आचार संहिता विपरीतका क्रियाकलाप नगर्न निर्वाचन कार्यालयको आग्रह

विजय राना, बागलुङ २०७४ बैशाख २७ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बागलुङ जिल्लामा आचार संहिताको व्यापक उल्लंघन भैरहेको चर्चा चलिरहेकै अवस्थामा जिल्ला निर्वाचन कार्यालय बागलुङले निर्वाचन आचारसंहिता भित्र रहेर चुनाव प्रचार/प्रसार गर्न दलहरुलाई आग्रह गरेको छ ।

दलहरुले पार्टीको चुनाव चिन्ह सहितका टोपी, टिसर्ट वितरण गर्ने गरेको, मोटर साइकल ¥याली गरेको, अत्याधिक खर्च गर्ने गरेको भन्दै त्यस्ता क्रियाकलाप नगर्न र नगराउन कार्यालयले अनुरोध गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकाशचन्द्र पौडेलले निर्वाचन विपरितका कार्य भएमा कार्वाही प्रक्रिया अगाडी बढाउने बताए ।

दल र उमेदवारहरुले २ लाख देखि ४ लाख रुपैयाँ सम्म मात्रै खर्च गर्न पाइने आचार संहितामा उल्लेख भए पनि पैसाको चर्को खेल हुन थालेको गुनासो आउन थालेको भन्दै पौडेलले निर्वाचनलाई प्रभावित पार्ने गरि त्यस्ता गलत क्रियाकलाप नगर्न आग्रह समेत गरे ।
आचार संहिता उल्लंघनको बारेमा कुरा उठेको भएपनि लिखित उजुरी कसैबाट नआएको बताए ।

यसैवीच बुधवार दिउसो जिल्लामा क्रियाशील राजनैतिक दलहरु, नागरिक समाज, पत्रकारहरुवीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताएको छ । अन्तरक्रियामा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको सहभागिता रहनेपनि जानकारी दिईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *