स्थानीय तहको चुनाव शान्तिपूर्ण सम्पन्न गराउन विभिन्न सुरक्षा योजना अपनाईने !

महेन्द्र केसी, पर्वत २०७४ बैशाख २ । स्थानीय तहको चुनाव आउनको लागि अब मात्रै २९ दिन बाँकी छ । चुनावलाई मर्यादित र शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि विभिन्न सुरक्षा योजनाहरु अपनाउन थालिएको छ । चुनावलाई धाँधलिरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि तीन वटै प्रशासनिक निकाय परिचालन हुने भएका छन् । तर घेरामा क्रमश, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले शान्ति र सुरक्षाको लागि खटिने छन् भने देशभर ७५ हजार म्यादी प्रहरी खटिने छन् जसले पहिलो घेरामा प्रहरीलाई सहयोग गर्नेछन् ।

चुनावलाई विथोल्न र समाजमा अशान्ति फैलाउनको लागि विभिन्न राजनीतिक शक्ति तथा गिरोहहरु पनि सक्रिय भैराखेका छन् ।

आसन्न बैशाख ३१ को स्थानीय तह निर्वाचन नजिकिदै जाँदा जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन लागेको छ । निर्वाचनलाई लक्षित गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी जुटेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा सुरक्षा रणनीति तयार पारेको छ । चुनावलाई मध्येनगर गर्दै जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना तयार पारेको र सोही अनुसार जनशक्ति परिचालन गरेको प्रहरी नायव उपरिक्षक शेखर खनाले जानकारी दिए ।

हामीले चुनावलाई लक्षित गरी तीन तहका सुरक्षा योजना तयार पारेका छौ, प्रिइलेक्सन अर्थात चुनाव हुनपूर्व प्रचारप्रसारका क्रममा हुने झडप,विभिन्न हातहतियारको ओसारपोसार नियन्त्रणको लागि साझा पोशाकमा प्रहरी परिचालन गरेका छौ, हाइवेमा सवारी चेकजाँचलाई सशक्त बनाएका छौं । साँझ ९ बजेपछि कुनै पनि होटल तथा रेष्टुरेन्टमा मदिरा सेवन तथा विक्रिवितरण गर्नको लागि रोक लगाएका छौं , उनले भने ।

पैदल,साधा पोशाकमा निगरानी, रात्री गस्तीलाई चुस्त र थप प्रभावकारी बनाउँदै अगाडि बढेको र गाउँगाउँमा गाँजा तथा मदिरा रोकथामको लागि निगरानी बढाईएको छ । त्यस्तै चुनावको क्रममा भयरहित बातबरणमा मतदातालाई मतदान गर्न पाउने अधिकारको सुनुश्चितता गर्नको लागि सरकारको निर्णय अुनसार तीन तहमा प्रहरी, सस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने र कुनै पनि अबरोध तथा मतदान स्थल विथोल्न खोज्ने गतिविधिको हुन नदिनको लागि थप जनशक्तिको माग गरेको प्रनाउ खनालले बताए ।

खनालले चुनाव पछि हुने विजय जुलुससम्मको कार्यक्रमको लागि शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि एकिकृत सुरक्षा योजना तयार भैसकेको र सोही अनुसार काम हुने जानकारी दिए।

उता म्याग्दी जिल्लामा पनि चुनावलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार गरिएको छ । राजनीतिक दल तथा जनता चुनावको लागि जुटेसँगै सुरक्षालाई मध्यनजर गरी सात वटा मोटरसाइकलमा गस्ती सुरु गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले जानकारी दिइन ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको मोटरसाइकलबाट सडक यातायात पुगेका ग्रामिण क्षेत्रहरुमा तत्काल पुग्न सहयोग पुग्ने उनले बताइन सुरक्षाका हिसावले संवेदनशील क्षेत्रहरुमा मोटरसाइकलबाट गस्ती गरिने प्रनाउ खड्काले बताइन् । निर्वाचनका समयमा हुने अवान्छीत गतिविधिहरुलाई तत्काल नियन्त्रण गर्न सहयोग पुगोस भनेर यसपाली प्रधान कार्यालयले थप ४ वटा मोटरसाइकल उपलब्ध गराएको उनले बताइन् ।

निर्वाचनलाई सफल पार्नका लागि सुरक्षा व्यवस्था सुदृढ पार्न कुनै कसर वाँकी नराखिएको प्रनाउ खड्को भनाइ थियो । मोटरसाइकलका साथै हाल उपलब्ध प्रहरीको गाडीबाट पनि जिल्लाभर गस्ती सुरु गरिएको छ । अप्ठ्यारो भूगोलका कारण उपलब्ध साधनले केही स्थानहरुमा पुग्न संभव नहुने भएकाले थप साधनको माग गरिएको उनको भनाई थियो । साथै निर्वाचनका समय नेकपाबाट हुन सक्ने निर्वाचन विरोधी क्रियाकलापका वारेमा पनि प्रहरी सचेत रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *