीवी, सामाजिक व्यत्तित्वहरुसँग सहकार्य गर्दै आइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *