बेनी नगरपालिकामा चुनावी तालमेल : अपहरित काँग्रेसी नेता सकुशल रिहा !

म्याग्दी २०७४ बैशाख २० । म्याग्दी जिल्लाको एकमात्र बेनी नगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेल गरेर मेयरमा काँग्रेसका जिल्ला सचिव हरिकुमार श्रेष्ठ र माओवादी केन्द्रबाट नगर कमिटिकी सहसचिव ज्योती लामिछानेले उपमेयरमा उमेद्वारी दर्ता गराएका छन् भने एमाले र राप्रपा मिलेर मेयरमा एमालेका प्रमोद श्रेष्ठ र उपमेयरमा राप्रपाकी सन्जू बरुवालले मनोनयन दाखिल गरेका छन् ।

यस्तै राष्ट्रिय जनमोर्चाबाट फौदबहादुर कार्की र भूमाकुमारी कार्कीले क्रमश मेयर र उपमेयरमा उमेदवारी दिएका छन् ।

यसैगरी भकिम्लीका पृथीप्रसाद पुनले मेयर र पूर्णबहादुर पुनले उपमेयरमा स्वतन्त्र उमेद्वारी दिएका छन् ।

यसैवीच बेनी नगरपालिका भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार सकुशल रिहा भएका छन्।

भकिम्लीबाट बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापति समेत रहेका जसबहादुर पुनलाई अज्ञात व्यक्तिले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए । उनी चढेर आएको गाडी बिग्रिएपछि हिँडेर बेनी आउँदै गर्दा पुन अपहरणमा परेका थिए ।

चारवटै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खोजी सुरु गरेपछि अपहरणकारीले बरञ्जामा पुनलाई छोडेर भागे पछि राति १० बजे सकुशल बेनी ल्याइएको प्रशासनले जानकारी दिएको छ ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव प्रभावित गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नबाट वञ्चित गराउने नियतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको जनाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *