माओवादी केन्द्रमा बिचलन : पार्टीलाई विश्वासघात गर्नेहरुमाथि छानविन सुरु : बिज्ञप्ती

देवकुमार नेपाली व्यापारी हुन्, माओवादी केन्द्रका जिम्मेवार व्यक्ति होईनन् : केसी

बागलुङ २०७४ बैशाख २५ । बागलुङ जिल्ला चुनावमय बनेको छ । राजनीतिदल र उमेदवारहरु नगर र गाउपालिकाहरुमा मतदाताहरु समक्ष पुगिरहेका छन्, आआफनो चुनाव चिन्हमा मतदान गर्न अनुनय विनय गरिरहेका छन् । जिल्लाको चुनावी माहौललाई नजिकबाट नियाली रहेका हरु अन्य राजनैतिक दलका र स्वतन्त्र उमेदवारहरुको तुलनामा माओवादी केन्द्र चुनावी दौडमा केहि शिथिल देखिएको विश्लेषण गर्न थालिएको छ ।

विगतका संविधान सभाका चुनावहरुमा जस्तै स्थानीय तहको निर्वाचनमा सुरुमै घात अन्तर्घातको सुत्रपात भएको माओवादी केन्द्रभित्र चर्चाको विषय बनेको छ । जिल्लामा वाम दलहरुवीच चुनावी कार्यगत एकता गरेर जाने अन्तिम समयसम्म भएको गम्भीर छलफलले मुर्तरुप लिन नसक्नुमा पनि माओवादी केन्द्रनै दोषी रहेकोे बामबृत्तमा टिप्पणी भैरहेकै अवस्थामा बागलुङ नगरपालिकामा पार्टीबाट मेयर र उपमेयर लगायत विभिन्न पदहरुमा उमेदवारी दर्ता गरेका उमेदवाहरुमध्य मेयर पदकी उमेदवार कुशुम बुढामगर र उपमेयर पदका उमेदवार निर्मलबहादुर श्रेष्ठ दुबैले मनोनयन फिर्ता गरेर मैदान नै खाली गरिदिएपछी राजनैतिक बृत्तमा सनसनी नै फैलियो ।

माओवादी केन्द्रले नेपाली काँग्रेसका लागी मैदान छोडेको तर्कले व्यापकता लिईरहेकै समयमा माओवादी केन्द्रका प्रचार प्रसार प्रमुख कृष्णबहादुर केसीले इबागलुङसंग कुरागर्दै पार्टीको कुनै सरसल्लाह बेगर उनि (उमेदवार)हरुले मनोगत हिसावले उमेदवारी फिर्ता लिएको मात्र बताएनन् उनले यसलाई पार्टी अनुशासनहीनताको पराकाष्ठाको संज्ञा दिए ।

प्रचार प्रमुख केसीले भने, ‘पार्टीसंग सल्लाह नै नगरी मनोगत हिसावले उमेदवारी फिर्ता लिनु पार्टीप्रतिको विश्वासघात हो ।’

‘अब पार्टी उनिहरुमाथी के कार्बाही गर्छ त ?’ भन्ने प्रश्नमा प्रचार प्रमुख केसीले कार्बाहीको प्रकृया शुरु भैसकेको बताए ।

बागलुङ नगरपालिकामा माओवादी केन्द्रको मत कसलाई जान्छ भनी इबागलुङले सोधेको प्रश्नमा केसीको भनाई थियो, हाम्रो मत अन्य कुनै दलका उमेदवाहरुलाई जान्न, हामी मत संरक्षण गर्ने पक्षमा छौ, उमेदवार नभएपनि हाम्रै पार्टीको चुनाव चिन्हमा मतदान गरेर मत संरक्षण गर्छौँ । बागलुङ नगरपालिका बाहेक अन्य नगर तथा गाउपालिकाहरुमा अन्य पार्टीहरुसंंग केन्द्रले चुनावी तालमेल गरेर उमेदवारी दिएको प्रशंग कोट्टाउदै ती नगर र गाउपालिकाहरुमा हाम्रो तालमेल अनुसार ने चुनावमा अघि बढ्छौं ।

एक फरक प्रशंगमा उनले भने, ढोरपाटन नगरपालिकामा एमालेबाट मेयरमा उमेदवार दिने देबकुमार नेपाली माओवादी केन्द्रको कुनै पनि तहको जिम्मेवारी पाएका व्यक्ति नभएको बताए । उनी (नेपाली) एक भूमिपति र कर्पोरेट व्यापारी हुन् केसीले भने माओवादी केन्द्रको सदस्य होईनन् ।

यसैवीच नेकपा माओवादी केन्द्र बागलुङले मेयर र उपमेयर पदका उम्मेद्वार कुशुम बुढा र निर्मल बहादुर श्रेष्ठले पार्टीको हवाला दिँदै अनपेक्षितरुपमा उम्मेद्वारी फिर्ता लिएकोमा पार्टी स्तव्ध भएको उल्लेख गर्दै यस बिषयमा छानविन अघि बढाएको जनाएको छ ।

नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक चन्द्र बहादुर बुढा सागरले एक बिज्ञप्ती प्रकाशित गरी सिङ्गो पार्टी पंक्ति र आम नागरिकमा भ्रम सृजना गरेकोमा ध्यानकाकर्षण भएको बताएका छन् ।

पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक सागरव्दारा हस्ताक्षेरित बिज्ञप्तीमा अनपेक्षित रुपमा पार्टीको हवला दिदै उम्मेद्वारी फिर्ता लिएकोमा आवश्यक छानबिन गरी कारबाही अगाडी बढाईने उल्लेख गरिएको छ । त्यसैगरी बरेङ्ग गाउपालिकामा अध्यक्षका उम्मेद्वार प्रदिप थापामगर पार्टीको आधिकारिक नभै फरक चुनाव चिन्ह (रुख)मा उम्मेद्वारी दर्ता गरेको प्रति आवश्यक प्रक्रिया अगाडी बढाई सकिएको पनि बिज्ञप्तीमा उल्लेख छ ।

नेकपा माअ‍ेबादी केन्द्र पार्टीको निति अनुसार जिल्लाका सबै गाउंपालिका र नगरपालिकाका सबै तहहरुमा पार्टीका उम्मेद्वारहरुको मनोनयन दर्ता गरी नीति र नेतृत्वलाई बिजयको लागि सिंगो पार्टी पंक्ति लागेका विज्ञप्तीमा उल्लेख छ ।

बिद्यमान उत्पन्न परिस्थितीको सामना गर्दै सम्पुर्ण पार्टी पंक्ति जिल्लाका ४ नगरपालिका र ६ गाउपालिकाका सबै तहमा माओबादी केन्द्रका उम्मेद्वारलाई बिजयी गराउनका लागि दृढता पुर्वक लाग्न बिज्ञप्ती मार्फत आब्हान गरिएको छ । जिल्ला स्तरमा वार्ता सम्बादवाट चुनावी तालमेल सम्भव नभएपछि शक्ति सन्तुलनको हिसाबले स्थान बिशेषमा अन्य दलहरु संग तालमेल गरी चुनावी रणनितिमा लाग्न निर्देशन भए अनुसार तालमेल सकरात्मक भई चुनावी रणनितिमा लागेको बिज्ञप्ती मार्फत स्पष्ट पारिएको छ ।

उता बरेङ गाउपालिकाको उपप्रमुखमा पार्टी तालमेल विरुद्ध गएर उमेदवारी दिने माओवादी केन्द्रकी जुझारु महिला नेतृ चीनिमायाँ कालामगरका बारेमा भने कार्बाहीगर्ने बारे विज्ञप्तीमा केहि उल्लेख गरिएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *