चार घण्टाको पैदल दुरीमा मतदान केन्द्र राखिएपछी भित्रीवन र छापका मतदातालाई समस्या

सुमन सुनार, बुर्तिवाङ २०७४ बैशाख १३ । साबिकको अधिकारीचौरगाउँ विकास समिति वडा नं. ३, ४, ५ र ६ लाई समेटेर ढोरपाटन नगरपालिका वडा नं. ६ कायम गरिएको छ । त्यस वडाको मतदान केन्द्र विद्या विकास माध्यमिक विद्यालय गादिखोलामा तय गरिएको छ । तोकिएको मतदान केन्द्र सबै मतदाताको पहुचभन्दा टाढा भएको त्यहाँका राजनैतिक पार्टी प्रतिनिधिहरुले ढोरपाटन नगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयका अधिकृतसँग गुनासो राखेका छन् ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्मबहादुर कुवँरले त्यहाँको समस्याको विषयमा जिल्ला निर्वाचन कार्यालय बागलुङमा दुरी टाढा भएको र सबै जनता मतदान केन्द्र पुग्न नसक्ने भएको भन्दै, निर्वाचनका लागि उपकेन्द्र सहीखोलामा राख्नु पर्ने कुरा सहिमति जिल्लामा भएको बताउदै हाल आएर उक्त उपकेन्द्र हटाइएको विषयमा निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

नगरपालिकाको वडा नं. ६ र त्यको मतदान केन्द्र गादिखोलामा राखिदा त्यहाँ पुग्न साविकको वडा नं. ३ स्थित भित्रिवन र छापडाँडाका स्थानीयलाई करिव ४ घण्टा लाग्ने कुवँरले बताए ।

यति टाढाको दुरीमा बृद्धबृद्धा कसरी मतदान स्थलमा पुगेर निर्वाचनमा सहभागीता जनाउन सक्छन ? भन्ने प्रश्न गर्दै उनले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै सोही विषयमा अधिकारीचौर गाविसका पुर्व अध्यक्ष समेत रहेका नेकपा माओवादी क्रान्तिकारीका शिवध्वज पुनले पनि जनतालाई मतदान केन्द्र नै टाढा राखिदिएर भौगोलिक अवस्था नबुझी काम गर्दा जनता मारमा पर्ने भन्दै तत्काल मतदान केन्द्रको उप केन्द्र सहीखोलामा राख्न समेत आग्रह गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अधिकृत केदारनाथ पौडेलले, मतदान केन्द्र थप घट गर्ने अधिकार आफ्नो कार्यक्षेत्र भित्र नपरेको हुँदा समस्यालाई निर्वाचन आयोग समक्ष राख्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *