चर्चाको शिखरमा ढोरपाटन : एमाले उमेदवार नेपालीले आचारसंहिता उल्लंघन गरेको आरोप !

बागलुङ २०७४ बैशाख २४ । बागलुङ जिल्लामा स्थानीय तहको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयबाट उमेदवारको अन्तिम नामावली प्रकाशित भएसंगै चुनावी प्रचार अभियानले थप तीब्रता लिएको छ ।

जिल्लाका ४ नगरपालिका र ६ गाउपालिकाहरुमा विभिन्न राजनीतिक दलहरु र स्वतन्त्र गरी १३ सय ७६ जना उमेदवारहरु चुनावी दौडमा छन् । राजनीतिक दल र उमेदवारहरु चुनावी सभा, भेला, छलफल, नारा जुलुश, मतदाता भेटघाटमा कार्यक्रमहरुमा सक्रिय रहेका छन् ।

जिल्लाको चुनावी परिदृश्यलाई नियाल्दा विभिन्न कारणले ढोरपाटन नगरपालिका सर्वाधिक चर्चामा छ । जनसंख्या (२६२१५) का हिसावले जिल्लाकै सानो ढोरपाटन नगरपालिकामा सर्वाधिक (२०१ जना) उमेदवार चुनावी मैदानमा डटेकाले मात्र यो नगरपालिका चर्चामा रहेको नभै चुनाव प्रचार प्रसार अभियानमा निर्वाचन आचार संहित उल्लंघनलाई लिएर पनि चर्चाको शिखरमा पुगेको हो ।

भनिदिउँ, जिल्लाको राजनीतिमा निसीभूजी क्षेत्रका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रहेका देवकुमार नेपालीले उमेदवारी दर्ता गर्ने घण्टा भर अगाडी बडो नाटकीयरुपमा एमालेमा प्रवेश गरी सोहि दलबाट मेयर पदमा मनोनयन दर्ता गराएपछी एकाएक चर्चामा आए । नेपालीले एक्कासी दल परिवर्तन गरेर जिल्लाका राजनीतिक पण्डितहरुलाईपनि चकित ख्वाएका थिए ।

यतिखेर ढोरपाटन र देवकुमार एकार्काका पर्यायवाची बनेका छन् । नेपालीले ढोरपाटन नगरपालिकाको मेयर पदमा एमालेबाट मनोनयन दर्ता गरेपछीको पहिलो चुनावी सभामा आफुले चुनाव जितेमा राज्यबाट पाउने सेवा सुविधा नलिने र यसलाई एककोष बनाएर सर्बदलीय सहमतिमा विकास कार्यमा खर्चगर्ने मात्र बताएनन् उनले निजी खर्चमा एम्बुलेन्स सन्चालन गर्ने र बुर्तिवाङ-पोखरा नि:शुल्क बससेवा सन्चालन गर्ने उद्घोष गरेर निर्वाचन आचार संहिता माथि पहिलो धावा बोले ।

माओवादी केन्द्रका उपल्ला दर्जाका नेताहरुको सन्निकट मानिने नेपालीले एक्कासी एमालेमा प्रवेश गर्नु पछीको बास्तविकता जे भएपनि नेपालीलाई यो चुनाव जीवन मरणको प्रश्न बनेको निश्चित छ । जसरी हुन्छ नेपालीले विजय हात पार्नु छ, । यसै उद्देश्यका साथ उनी चुनावी दौडमा होमिएका छन् ।

उता नेकपा एमालेका नेताहरु माओवादी केन्द्रबाट देवकुमार नेपालीलाई एमालेमा ल्याउन पाउदा निकै उत्साहित देखिएका छन् । उनिहरु राजनतिक हिसावले ढोरपाटनमा एमालेको उपस्थिति बलियो भएको दंभ प्रदर्शन गर्न सुरुपनि गरिसकेका छन् ।

बैशाख २१ गते बुर्तिवाङको बसपार्कमा आयोजित चुनावी सभालाई संवोधन गर्दै एमालेका केन्द्रिय सदस्य गोविन्द नेपालीले ढोरपाटन नगरपालिकामा एमालेको जीत सुनिश्चित भैसकेकाले काँग्रेसका उमेदवार अर्जुन शेरचन, माओवादी केन्द्रका उमेदवार शेरमान घर्ती र जनमोर्चाका उमेदवार गौरीश्वर पाण्डेले नाम फिर्ता लिएर चुनावी मैदानबाट हट्न सुझाव दिएका थिए । नेपालीको यस अभिव्यक्तिलाई राजनीतिक बृत्तमा एमालेको दंभको रुपमा लिईएको छ ।

बैशाख २२ गते ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै मेयरका उमेदवार नेपालीले पहिलो चुनावी सभामा जाहेर गरेको प्रतिवद्धतालाई दोहोराउदै खरका छाना भएका दलितका घरहरुमा चुनाव जितेपनि हारेपनि टिनको छाना हालिदिने घोषणा गरे ।

अधिकारीचौरकै ओख्रेनीमा आयोजित चुनावी सभामा नेपालीले स्थानीय आमा समूहलाई रु २५ हजार दिएपछी ढोरपाटन-६ का माओवादी केन्द्रका अध्यक्ष जीतबहादुर विकले ‘चुनावमा पैसा नबाँड्नुस बिचार बाँड्नुस’ भनेर बिरोध जनाएको श्रोतले बतायो ।

बिकले, यसो भनिरहँदा सभामा रहेका वीरबहादुर बिक सहितका एमालेका केहि कार्यकर्ताले आफुमाथी हातपात गरेको इबागलुङलाई बताए । उनले कुटाईबाट देब्रे कानमा असरपरेको पनि बताए । तर नेपालीका निकटस्थहरु भने यसलाई माओवादी केन्द्रका नेताहरुको आरोप मात्र भएको भनेर खण्डन गरेका छन् ।

यसबारेमा माओवादी केन्द्र ढोरपाटन नगरपालिकाका अध्यक्ष चन्द्रलाल अर्यालसंग जानकारी लिन खोज्दा उनले आमा समूहलाई पैसा दिएको सत्य हो, हामीले निर्वाचन आचार संहिता उल्लंघन गरेको मौखिक सूचना निर्वाचन अधिकृतको कार्यालयमा दिईसकेका छौ र लिखित उजुरी पनि दिने जानकारी गराए ।
अध्यक्ष अर्यालले माओवादी केन्द्रका वडा अध्यक्ष जीतबहादुर विक माथि एमाले कार्यकर्ताहरुबाट भएको सांघातिक आक्रमणको कडा बिरोध गर्दै यस घटनाको घोर भत्र्सना समेत गरेका छन् ।

‘हामीले बाँडेको होईन यो माओवादीको आरोप मात्र हो भन्छन नि एमालेहरुले’ भनि जिज्ञासा राख्दा अध्यक्ष अर्यालले भने, ‘पैसा बाँडेको सत्य हो, चुनावको बेला पैसा बाड्दा कसले भर्पाई दिन्छ ? पैसा बाँडेको सत्य हो, लेख्ने नलेख्ने तपाई (पत्रकार) को विचार हो ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *