साताको तस्वीर : ओझेलमा रुद्रताल !

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका (साबिक बोवाङ गाविस)को फलिया गाउँदेखी केही माथी जंगलमा रहेको धार्मिक महत्वको रुद्रतालको विभिन्न धर्मग्रन्थ पुराणहरुमा चर्चा गरिएको छ । रुद्रावती नदी (बडीगाड खोला)को मुहान रुद्रतालको गरिमा रुरु क्षेत्रसंग गाँसिएको छ । २ हजार ७ सय ५० मिटर उचाईमा रहेको रुद्रताल करिव ५ सय वर्गमिटरमा फैलिएको छ ।

‘रुद्र’ शब्दको महिमाको गुणगान धार्मिक ग्रन्थहरुमा प्रशस्त पाईन्छ । ‘रुद्र’ शिवकै अर्को नाम हो । शिवले यो रुप कामदेवलाई भष्म गर्न र दक्षको यज्ञ ध्वंस गर्ने समयमा धारण गरेका थिए ।

शास्त्रहरुमा शिवलाई ‘उग्र’ देवता मानिएको छ । शिवलाई उग्ररुपमा ‘रुद्र’ र मंगलकारी रुपमा ‘शिव’ भनी पुकारिन्छ । सारा प्रकृतिलाई शिव स्वरुप मानिएको छ । त्यस स्वरुप मध्यको एक स्वरुप हो रुद्र । रुद्रको शाव्दिक अर्थ हुन्छ ‘रुत्’ अर्थात दु:ख अन्त्य गर्ने । त्यसैले भगवान शिवलाई दु:ख अन्त्य गर्ने देवताको रुपमा पूजा गरिन्छ । शास्त्र अनुसार जब तन, मन र कर्म कुनै न कुनै रुपमा अपवित्र हुन्छ तब जीवनमा मानिसले दु:ख भोग्छ । शिवको रुद्र रुपको आराधनाबाट व्यक्तिको चित्त पवित्र रहन्छ खराब कर्म र विचारबाट टाढा रहन्छ भन्ने शास्त्रको मान्यता रहेको छ ।

शास्त्रहरुमा शिव उच्च हिमाली भागमा रहेका बनजंगल जलकुण्डमा बस्ने गरेको उल्लेख गरेको पाइन्छ । शिव रुद्ररुपमा बोवाङको यस घना जंगलको वीचमा अवस्थित जलकुण्डमा तपस्यारत रहेकाले यस जलकुण्डलाई ‘रुद्रताल’ भनिएको विश्वास गर्न सकिन्छ ।

रुद्रतालबाट प्रवाहित भएकी रुद्रावती नदी र पवित्र कालीगण्डकीको संगमस्थललाई ‘रुद्रवेणी’ नामले पुकारिन्छ । गुल्मी अस्लेवामा रहेको यस प्रशिद्ध र पवित्र धार्मिक स्थल रुद्रवेणीलाई श्रद्धालुहरु अति पवित्र संगलस्थलको रुपमा लिन्छन् । श्रद्धालुहरु रुद्रवेणीमा धार्मिक अनुष्ठान, पूजा अर्चना गरी पुण्यलाभ लिने गर्छन ।

तालमा कुनै झरना वा पानीको मुहान छैन । न त तालबाट पानी कतै बगेर गएको देखिन्छ । ताल हरहमेसा जलमग्न रहिरहन्छ । यहि जल जमीन भित्र भित्रैबाट सिंचित भएर (बगेर) खोलामा मिसिएपछी रुद्रावती नदी बनेको धार्मिक विश्वास रहेको छ । वर्षातको समयमा तालमा पानीको सतह केहि बढ्ने र सुख्खा याममा घट्ने गरेको स्थानीयको भनाई छ ।

ताल आसपासमा रुखहरु काटिनेक्रम जारी छ । ठुला ठुला रुखहरु धोन्द्रो परेको र सुक्न थालेका छन भने नयाँ रुखका विरुवाहरु कहिँ कतै देखिन्नन् ।

बनजंगलको विनाश सँगै सुख्खायाममा तालको पानी घट्ने गरेको र यो क्रम केहि वर्ष यता बढ्दै गएको ताल अवलोकन गर्न र धार्मिक कार्यको निम्ति पुग्ने श्रद्धालुहरुको अनुभव छ ।

बुर्तिवाङ बजार निवासी समाजसेवी शेषकान्त खरेलले केहि वर्ष पहिले जेठ महिनामा पृतिकार्यको लागि रुद्रतालमा जाँदा तालमा प्रशस्तै पानी रहेको भएपनि त्यस्को दुई वर्षपछी सोहि महिनामा जाँदा पानीको सतह एकदमै कम देखेको बताए । उनि मात्रै होईन, अरुहरुले पनि विगतका वर्षहरु भन्दा तालमा पानीको मात्रा घट्दै गएको बताउने गर्छन् । यसको कारण, उनिहरुको बुझाईमा तालको उचित संरक्षणको पहल नहुन र बनजंगलको विनाश नरोकिनु नै हो ।

रुद्रतालमा अन्य ताल वा मन्दिरमा जस्तो वर्षमा पर्व पर्वमा पूजा वा मेला लाग्ने गरेपनि यहाँ त्यस्तो प्रचलन देखिएन ।

बोवाङ ढोरपाटनकी युवती दिलमायाँ अदैले, ढोर बराह मन्दिरमा बैशाख पुर्णिमामा मेला लाग्ने बेला रुद्रतालमा पनि मेला लाग्ने प्रचलन रहेको बताईन् । उनले भनिन, त्यति ठुलो मेला भने लाग्दैन, अघिपछी पनि मानिसहरु रुद्रतालमा पूजागर्न जान्छन् । अदैका अनुसार, भेँडाको साँढको बलि दिने प्रचलन त्यहाँ पनि छ । निश्चित मन्दिर नभएकाले ठुलो रुखका फेंदमा बलि दिने गरिन्छ ।

यति धेरै धार्मिक महत्व र आस्थाको रुपमा रहेको रुद्रावती नदीको मुहान रुद्रतालको संरक्षण र विकासमा स्थानीय वा सरोकारवालाहरुको खासै ध्यान जान सकेको छैन । जंगलको वीच एकान्त स्थलमा रहेको रुद्रतालको धार्मिक महत्वलाई उजागर गर्ने कार्य बिरलै हुने गरेको स्थानीयले बताउछन् । स्थानीय प्रशासन, प्रहरी, विकासी अड्डाका हाकिम, वनाधिकृत, स्थानीय क्लब, सामाजिक संस्थाहरुको नजरमा पर्न नसकेको रुद्र ताल आझेलमा छ, समुचित प्रचार प्रसार नहुनाले यसको सुगन्ध बाहिर आउन सकेको छैन ।

ढोरपाटन शिकार आरक्षमा तैनाथ हनुमान ध्वज गुल्मका मेजर सुमन कुमार पण्डितको सक्रियतामा सकल दर्जाका साथ गत २०७३ सालको कात्तिक १७ गते रुद्रतालको नजिकै रुद्रेश्वर महादेवको मन्दिर निर्माण गरेर शिवलिंग स्थापित गरी प्राण प्रतिष्ठा समेत गरिएको छ । गुल्मकै सक्रियतामा बोवाङको फलिया गाउँ देखी ढोरपाटन देउराली जाने सडकबाट रुद्रताल सम्म मोटर जान सक्ने कच्ची सडक निर्माण गरिएको छ ।

नेपाली सेना (हनुमानध्वज गुल्म)ले धार्मिक महत्वको रुद्रताल सम्म मोटर पुग्ने गरी बाटो निर्माण र रुद्रतालमा रुद्रेश्वर महादेवको मन्दिर निर्माण गरी शिव लिंग स्थापना गरिएको सत्कार्य नै अहिले सम्मकै पहिलो शुभकार्य भएको स्थानीयले बताएका छन् ।

भैँसी आहाल बस्ने पोखरीलाई तालको संज्ञा दिएर संरक्षणको ढोँग रच्नेहरुको नजर रुद्रतालको संरक्षणमा नपर्नु ठुलो कुरो भएन तर स्थानीय प्रशासन एवं स्थानीय निकायको ध्यान रुद्र तालमा नपर्नु आश्चर्यजनक नै मान्नु पर्छ ।

ढोरपाटन जाने बाटो (सडक भनौ) देखी केहि मिटरको दूरीमा रहेको धार्मिक महत्वको रमणीय रुद्रतालको धार्मिक महत्व एवं प्राकृतिक सौन्दर्यको अलिकतीमात्र प्रचार प्रसार भैदिएपनि ढोर बराहको दर्शन र ढोरपाटनको अनुपम सौन्दर्य निहार्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई थप अर्को प्राकृत रमणीय गन्तव्य हुनसक्थ्यो ।

*राम सुवेदी, दिपक पराजुली र सुवास पन्तको सहयोगमा इबागलुङ डेस्क ।
२०७४ बैशाख २० ।
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *