दोस्रो सिजनमा ढोरपाटन शिकार आरक्षमा ३ झारल, ९ नाउरसहित १४ बन्यजन्तुको शिकार !

एउटा झारलको शिकार गर्न १३ लाख ५ हजार रुपयाँ सरकारलाई राजश्व !

राम सुवेदी, बुर्तिवाङ २०७४ बैशाख ११ । नेपालकै एकमात्र ढोरपाटन शिकार आरक्षमा यस आर्थिक वर्षको दोस्रा शिकार सिजनमा अमेरिका, स्पेन, बेल्जियम, ताजकिस्तान, फ्रान्स र स्वीडेन गरि ६ वटा देशका १९ नागरिकले ९ वटा नाउर, ३ वटा झारल र २ वटा रतुवा मृगको शिकार गरेका छन् ।

दोश्रो शिकार सिजनमा शिकारी कम्पनिहरुले एउटा झारलको शिकार गरे बापत सरकारलाई १३ लाख ५ हजार रुपैयाँका हिसावले तीन झारलको राजश्व बुझाएका छन् । यो रकम हाल सम्मकै उच्च हो । यस अघिका दुई वर्ष अघि झारलको शिकारका लागि एउटा कम्पनीले ९ लाख रुपैयाँ तिरेको थियो ।

ढोरपाटन शिकार आरक्ष कार्यलयका अनुसार, यस वर्षको दास्रो सिजनका लागि विदेशी शिकारीलाई झारल शिकार गराउन फागुन मिहनाको अन्तिम साता खोलिएको टेण्डरमा, कम्पनीहरु हिमालयन सफारी प्रालि र ट्रेक्स एण्ड ट्रेल्सले एउटा झारलको १३ लाख ५ हजार रुपैयाँ तिर्ने सहमति अनुसार शिकार गरेका हुन् । उनीहरुले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागले बढी रकम तिर्न तयार भएका ती दुई कम्पनीलाई चैत्र महिनाको पहिलो सातामै लागि झारल शिकारको अनुमति लिई शिकार गरेर फर्केको शिकार आरक्ष कार्यालय प्रमुख अणनाथ वरालले बताए ।

‘हिमालयन सफारीले ढोरपाटन शिकार आरक्षको फागुने ब्लकमा एउटा र ट्रेक्स एण्ड ट्रेल्सले गुस्तुङ ब्लकमा दुईवटा झारलको शिकार गरेको कार्यालयले जनाएको छ ।

ट्रयाक्स एण्ड ट्रेल्सका कम्पनीले एउटा झारल र एउटा नाउरको शिकार गराएको छ र उसले दुईजना अमेरिकी शिकारीलाई चैत महिनाको दोस्रो हप्ता शिकार गराएको कम्पनी संचालक दीपक शंसेर राणाले बताए ।

आरक्षका सहायक वार्डेन पशुपति सुवेदीका अनुसार यस अघि असोज देखि मंसिर सम्मको पहिलो सिजनमा ९ वटा नाउर र ३ वटा झारल गरि १२ वटा बन्य जन्तुको शिकार कोटा तोकिएको थियो ।

अघिल्लो सिजन (असोज–मंसीर) मा शिकार अनुमति, शिकार अनुमतिबाट ३३ लाख ६८ हजार ९ सय रुपैयाँ राजश्व जम्मा भएको थियो भन यो सिजनमा शिकार अनुमतिबाट १ करोड १३ लाख ८५ हजार २ सय ५० रुपैयाँ राजश्व जम्मा भएको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ ।

यस सिजनमा हिमालयनले एक झारलसहित एक नाउर, ट्रयाक्स एण्ड ट्रेल्सले दुई झारल सहित दुई नाउर, नेपाल वाईल्डलाईफ सफारी प्रालिले तीन नाउर र ग्लोबल सफारिज नेपाल प्रालिले चार नाउरको शिकार गराउने अनुमति पाएको थियो ।

ढोरपाटन शिकार आरक्षमा शिकारका लागि बन्यजन्तु विभागले हरेक वर्षमा दुई पटक (असोज–मंसीर पहिलो सिजन र फागुन–वैशाख) मा दोस्रो सिजन गरि बन्यजन्तु शिकारका टेण्डर खोल्ने गरेको छ । शिकार एजेन्सी कम्पनीहरुले टेण्डरमा प्रतिस्पर्धा गर्छन् । विदेशी शिकारीले एउटा वन्यजन्तुको सिकारमा २५ देखि ३० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको शिकार एजेन्सीे कम्पनी सञ्चालकहरुले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *