विश्लेषण : के गर्दैछन् २०५४ मा निर्वाचित बानपाका जनप्रतिनिधिहरु ?

विरासत थाम्ने दौडमा एमाले , वर्चस्व कायम गर्ने तयारीमा कांग्रेस !

रामबहादुर जीसी
स्थानीय तहको निर्वाचन सम्मुखमै आएको छ । निर्वाचन भन्दासाथ धेरै मानिसलाई यसले प्रभाव पार्ने गर्छ, त्यसमा पनि स्थानीय तहको निर्वाचनले असर नपार्ने कुरै भएन । २०५४ सालपछि नेपालमा स्थानीय निर्वाचन भएको थिएन । लोकतन्त्रलाई जनताका बीचमा पु¥याउने र राजनीतिक कार्यकर्ताहरुलाई नेता बनाउने यो निर्वाचन नभएका कारण २० वर्ष नेतृत्व विकासले गति लिन सकेन । २०५४ सालमा स्थानीय निकायको जनप्रतिनिधि बनेकाहरु यतिबेला त्यही पदमा चित्त बुझाउनु पर्ने अवस्थामा छन् ।

मुलुक संघीयतामा गइसकेको छ । संघीय संरचना अनुसार स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने गरी हुन लागेको निर्वाचनमा उमेदवार बन्न चाहनेहरुको संख्या बढी नै छ ।

यसै सन्दर्भमा साविकको धौलागिरिको एक मात्र नगरपालिका बागलुङ नगरपालिकामा उमेदवारहरुको नाम सिफारिस भएर उमेदवार बन्न चाहनेहरु लविङमा लागि सकेका छन् । पहिलो पटक भएको निर्वाचनमा जित हात पारेको नेकपा एमाले विरासत थाम्ने कसरतमा छ भने पछिल्लो समय बागलुङका तीन वटै निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको नेपाली कांग्रेस एमालेको विरासत तोड्न जोडतोडले लागेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपा लगायतका दलहरु पनि आफ्नो उपस्थिति कसरी बनाउन सकिन्छ भनेर लागि रहेका छन् ।

२०५४ सालमा कालिका, लहरेपीपल र मुल्पानी गाविसलाई मिलाएर बागलुङ नगरपालिका बनेको थियो । सोही वर्ष बागलुङ नगरपालिकाको निर्वाचन भयो । निर्वाचनमा नेकपा एमालेका तर्फबाट ऋषिराम शर्मा नगर प्रमुखमा विजयी हुनु भयो । एमालेसंग चुनावी तालमेल गरेको राष्ट्रिय जनमोर्चाका उमेदवार पद्मचन्द्र राजभण्डारी उपप्रमुखमा निर्वाचित हुनुभयो । ११ वटा वडा रहेको बानपामा एमाले समर्थक उमेदवारहरुले वडा नंं १, ५, ६, ७, ८, ९ र ११ गरी ७ वठा वडामा विजय प्राप्त गरे । नेपाली कांग्रेसले वडा नंं २, ४ र १० मा गरी ३ वटा र राप्रपाले वडा नं. ३ मा विजयी प्राप्त गरेको थियो ।

बागलुङ नगरपालिका बनेपछि जम्मा एक पटक निर्वाचन भएको छ र त्यसमा एमालेले वर्चस्व जमाएको थियो । १९ वर्षपछि यसपटक स्थानीय तहको निर्वाचन हुदैछ । बानपाका ११ वटा वडा सहित ९ वटा गाविस मिलाएर १४ वटा वडा बनाइएको छ ।

२०५४ सालको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित ऋषिराम शर्माको २ वर्ष पहिला निधन भएको छ । उहाँकी धर्मपत्नी गीता शर्मालाई नेकपा एमालेले यस पटक उपप्रमुखको उमेदवारका रुपमा अगाडि बढाएको छ ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित उपप्रमुख पद्मचन्द्र राजभण्डारी अहिले पनि समाजसेवामा क्रियाशिल हुनुहुन्छ । यसपटक उहाँ उमेदवारको दौडमा रहनु भएको छैन ।

वडा नं. १ मा एमालेका तर्फबाट वडा अध्यक्षमा विजयी के.बी. राना मगर पनि गैर सरकारी संस्था लगायत समाजसेवामा क्रियाशिल हुनुहुन्छ । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रहनु भएको राना मगर यसपटक उमेदवारको दौडमा देखिनु भएको छैन । वडा नं. २ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित चिरञ्जिवीकुमार भारीको कार्यकाल रहदै निधन भएको थियो । उहाँको निधनपछि डम्बरबहादुर चर्माकारले कार्यवाहक अध्यक्षका रुपमा काम गर्नु भएको थियो ।

वडा नं. ३ मा राप्रपाबाट अध्यक्षमा निर्वाचित सुरेन्द्र खड्का हाल राप्रपाको जिल्ला अध्यक्ष रहनु भएको छ । उहाँ राप्रपाबाट बागलुङ नगरपालिकाको उमेदवारका रुपमा चर्चामा हुनुहुन्छ ।
वडा नं. ४ मा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित जगदिशचन्द्र उपाध्याय हाल नेपाली कांग्रेसको महासमिति सदस्य रहनु भएको छ । नेपाली कांग्रेसको कार्यवाहक सभापति समेत रही सक्नु भएका उपाध्याय भने यस पटक उमेदवारको दौडमा देखिनु भएको छैन ।
वडा नं. ५ मा नेकपा एमालेका तर्फबाट अध्यक्षमा निर्वाचित गणेशबहादुर खत्रीको कार्यकाल रहदै निधन भएको थियो । उहाँको निधनपछि रामबहादुर हमाल कार्यवाहक अध्यक्ष बन्नु भएको थियो । हमाल नेकपा एमालेको तर्फबाट हालको बानपा ३ मा उमेदवारको दौडमा रहनु भएको छ ।
यस्तै वडा नं. ६ मा एमालेका तर्फबाट वडा अध्यक्षमा निर्वाचित खगराज पाण्डे हाल नेकपा एमाले बागलुङ नगरकमिटिको अध्यक्ष रहनु
वडा नं. ७ मा एमालेका तर्फबाट निर्वाचित शिवबहादुर गैरेको निधन भइसकेको छ । वडा न.ं ८ मा एमालेका तर्फबाट खेमराज सापकोटा निर्वाचित हुनु भएको थियो । सापकोटा हाल नेकपा एमालेको क्षेत्रीय सचिव पदमा कार्यरत हुनुहुन्छ । उहाँ हालको बानपा ६ बाट वडा अध्यक्षको उमेदवारको दौडमा रहनु भएको छ । त्यस्तै बानपा ९ मा नेकपा एमालेका तर्फबाट विजयी तिलबहादुर थापा हाल राजनीतिक क्रियाशिलतामा देखिनु भएको छ ।
बानपा १० मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उमानाथ आचार्य हाल क्षेत्रीय प्रतिनिधि रहनु भएको छ । उहाँ हालको बानपा ४ मा अध्यक्षको उमेदवारको दौडमा रहनु भएको छ । त्यस्तै बानपा ११ मा एमालेका तर्फबाट अध्यक्ष बन्नुभएका धु्रवबहादुर केसी राजनीतिक र सामाजिक क्रियाकलापमा सक्रिय हुनुुहुन्छ । नेकपा एमाले प्रदेश नंं. ४ को अर्थ योजना विभागको सदस्य रहनु भएका के.सी साविक बानपा १० र ११ मिलेर बनेको हालको बानपा ४ मा अध्यक्षको उमेदवारको दौडमा रहनु भएको छ ।

स्थानीय तह पुनसंरचना अन्तरगत बागलुङ नगरपालिकामा मालिका, पाला गाविसको वडा नं. ६ देखि ९ सम्म, सिगाना, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसलाई समावेश गरिएको छ । ति गाविसमा निर्वाचन जनप्रतिनिधिहरु मध्ये पनि केही राजनीतिको केन्द्रमा रहनु भएको छ ।

साविकको मालिका गाविस हालको बानपा ५ मा २०५४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट इन्द्रलाल सापकोटा अध्यक्षमा विजयी हुनु भएको थियो । सापकोटा हाल नेकपा एमालेको जिल्ला अध्यक्ष रहनु भएको छ । उहाँ यतिबेला उमेदावरको दौडमा रहनु भएको छैन ।
साविकको पाला गाविसका वडा नं. ६ देखि ९ सम्मका वडा बानपामा गाभिएका छन् । हालको बानपा ७, साविकको पाला गाविसमा एमालेका तर्फबाट बाणिराज कार्की अध्यक्षमा विजयी हुनु भएको थियो । हाल उहाँ एमालेमा क्रियाशिल हुनुहुन्छ । उहाँ बानपा ७ को वडा अध्यक्षको उमेदवारको दौडमा रहनु भएको छ ।
साविकको सिगाना गाविस हालको बानपा ८ बनेको छ । त्यहाँ नेकपा एमालेका तर्फबाट तोपबहादुर खड्का अध्यक्ष बन्नु भएको थियो । उहाँ पछि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । उहाँ पनि उमेदवारको दौडमा देखिनु भएको छैन ।
साविकको तित्याङ गाविस पनि हाल बानपामा गाभिएको छ । हालको बानपा ९ तित्याङमा २०५४ को निर्वाचनमा प्रेमबहादुर केसी अध्यक्ष निर्वाचित हुनु भएको थियो । उहाँ हाल नेकपा एमाले ४ नं. प्रदेश शिक्षा तथा मानव स्रोत विभागका सदस्य रहनु भएको छ । यसपटक उहाँको उमेदवारीको चर्चा छैन ।
साविक भकुण्डे गाविस हालको बानपा १० को अध्यक्षमा नेकपा एमालेका तर्फबाट नरबहादुर थापा विजयी हुनु भएको थियो । हाल उहाँ नेकपा एमालेका तर्फबाट समानुपातिक तर्फको सांसद हुनुहुन्छ । त्यस्तै साविक रायडाडाँ गाविस हाल बानपा ११ मा नेपाली कांग्रेसका तर्फबाट दिपेन्द्र थापा अध्यक्ष निर्वाचित हुनु भएको थियो । उहाँ हाल नेपाली कांग्रेसको जिल्ला सभापति रहनु भएको छ । कांग्रेसको नगर समितिले उहाँलाई उमेदवारका रुपमा सिफारिस गरेको छैन । तर नेपाली कांग्रेसले थापालाई प्रमुखमा उठाउन सक्ने कांग्रेस स्रोतले बतायो । कांग्रेसमा सिफारिस नभए पनि उमेदवार बन्न सक्छन्, स्रोतले भन्यो ।
यस्तै साविक अमलाचौर गाविस हालको बानपा १२ मा नेकपा एमालेका तर्फबाट खेमप्रकाश पाठक अध्यक्ष निर्वाचित हुनु भएको थियो । हाल उहाँ उमेदवारको दौडमा रहनु भएको छैन । साविक पैयुपाटा गाविस हालको बानपा १३ मा नेकपा एमालेको सहयोगमा राष्ट्रिय जनमोर्चाको तर्फबाट टिकाबहादुर रोका अध्यक्षमा निर्वाचित हुनु भएको थियो । हाल उहाँ राजनीतिमा सक्रिय हुनुहुन्न । साविक नारायणस्थान गाविस हालको बानपा १४ मा नेपाली कांग्रेसका तर्फबाट कृष्णबहादुर खत्री अध्यक्षमा निर्वाचित हुनु भएको थियो । यसपटक उहाँको उमेदवारीमा चर्चा छैन ।
बागलुङ नगरपालिकाको अध्यक्षमा नेकपा एमालेले २०५४ सालको स्थानीय निकायको निर्वाचनमा इलाका नंं २ बाट जिल्ला विकास समितिको सदस्यमा निर्वाचित हुनु भएका जनक पौडेल, महिला नेतृ ममतादेवी शर्मा र समाजसेवी सुवास राजभण्डारीलाई उमेदवारका रुपमा सिफारिस गरेको छ । तीन मध्ये एक जनालाई प्रदेश संगठन कमिटिले नगर प्रमुखका उमेदवारका रुपमा अगाडि बढाउनेछ । उपप्रमुखमा गीता शर्माको मात्र नाम सिफारिस भएको छ । अन्य दलहरुसंग तालमेल भएन भने शर्माको उमेदवारी निश्चित नै छ ।
नेपाली कांग्रेस नगर समितिले बसन्तकुमार श्रेष्ठ, चिरञ्जिवी गौतम, नारायण शर्मा पौडेल, महेन्द्र आचार्य, सकुन्तला शर्मा महेन्द्र खड्काको नाम सिफारिस गरेको छ । यस्तै उपप्रमुखमा कल्पना हमाल पाठक, प्रमिला राजभण्डारी लगायतको नाम सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाले पनि उमेदवार सिफारिस गरिसकेका छन् । बागलुङ नगरपालिकामा नेपाली कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।

बक्समा
२०५४ सालको स्थानीय निर्वाचनमा बागलुङ नगरपालिकामा प्रमुख उपप्रमुख तथा वडा अध्यक्षमा निर्वाचितहरु साथै हालको बानपामा गाभिएका गाविसका तत्कालिन अध्यक्षहरु
बागलुङ नगरपालिका
प्रमुख : ऋषिराम शर्मा (नेकपा एमाले)
उपप्रमुख : पद्मचन्द्र राजभण्डारी (राजमो)
वडा अध्यक्ष : वडा नं. १ : के.बी.राना मगर (नेकपा एमाले)
वडा अध्यक्ष : वडा नं. २ : चिरञ्जिवीनारायण भारी (नेपाली कांग्रेस)
वडा अध्यक्ष : वडा नं. ३ : सुरेन्द्र खड्का (राप्रपा)
वडा अध्यक्ष : वडा नं. ४ : जगदिशचन्द्र उपाध्याय (नेपाली कांग्रेस)

वडा अध्यक्ष: वडा नं. ५ गणेशबहादुर खत्री (नेकपा एमाले)
वडा अध्यक्ष: वडा नं. ६ खगराज पाण्डे (नेकपा एमाले)
वडा अध्यक्ष: वडा नं. ७ शिवबहादुर गैरे (नेकपा एमाले)
वडा अध्यक्ष: वडा नं. ८ खेमराज सापकोटा (नेकपा एमाले)
वडा अध्यक्ष : वडा नं. ९ तिलबहादुर थापा (नेकपा एमाले)
वडा अध्यक्ष: वडा नं. १० उमानाथ आचार्य (नेपाली कांग्रेस)
वडा अध्यक्ष: वडा नं. ११ ध्रुवबहादुर के.सी. (नेकपा एमाले)
मालिका गाविस: इन्द्रलाल सापकोटा (नेकपा एमाले)
पाला गाविस: वाणिराज कार्की (नेकपा एमाले)
सिगाना गाविस: तोपबहादुर खड्का (नेकपा एमाले)
तित्याङ गाविस: प्रेमबहादुर केसी (नेकपा एमाले)
भकुण्डे गाविस: नरबहादुर थापा (नेकपा एमाले)
रायडाडा गाविस: दिपेन्द्र थापा (नेपाली कांग्रेस)
अमलाचौर गाविस: खेमप्रकाश पाठक (नेकपा एमाले)
पैयुपाटा गाविस: टिकाबहादुर रोका (राजमो)
नारायणस्थान गाविस: कृष्णबहादुर खत्री (नेपाली कांग्रेस)
लेखक पत्रकार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *