यी हुन्, पश्चिम बागलुङको एक नपा र तीन गाउपालिकामा नेकाबाट उठ्न चाहनेहरु…

कृष्ण कँडेल, बागलुङ २०७४ बैशाख ६ । नेपाली काँग्रेसले स्थानिय तहको निर्वाचनमा पश्चिम बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा रहेको एक नगरपालिका र तीन गाउपालिकाहरुमा टिकट लिन चाहने गाउँपालिका र नगरपालिकाको मेयर,उपमेयर तथा प्रमुख तथा उपप्रमुखका आकांक्षीको नाम क्षेत्रीय समितिमा पुगेको छ ।

एक नगरपालिका र तिन गाउँपालिकामा मेयर उपमेयर तथा प्रमुख तथा उप्रमुखको उम्मेद्वार बन्न चाहनेले पार्टीले तोकेको निश्चित शुल्क सहित गाउँ तथा नगर समन्वय समितिमा नाम दर्ता गरेपछि त्यहाँ सर्बसम्मत नभएका नाम क्षेत्रीय समितिमा पठाईएको हो ।

ढोरपाटन नगरपालिका

पश्चिम बागलुङका स्थानिय निकाय मध्ये सवैको बढी चासो र चर्चामा रहेको ढोरपाटन नगरपालिकाको मेयरमा पांच जनाले नाम दर्ता गरेका छन् ।

महासमिति सदस्यहरु धीरप्रताप सिंह, अर्जुन शेरचन, पुर्व जिल्ला सदस्य मेषलाल शर्मा, सागर छन्त्याल र दिपक अदैको नाम क्षेत्रिय समितिमा सिफारिस गरेको ढोरपाटन नगरसमन्वय समितिका संयोजक सालिकराम शर्माले जानकारी दिए ।

बडीगाड गाउँपालिका

बडीगाड गाउँपालिकाबाट प्रमुख पदका लागि जिल्ला सदस्य गण्डकी थापा अधिकारी र महाधिवेशन प्रतिनिधि कृष्ण केसीको नाम सिफारिस भएको छ ।
उपाध्यक्षमा सीता श्रीस, अमरबहादुर श्रीस, सरस्वती रिजाल आचार्य र धनबहादुर थापाको नाम क्षेत्रीय समितिमा पठाएको गाउँपालिका संयोजक अर्जुन खरेलले जानकारी दिए ।

निसीखोला गाउँपालिका

निसीखोला गाउँपालकाबाट अध्यक्ष पदका लागि महाधिवेशन प्रतिनिधि तुलासिंह घर्ती, जिल्ला सदस्य तारानाथ पौडेल, गाउँपालिका समन्वय समितिका संयोजक ईन्द्र मल्लको नाम पठाईएको समन्वय समितिले जनाएको छ ।

क्षेत्रीय समितिले भने जिल्ला सदस्य प्रकाश कुँवर र भबेन्द्र कुँवरको नाम पनि प्राप्त भएको जानकारी दिएको छ । उपाध्यक्षमा हुमकुमारी गुरुङको नाम मात्र सिफारिस भएको समन्वय समितिका संयोजक ईन्द्र मल्लले जानकारी दिए ।

तमानखोला गाउँपालिका

तमानखोलाको भने अध्यक्ष र उपाध्यक्ष दुबैको नाम गाउँपालिका समन्वय समितिमै सर्बसम्मत गरि एक÷एक जनाको नाम मात्र सिफारिस भएको छ ।
अध्यक्षमा जोगलाल बुढा र उपाध्यक्षमा मानसरी शेरचनको नाम गाउँपालिका समन्वयसमितिमै सर्बसम्मत गरेर क्षेत्रिय समितिमा पठाईएको समन्वय समितिका संयोजक खगेन्द्रमान पुनले जानकारी दिए ।

क्षेत्रीय सभापती द्रोणकुमार कुँवरले अब तत्काल क्षेत्रीय समितिको बैठक बसी उम्मेद्वारको अन्तिम टुङ्गो लगाउने बताएपनि बैठक कहिले बस्छ भन्ने खुलाएनन् । उम्मेद्वारका आकाङ्क्षिले सांसद ज्ञानकुमारी छन्त्याल काठमाडौमा रहेका कारण उम्मेद्वारी टुग्याउने क्षेत्रीय बैठक हुन नसकेको उनले बताए ।
क्षेत्रीय समिति पदाधिकारी तथा सदस्य, सांसद र क्षेत्रीय सभापतीका निकटतम प्रतिद्वन्द्वी सहितको बैठकले सर्बसम्मत टुङ्ग्याउन नसके पदाधिकारी बैठकले सहमतीमा टुङ्ग्याउने केन्द्रको परिपत्र रहेको नेपाली काँग्रेस बागलुङका सभापती दिपेन्द्रबहादुर थापाले जानकारी दिए ।

सभापती थापाले भोलि बैशाख ७ गते भित्र उम्मेद्वारको नाम जिल्लाले केन्द्रमा पठाउनुपर्ने भएकाले भोलि ७ गते जिल्ला कार्यसमितिको बैठक राखिएको बताए ।

यसैवीच नेपाल विद्यार्थी संघ जिल्ला कार्या समिति बागलुङले निर्वाचन परिचालन तथा विद्यार्थी प्रशिक्षण अभियान अन्तरगतको कार्यक्रम तमान खोलाको केन्द्र बोङ्गादोभानमा मंगलबार गरेको छ ।

कार्यक्रममा नेविसंघमा आबद्ध विद्यार्थीहरुलाई आगामी स्थानिय निर्वाचन, निर्वाचनमा पार्टीलाई जिताउन विद्यार्थीको भुमिका, मतदाता शिक्षा लगायतको विषयमा अधिबक्ता तथा प्राध्यापक नरेन्द्रप्रताप बुढाथोकी र नेपाल शिक्षक संघका तामानखोला गाउँपालिका संयोजक सत्यनारायण मण्डलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जीत शेरचनले संविधान कार्यान्वयन लोकतन्त्रको संस्थागत र मुलुकको समृद्धिका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै त्यसका लागि आफ्नो पार्टीका उम्मेद्वारलाई मतदान गर्न नागरिकलाई आग्रह गर्दै अभियानमा जुट्न निर्देशन दिए ।
सो अबसरमा काँग्रसबाट तामानखोला गाउँपालिकाका उम्मेद्वार जोगलाल बुढाले स्थानिय सुशासन र विकासका लागि आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उपाध्यक्षका उम्मेद्वार मानसरी शेरचन, पार्टीका गाउँपालिका संयोजक खगेन्द्रमान पुन, सहसंयोजक झकबहादुर बुढा, वडा नम्बर–१ का अध्यक्षका उम्मेद्वार धर्मबहादुर घर्ती, सदस्यका उम्मेद्वारहरु उठविर विक र मोहनकुमार घर्तीले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रम नेविसंघ बागलुङका अध्यक्ष खडक थापाको अध्यक्षता र वसन्त घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *