यस्तो छ नयाँ शक्तिको पूर्वाधार विकास योजना

काठमाडौं २०७४ बैशाख २३ । ‘‘अरुले गर्छन कुरा, हामी गर्छौ पूरा’’ भन्ने मूल नारा लिएर घोषित स्थानीय तह निर्वाचनमा होमिएको नयाँ शक्ति पार्टीले देशका तीव्र विकासलाई अर्जुनदृष्टि बनाएको छ । पार्टीले जारी गरेको प्रतिबद्धतापत्रमा विकास र समृद्धिको मार्गचित्र प्रस्तुत गर्दै नयाँ शक्तिले अबको २५ वर्षमा नेपालको विकास र समृद्धिको स्तरलाई विकसित देशको स्तरमा पुर्याउने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
राजनीतिक परिवर्तनको लामो श्रृंखला पार गर्दैगर्दा नेपाल विकासको सवालमा पछाडि पर्नुको मुख्य कारण विकास र सृमद्धिका एजेण्डालाई यहाँका पार्टीहरुले कहिल्यै मूल विषय नवनाएको ठहर गर्दै, नयाँ शक्तिले त्यही विषयलाई केन्द्रमा राखेर राजनीतिक अभियान सुरु गरेको हो । विद्यमान राजनीतिक पार्टीहरुमध्ये नयाँ शक्ति पार्टीको जन्म नै देशको समृद्धिका निम्ति भएको ठहर गरेको छ ।
अन्य पार्टीहरूले देशको विकासलाई चुनावी नारामा र चुनावलाई मागी खाने र ठगी खाने भाँडोमा परिणत गरेका भन्दै समृद्धिका लागि कामै गरेर देखाउने प्रतिबद्धता नयाँ शक्तिले गरेको छ । नयाँ शक्ति पार्टीले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षभित्रमा आम गरिबीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुक बनाउने, १५ वर्षभित्र नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने र २५ वर्षभित्र मुलुकलाई विकासको उच्चस्तरमा पु¥याउने लक्ष्य तय गरेको छ ।
यी विकासका लक्ष्यहरू हासिल गर्ने आधारको रुपमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवासायिकीकरण, ठूला पूर्वाधारहरूको तीव्र विकास र विस्तार, उत्पादनशील उद्योगहरूको विकास, पर्यटन तथा अन्य सेवामूलक क्षेत्रको विकास र विस्तार, दक्ष जनशक्ति उत्पादन, सन्तुलित वित्त व्यवस्थापन र ठूला मात्रामा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका माध्यमबाट दुई अंकको वृद्धिदर हासिल गर्ने कार्ययोजना बनाएको छ ।
नयाँ शक्तिले अबको ५ वर्षमा ८ प्रतिशत, १० वर्षमा ११ र अर्को १० वर्षमा १२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष निर्धारण गरेको छ । त्यसैगरी वैदेशिक रोजगारीमा जान बाध्य पचासौं लाख युवाहरूलाई स्वदेशमै रोजगारी दिने ठोस योजनालाई नयाँ शक्ति पार्टीले मुख्य प्राथमिकता दिएको छ ।
पूर्वाधार विकास, कृषि तथा पशुपालन, औद्योगिक तथा सोवामूलम क्षेत्र र सरकारी क्षेत्रबाट वार्षिक ५ लाखसम्मलाई रोजगारी सृजना गरिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ । नयाँ शक्ति पार्टीले क्षेत्रगत विकासका लागि अत्याधुनिक पूर्वाधारहरुको विकास र विस्तारमा जोड दिएको छ । मुलुकका सातवटै प्रदेशहरुमा एशियाली मापदण्ड र आर्थिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक पहिचान झल्काउन गरी सुन्दर प्रादेशिक राजधानीहरु बनाइने प्रतिबद्धता नयाँ शक्तिले जनाएको छ ।
त्यसैगरी हरेक प्रदेशमा दुई÷दुई प्रादेशिक व्यापारिक तथा सांस्कृतिक शहरहरुको विकास र एक÷एक अन्तर्राष्ट्रिय एयरपोर्टहरु, प्रादेशिक रंगशालाहरु, सुविधाजनक ठूला पार्क र चिडियाखानाहरु निर्माण गरिने योजना पनि नयाँ शक्तिले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
पश्चिम सेती, नल्सिङगाड, बुढीगण्डकी र दुधकोशी जस्ता जलाशययुक्त ठूला विद्युत परियोजनाहरु विशेष प्राथमिकताकासाथ समयमै पूरा गर्ने र मध्यपहाडी लोकमार्ग, ६ लेनको मेची–काली लोकमार्ग तथा ४ लेनको तराई÷मधेसको हुलाकी लोकमार्गको निर्माण सम्पन्न गरी देशलाई आधुनिक सढकसञ्जालले जोड्ने नयाँ शक्तिको योजना छ ।
त्यस्तै नेपाललाई चीन र भारतको बीचमा व्यापारिक मार्गको रुपमा स्थापित गर्दै गतिशील पुल बन्न सहयोग पुग्ने गरी चार वटा उत्तर–दक्षिण जोड्ने लोकमार्गहरू उच्च प्राथमिकताका साथ निर्माण गर्ने योजना नयाँ शक्तिले बनाएको छ ।
द्रूत गतिको पूर्व–पश्चिम रेल सेवा, ल्हासा– काठमाडौं– पोखरा– लुम्बिनी–भरतपुर–काठमाडौं रेल सञ्चालन गरी ‘मास ट्रान्सपोर्ट’ सेवा सञ्चालन, हिमाली भेगमा पूर्वदेखि पश्चिमसम्मको पदयात्रा गर्न सकिने ‘हिमाली पर्यटकीय पदमार्ग, ठूला, मझौला तथा साना सिंचाइ आयोजनाहरु मार्फत सम्पूर्ण खेतीयोग्य जमीनमा ५ वर्षभित्र सिंचाइ सुविधा पु¥याइने लगाएतका विकासको कार्ययोजना नयाँ शक्ति पार्टीले अगाडि सारेको छ ।
देशमा विकास र समृद्धिमुखी राजनीति गर्न स्थापित नयाँ शक्ति पार्टीले निर्वाचनमा विजयी हासिल गरेमा तोकिएकै समयमा चुनावी घोषणा पत्रमा अगाडि सारिएका सबै प्रतिवद्धता पूरा गर्ने घोषणा पनि नयाँ शक्ति पार्टीले गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *