स्थानीय क्लवको सक्रियतामा भण्डारी र माटेगाउँको फोहोर व्यवस्थापन !

हुमकुमारी अदै, बुर्तिबाङ २०७४ बैशाख ८ । ढोरपाटन नगरपालिका वडा नं. ६ को भण्डारीगाउँ र माटेगाउँमा क्रियाशील रातो पहरा युवाक्लवको सक्रियतामा त्यहाँको वस्तिमा फोहोर व्यवस्थापन गरिएको छ ।

स्थानीयलाई आफ्नो घर आँगनमा फोहोर गर्न हुँदैन, चर्फी सधै सफा राख्नु पर्छ, पानीको धारा तथा बाटोमा जथाभावी फोहोर फाल्नु हुँदैन भनी सचेत गराएपछि गाउँका मान्छेले वस्तीनै सरसफाई गर्न थालेको क्लवका अध्यक्ष हितन अदैले बताए ।

सुरु सुरुमा फोहोर व्यवस्थापन लगायतका विषयमा गाउँमा कुरा बुझाउन गाह्रो भएपनि हाल आएर आफै वस्तिका वासिन्दा सक्रिय भएर फोहोर व्यवस्थापनमा लागेको अध्यक्ष अदैको भनाई छ ।

फोहोर व्यवस्थापन भए नभएको क्लवले निरीक्षण पनि गर्ने गरेको छ । क्लवका पदाधिकारीहरुको निगरानीमा वस्तिको फोहोर व्यवस्थापन भए नभएको हेर्ने, सरसफाईमा राम्रो गर्नेलाई पुरस्कृत र फोहोर गर्नेलाई जरिवाना समेतको व्यवस्था गरेको स्थानीय गोकुल अदैले बताए । क्लवले ग्रामीण वस्तिमा पनि फोहोर व्यवस्थापन जस्तो महत्वपूर्ण कार्यमा सहजीकरण गर्नुका साथै जनजीवन सँग जोडिएको स्वास्थ्य जस्तो विषयमा चासो राख्नु धेरै राम्रो प्रशंसनीय काम भएको अदैले बताएका छन् ।

२०६८ सालमा स्थापना भएको क्लवले गाउँमा हुने विवाह व्रतन्धमा आवश्यक पर्ने भोज भतेरका लागि सामाजिक भाँडा वर्तन जम्मा गरिदिएको, स्थानीयहरु सँग समन्वय गरेर वन संरक्षणमा समेत काम गर्दै आएको स्थानीय हिम शिखर भण्डारीले जानकारी दिए ।
यत्तिमात्र नभई क्लवले गाउँमा हुने साना तिना झै झगडाका मुद्दाहरु समेत आफै मिलाएर सहजीकरण समेत गरेको क्लवका सचिव प्रताप भण्डारीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *