वालवालिका बिद्यालय जान-आउन मात्रै पाँच घण्टा हिँड्नु परेपछी …

क्षितिज सुनार, बुर्तिवाङ २०७४ बैशाख १२ । गाउँ गाउँ, टोल टोल घर घर मोटर पुराउने होडबाजी चलिरहेको अवस्थामा बुर्तिवाङ बजार नजिकै रहेको ढोरपाटन नगरपालिका वडा नं. ४ खुँगा रिखुवा भन्ने स्थानका वालवालिका दैनिक दुई घण्टाको बाटो हिडेर विद्यालय पुग्ने गरेका छन् । फर्कदा ३ घण्टा समय लाग्ने गर्छ । गाउँ नजिकै विद्यालय नभएका कारण सबैभन्दा नजिकको विद्यालय रहेको खुँगा लुकुरवनको हिमालय आधारभुत विद्यालयमा उनीहरु पठनपाठनका लागि दुई घण्टा हिँडेर जाने गरेका हुन् ।

विहान ८ वजे विद्यालय जान तयार हुनु पर्ने र साँझ ४ वजेपछि फर्कदा ३ घण्टा समय लाग्ने भएपछि रिखुवाबाट पढन जाने वालवालिकालाई शारीरिक, मानसिक एवं बौद्धिक हिसावले तनाव झेल्नु परेको छ । शिक्षकहरुले दिएको गृहकार्य गर्न र पठन पाठनमा समेत समस्या परेको विद्यार्थीहरु बताउछन् ।
अधिकांश समय विद्यालय जान र आउन लाग्ने र शारीरिक थकानले गर्दा पढाईमा असर परेकाले वार्षिक परीक्षको राम्रो नतिजाका लागि समेत ठूलै चुनौति भएको हालै कक्षा ८ उत्तिर्ण गरेका विद्यार्थी, हिराबहादुर हर्मेल भन्छन् ।

हिउँदको समयमा साँझ पख घर फर्कन रातनै पर्ने र वर्षातको समयमा विद्यालयसम्म पुग्न समस्या पर्ने गरेको विद्यार्थी हर्मेलको गुनासो थियो ।

कक्षा १ देखि कक्षा ८ सम्मको अध्ययनका लागि विद्यार्थीे विद्यालयमा जाने गरेका छन् । विषेश गरि उमेर पुगेर ७—८ वर्षका वालवालिका नै त्यहाँबाट विद्यालय पुग्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल अर्गेजा बताउछन् ।

उमेर पुगेका बालबालिका विद्यालय पुग्ने र उनीहरु टाढाको दुरीबाट विद्यालय जाने भएकाले वर्षातको समयमा विद्यालय नै नजाने र गएपनि विभिन्न कारण बीचैमा विद्यालय छाड्ने गरेको अध्यक्ष अर्गेजाले बताए ।

अहिले नयाँ शैक्षिक शत्रको बिद्यार्थी भर्ना अभियान सञ्चालन भएको छ । तर खुँगा रिखुवाको जस्तो समस्याग्रस्त भुगोल र गरिव समुदायको वस्तीका बालबालिकाको यो समस्याको समाधान गर्ने तिर सरोकारवालाको ध्यान जान नसक्नु चिन्ताको विषय भएको स्थानीयको गुनासो छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *