कुनपाको चुवा र पकुवा जोड्ने मोदीको पुल जीर्ण, कुनैपनि समय दुर्घटना हुने खतरा !

प्रकाश पौडेल, पर्वत २०७४ जेठ ७ । पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नं ८ को चुवा र वडा नं ११ को पकुवा जोड्ने मोदी खोलाको मोटरेबल पुल जीर्ण हुनाले कुनै पनि समय दुर्घटाना हुनसक्ने अवस्थामा छ । करीब एक दशक पहिले निर्माण गरिएको यो मोटरेबल पुलबाट पर्वत जिल्लाको दक्षिण फलेवास क्षेत्रका ग्रामिण क्षेत्रहरुमा सवारी यातायात सन्चालन हुँदै आएको छ ।

पुलमा विच्छ्याईएका स्टिलपाताहरु उक्किएकाले सवारी साधनहरु आवत जावतमा असुविधा भएको सवारी चालकहरुको गुनासो रहेको छ । पुलको छेउ र वीचमा स्टिलपाता उक्किएर माथिमाथि आएपछि दुर्घटनाको संभावना बढेको उनिहरुले बताएका छन् ।

धेरै समयदेखी पुल जीर्ण अवस्थामा रहँको भन्दै स्थानीयवासीले तत्कालै मर्मतका लागी सरोकारवाहरुको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीले मर्मतकालागि इस्टमेट तयार गरी माथि पठाई सकिएको बताएको एक हप्ता नाघी सक्दा पनि मर्मतको सुरसार केहि नदेखिएपछी यात्रुहरु आक्रोशित बन्दै गएका छन् ।

जीर्ण दोविल्ला पुलको मर्मका सम्वन्धमा जिल्ला समन्वय समितिका संयोजक (स्थाविअ) विष्णुप्रसाद भुसालसंग जानकारी माग्दा १५ २० दिन भित्र स्टिलपाताहरु फेरिने बताएपनि अहिले सम्म कुनै काम सुरु भएको अवस्था छैन ।

दिनहुँ दर्जनौँ सवारी साधनहरु र सयौ यात्रुहरु आवत जावत गर्ने मुख्य पुल भएकाले यसको तुरुन्त मर्मत गरिनु पर्ने सेवाग्राहीको माग रहेको छ ।

स्मरणीय के छ भने सो पुलबाट वारपार गर्ने एक सवारीले ८५ रुपयाँ दस्तुर तिर्नु पर्छ । सवारी साधनहरुबाट दस्तुर उठाउन पुलमा बस्ने कर्मचारीको मिलिमतोमा रातिराति डोजर तार्ने गर्दा पुल यसरी जीर्ण भएको स्थानीयले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *