बृहत् गल्कोटको सम्वृद्धिका लागि सकारात्मक सोँच आवश्यक

गुमानसिँह भण्डारी,

इतिहासका कैयन् कालखण्डमा गलकोट क्षेत्रले स्वतन्त्रता र समृद्धिका पक्षमा ठूलो योगदान दिएको छ । यो भुगोल र यहाँका बासिन्दा जस्तोसुकै समस्यालाई समेत सामूहिक संघर्षबाट पार गरेर समृद्धितर्फ जान सक्छन् । जुन यसअधिको अखण्ड बागलुङको आन्दोलनले प्रष्ट बनाएको छ । त्यसैले भूगोलका आधारमा आर्थिक सम्भावना पहिल्याउने र सोही अनुरुप सामाजिक सेवाको विकास गर्नुपर्ने यहाँका उमेदवारहरुको रोडम्याप हुनुपर्छ ।

जनताले पाउने सेवा सुविधालाई तिव्र गतिमा प्रवाह गनुपर्छ । शैक्षिक संस्थाहरुको क्षमता वृद्धि गरी शिक्षाको गुणस्तरलाई विकास गनुपर्नेछ । स्वस्थ्य जीवन यापन गर्न पाउनु सबै नगरवासीको अधिकार भएको हुँदा अस्पताल र स्वास्थ्य केन्द्रको क्षमता वृद्धि गराउनुपर्छ । निशुल्क रुपमा स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्छ । प्राविधिक शिक्षामा जोड दिनुपर्छ । ऐतिहासिक स्थलको पहिचान गरि धार्मिक, प्राकृतिक, ऐतिहासिक लगायतका स्थानहरुको उचित सम्बर्धन, संरक्षण र प्रचार प्रसार गरी पर्यटकहरु भित्राउने अभियान चलाउनुपर्छ । जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र बालबालिकाको लागि उचित वसोवास प्रवन्ध गराउनुपर्छ ।

गलकोटको मुहार फेर्न सक्ने क्षमता, योग्यता, बिचार भएका युवाहरुलाई गलकोटमै बस्ने वातावरण सिर्जन गर्नका निमित्त बिशेष योजना बनाउनु जरुरी छ । त्यस्तै प्रत्येक दिन धेरै पैसा कमाई आफनो जीवन सुन्दर बनाउन बिदेशिएका गलकोटेहरुले आफनै क्षेत्रमा केहि गर्ने सोच बनाउनुपर्छ नत्र तपाईहरुले बिदेशमा बसेर यहाँका नेताहरुलाई गाली, दिने सुझावले केहि परिवर्तन हुदैन । यदि साचिकै गलकोटको मुहार फेर्ने हो भने त्याग, तपस्या हुनुपर्छ, ब्यत्तिगत स्वार्थबाट माथी उठेर हेरौ । तपाई, हामीले लेख्ने सामाजिक सञ्जाल यहाँका कुटो, कोदालो, हलो, बोक्ने, बिद्युतको पहुच नपुगेको, भीरपाखामा बस्ने मानिसहरुलाई कुनै प्रभाव पार्दैन ।

हामी सबै प्रश्न गर्न माहिर छौ, एकले अर्कालाई आलोचना गर्न कहिले पछि पर्दैनौ । जसको उदाहरण गलकोट नगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गराएका उमेदवारहरुको बारेमा लेखिएका बिचारहरुबाट प्रष्ट हुन्छ ।

हौसला नै सकरात्मक परिवर्तन गर्ने प्रमुख माध्यम हो भनेजस्तै सधै आलोचना भन्दा पनि कहिलेकाहि हौसला पनि दिएर हेरौ त , यदि त्यो गरेर भएन भने मात्र बिकल्पमा जाउ । कहिलेकाहि तपाई हामीले लेख्ने आलोचनात्मक कुराले उनिहरुलाई झन आफनो स्वार्थ पुरा गर्ने बिचार दिन सक्छ । त्यसैले साच्चिकै गलकोटको माया छ, गलकोटको बिकास हामी सबैले चाहेको हो भने बिदेशमा भएका युवा पुस्ता अब गलकोट फर्कनु जरुरी छ, आफनो परिवारलाई खुसी दिएर हुदैन, रेमिट्यान्सले मात्र गलकोटको बिकासको परिकल्पना गर्न सकिदैन । नत्र आर्थिक अवस्था कमजोर भएका, अध्ययन, सक्षमता भएका युवाहरु तपाईहरु आर्थिक अभावका कारण बिदेशमा गएजस्तै राजनीतिमा जान्छन र पहिलो प्राथमिकता तपाई हाम्रो आफनो परिवारलाई खुसी दिनु हुनेछ । यो समस्या तपाई, हामी सबैको हो, यसमा कसैले कसैलाई आलोचना गर्नु जरुरी देखिदैन । सपनामा सजिलै सगरमाथा चढ्न सकिन्छ तर बास्तबिकतामा गाह्रो छ ।

अन्त्यमा सबै गलकोटेहरुको सोच, बिचार, त्याग, तपश्या गलकोटको बिकासमा लगाऔ । तब हामी गलकोटेहरुले सुन्दर सम्बृद्ध गलकोटको परिकल्पना गर्न सक्छौ । अस्तु,

गुमानसिँह भण्डारी,
गल्कोट
२०७४ बैशाख २० ।
* लेखक पत्रकार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *