प्रतिदिन ५ लिटर पानीले धानिएको काकाकुल दैनिकी: २५ वर्ष पुरानो आयोजनाको भरमा खुँगावासी !

क्षितिज सुनार , बुर्तिवाङ २०७४ बैशाख ८ । ढोरपाटन नगरपालिका वडा नं. ४ अर्थात साविकको खुँगा गाउँ विकास समिति वडा नं. १, २, ३ र ५, ७ स्थित सोरवाङ, खुँगा छोरेगाउँका स्थानीय करिव ३ सय ५० बढी उपभोक्ता यतिवेला खानेपानी समस्याको मारमा परेका छन् ।

करिव २५ वर्ष अघि खुँगाको नेपाने खानेपानी मुहानबाट खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाटै योजना परेको खानेपानी मर्मत सम्हार समितिका सचिव खीम प्रसाद हर्मेलले इबागलुङलाई बताए ।

२५ वर्ष अघि ४५ लिटर प्रति दिन, प्रत्येक घरधुरी परिवारले उपभोग गर्ने लक्ष्य सहित निर्माण गरिएको उक्त आयोजनाका उपभोक्ताले अहिले ५ लिटर प्रतिदिन प्रत्येक घरधुरीलाई पुग्ने गरेको सचिव हर्मेलको भनाई छ ।

दैनिक एक घण्टा मुस्कीलले पानी धारोमा आउने गरेको छ । हरेक वर्ष माघ महिनाबाट मुलमा पानी सुक्दै जाने र असार साउन लागेपछिको वर्षातसँगै पानी बढने भएकाले हिउँद लागेसँगै समस्या हुने गरेको स्थानीय उपभोक्ता जीवन रसाईलीले बताए ।

खानेपानी मुहानमा पुग्न करिव ३ घण्टा समय लाग्ने उपभोक्ताको भनाई छ । सामान्य समस्या आएपनि तत्काल मुहानमा पुग्न समेत अफ्ठेरो हुने गरेको उनीहरुले बताए ।

अहिले दैनिक विहानको समयमा ६ वजेदेखि ७ वजेभित्रमात्र धारोमा पानी आउने गरेको छ । अरुवेला सुक्का हुने भएपनि त्यहाँका नागरिकलाई प्रशस्त खानेपानी अभाव त छँदैछ । वस्तुभाउलाई खुवाउन समेत अन्य स्रोतको खोजी गर्नुपर्ने बाध्यता रहेको खानेपानी उपभोक्ताको गुनासो रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *