स्थानीय तहको निर्वाचनलाई लिएर बागलुङ जिल्लामा बाम तालमेलको संभावना कति ?

विजय रानामगर, बागलुङ २०७४ बैशाख १५ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील बाम शक्तिहरुले चुनावी एकताको छलफललाई तिब्रता दिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेलको छलफललाई तिब्र पारेको श्रोतले बतायो ।

फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालहरुमा ‘जिल्लामा बाम चुनावी तालमेलको सम्भावना ट¥यो’ भन्ने खालका समाचारहरु आइरहेको समयमा जिल्लाका बाम नेताहरुले तालमेलको लागि निरन्तर छलफल भइरहेको स्पष्ट पारेका हुन् । तर छलफलहरु सकरात्मक भए पनि आज सम्म निष्कर्ष भने निस्कन सकेको छैन । स्थानीय तहमा बाम तालमेलको लागि समिति बनाएर अगाडी बढाउने सहमति भइ सक्दा पनि जिल्लामा भने नगरपालिका र गाउँ पालिकामा भागवण्डा नमिल्दा चुनावी तालमेलको छलफल उपलब्धीमुलक नभएको बामबृत्तमा चर्चा भैरहेको छ ।

जिल्लाका नारायणस्थान, रायडाँडा लगायतका विभिन्न वडाहरुमा भने बाम तालमेलको लागि सहमति नै भइसकेको छ । चुनावी तालमेलको लागि स्थानीय नेता तथा कार्यकर्ताहरुबाट चर्को दवाव आइरहेको समेत बाम नेताहरुले बताएका छन् ।

अहिले सम्म मुख्य गरि एक नगरपालिका र २ गाउँपालिकाको नेतृत्व कसले ल्याउने भन्नेमा नै बाम तालमेलको हलो अड्केको नेताहरुले बताएका छन् ।
बाम तालमेलको हलो ढोरपाटन नगर पालिका, निसी गाउँपालिका र बरेङ गाउँपालिकामा गएर अड्किएको छ ।

बागलुङ नगरपालिका, जैमिनि नगर पालिका र गलकोट नगर पालिकामा करिव करिव सहमतिको नजिक पुगे पनि निसी गाउँपालिका र बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले आ–आफ्नो लागि दावी गर्न छोडेका छैनन् ।

विशेष गरि पछिल्लो समयमा माओवादी केन्द्रले २ नगर पालिका र ३ गाउँ पालिकामा दावी गर्न थालेको एक श्रोतले बताएको छ । सिङ्गो जिल्लामै नगर तथा गाउँ गरि एमालेलाई ३, माओवादी केन्द्रलाई ४ र राष्ट्रिय जनमार्चालाई ३ गर्ने सहमतिको नजिक पुगे पनि माओवादी केन्द्रले आफुलाई नगर र गाउँ गरि ५ हुनु पर्ने दावी गरेपछी त्रीपक्षीय बाम तालमेललाई सशंकित बनाएको बामबृत्तमा चचौ छ । माओवादी केन्द्रको जिल्लाको एउटा खेमा बाम तालमेलकै पक्षमा उभिए पनि अर्को पक्षले नेपाली कांग्रेस सँग नजिकिन खोजेकोले त्रीपक्ष बाम तालमेल हुनेमा शंका बढ्दै गइरहेको विश्लेषण गर्न थालिएको छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बाम चुनावी एकताको लागि अन्तिम समय सम्म पनि प्रयास जारी राख्ने दृढता व्यक्त गरेका छन् ।
अध्यक्ष सापकोटाले एमालेले बाम चुनावी तालमेलको लागि स्थानीय तहमा पनि टोली बनाएर अगाडी बढेको बताउँदै बाम तालमेलको लागि छलफल भइरहेको बताए ।

नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कृष्ण केसीले आफुहरु बाम चुनावी तालमेलकै पक्षमा रहेको बताउँदै सबै बाम शक्तिहरु बिच निरन्तर छलफल भइरहेको बताए ।

केसीले स्थानीय तहमा नेता तथा कार्यकर्ता चुनावी बाम एकताकै पक्षमा रहेको बताउँदै अन्तिम समय सम्म चुनावी बाम एकताकै पक्षमा पहल गर्ने उनको भनाई थियो । केसीले आफ्ना स्थानीय नेता तथा कार्यकर्ताहरुको भावना अनुरुप नै अगाडी बढ्ने बताए ।

त्यसै गरि राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापाले चुनावी बाम एकताको छलफलले छिट्टै नै मूर्तरुप पाउने विश्वास व्यक्त गरेका छन् । त्रीपक्ष छलफल भएकाले केही जटिलता रहेको बताउँदै थापाले अन्ततः बाम शक्तिहरु मिलेर अगाडी बढ्नुको विकल्प नरहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *