छिमेक : भारतव्दारा नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनप्रति खुसी व्यक्त

नयाँ दिल्ली, भारत, २०७४ बैशाख २२ । नेपालमा आगामी हप्ता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतसँग आज नयाँ दिल्लीमा भएको द्विपक्षीय औपचारिक भेटमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गरेकी हुन् ।

उनले मन्त्री डा.महतसँग एउटा ठूलो लोकतन्त्रका हैसियतले आफ्नो छिमेकी मुलुक नेपालमा स्थानीय तहको निर्वाचनमार्फत हुन गइरहेको महत्वपूर्ण प्रजातान्त्रिक अभ्यासले भारतलाई अत्यन्त खुसी लागेको बताउदै निर्वाचनको पूर्ण सफतालको कामना व्यक्त गरिन् ।

त्यस क्रममा भारतीय विदेशमन्त्री स्वराजले नेपालको उक्त निर्वाचनका लागि भारतले सक्दो सहयोग गर्ने बताईन । त्यस द्विपक्षीय भेटका अवसरमा मन्त्री डा.महतले नेपालको आसन्न निर्वाचनका लागि भारतले पु¥याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

भेटका क्रममा नेपाल भारत सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा हालै सम्पन्न नेपालका राष्ट्रपतिको भारत भ्रमणको बारेमा पनि कुराकानी भएको परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले ईबागलुङलाई जानकारी दिए ।

साथै उक्त भेटका क्रममा द्विपक्षीय सहयोगका आयोजनाहरुका बारेमा समीक्षागर्दै समयमै तिनको सम्पन्नताका लागि उनिहरुको जोड थियो ।
सो भेटमा मन्त्री डा.महतले यसअघि नेपाल र भारतका मन्त्रीस्तरीय बैठकमा भएका सहमतिहरुको कार्यान्वयन गर्न र संयुक्त संयन्त्रको कार्यलाई थप प्रभावकारी रुपमा अघि बढाई आपसी हित प्रवर्धनका क्षेत्रमा कामगर्न सक्नेगरी उपयोग गर्न पनि आग्रह गरेका थिए ।

विदेशमन्त्री स्वराजले पछिल्लो समयमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा भेटघाट भएका र यसबाट आपसी सम्बन्ध सुदृढिकरणमा थप सघाउ पुगेको धारणा राखेकी थिईन ।

डा.महत शुक्रबार बिहान नयाँ दिल्ली पुगेका हुन् । भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैर आवासीय राजदूतहरुको सम्मेलनको उद्घाटनका लागि उनी नयाँ दिल्ली पुगेका हुन ।

जनसम्पर्क तथा प्रेस संयोजक पाठकका अनुसार आजै साँझबाट सुरुहुने उक्त सम्मेलनमा नेपाल हेर्ने नयाँ दिल्लीस्थित संसारका विभिन्न मुलुकका ७० भन्दा बढी देशका राजदूतहरुको सहभागिता रहने छ । नेपालले पहिलो पटक गर्न लागेको यस सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, परराष्ट्र सम्बन्ध, व्यापार तथा लगानी प्रवर्धन, पर्यटनलगायतका विषयमा परराष्ट्र सचिव शङ्करदाश बैरागीसहित यस क्षेत्रका नेपाल र भारतका विज्ञहरुको प्रस्तुती रहने छ ।

मन्त्री डा.महत शनिबार स्वदेश फर्किनुहुने कार्यक्रम छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *