कालीभक्त-कृष्ण पन्तको शालिक अनावरण: प्रजातान्त्रिक सेनानी पन्तको योगदानको चर्चा !

माधब पराजुली, पर्वत २०७४ बैशाख १ । नववर्ष २०७४ सालको बैशाख १ गतेको शुभ दिनमा फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा प्रजातान्त्रिक सेनानी एवं संस्कृतविद स्वर्गीय कालीभक्त—कृष्ण पन्तको शालिक अनावरण तथा स्मृति भवनको उद्घाटन गरिएको छ ।

समाजमा बिद्यमान रहेको विभेधपूर्ण व्यवहारलाई हटाउन सामाजिक समाबेशी कार्यक्रम सञ्चालन गर्ने तथा नेपालको सामाजिक र सांस्कृतिक क्षेत्रका समसामयिक बिषेय क्षत्रको अध्ययन,अनुसन्धान गर्ने उद्देश्यले उक्त शालिक अनावरण तथा स्मृति भवन निर्माण गरिएको हो ।

रु.५० लाखको लागतमा निर्माण गरिएकोे कालिभक्त स्मृति भवनको छतमा ५ फिट अग्लो रहेको सो मुर्तिको अनावरण गरिएको हो ।

मुलुकको सामाजिक,सांस्कृतिक,ऐतिहासिक,साहित्यिक,खगोल शास्त्र र ज्योतिष बिषयमा गरिएका अध्ययन अनुसन्धान वा बिभिन्न बिषयका श्रष्टाहरुलाई नियमित रुपमा सम्मान गर्ने तथा पुरष्कार प्रदान गर्नुका साथै अध्ययन अनुसन्धानको लागी अनुदान प्रदान गर्ने हेतुले आफुले कालीभक्त—कृष्ण पन्तको मुर्ति अनावरण तथा स्मृति भवन निर्माण गरिएको कालीभक्त पुत्र शोभाभक्त पन्तले बताए ।

पर्वत जिल्लाको लिमिठानामा बि.स. १९६४ मा जन्मिएका कालीभक्त पन्त बाल्यकाल देखिनै सक्रिय, सृजनात्मक र जुझारु व्यक्तिका रुपमा परिचित थिए । उनले २००७ सालमा प्रजातन्त्र ल्याउनको निमित्त अग्रणी भुमिका खेलेका थिए भने समाजमा रहेको छुवाछुत प्रथाको घोर बिरोधी थिए । जातले मानिसमा अछुत हुदैन भन्ने मान्यता राख्ने कालीभक्तले छुतभेदको अन्त्य गर्ने अभियान समेत चलाएका थिए ।

वीर योद्धा व्यक्ति कालिभत्तको सम्झनामा घर परिवारले बिशेष कार्यक्रम को आयोजना गरि सांसद त्रय अर्जुन जोशी, विकास लम्साल तथा प्रकाश शर्मा पौडेलले सामुहिकरुपमा कालीभक्त—कृष्णको भवनका साथै शालिक अनावरण गरेका हुन् ।

भवन उदघाटन तथा शालिक अनावरण गर्दै पर्वत क्षेत्र नं.१ सासंद अर्जुन प्रसाद जोशीले कालीभक्त जस्ता मानिस ईतिहासले बिरलै जन्माउने बताए । उनले कालीभक्त प्रजातन्त्रका डिजाईनर रहेको भन्दै सोही बेला काङग्रेसको झन्डा मुनी आएर कालीभक्तले खेलेको भुमिकाको प्रशंसा गरे । जोशीले कालीभक्तको बिचार र दृष्टिले आफुहरुलाई राजनितिक गर्न प्रेरित गरेको बताउदै उनका कृयाकलापहरुलाई अनुसरण गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । उहाँले एक्लै राणा बिरोधी आन्दोलन गरी राणा सरकारलाई परास्त पार्न नसकिने भएकोले युवाहरु जम्मा गरि संगठित भएको नेपाली काङग्रेसमा आबद्ध भएको भन्दै कालीभक्तको सम्मानमा काँग्रेसले कुनै कसुर बाँकी नराख्ने बताए ।

त्यस्तै पर्वत क्षत्र नं. २ का सांसद विकास लम्सालले कालीभक्त वीर योद्धा भएको भन्दै समाज परिर्वतनमा उहाँले चालेको कदम र २००७ सालमा प्रजातन्त्र ल्याउनको लागी उहाँले खेल्नुभएको अग्रणी भुमिकाको प्रसंशा गरे । सांसद लम्सालले मुलुकको परिवर्तनमा शहिदहरुले खेलेको भुमिका कसैले पनि भुल्न नहुने बताउदै ’कालिभक्त जस्ता व्यक्तिको त्याग र निष्ठाले मुलुक परिवर्तनमा ठूलो भुमिका खेलेको बताए ।

बागलुङ क्षेत्र नं.२ का सांसद प्रकाश शर्मा पौडेलले कालिभक्त उत्कृष्ट वीर योद्धा भएको भन्दै उहाँका उल्लेखनीय कृतिहरुलाई प्रतिष्ठानले बाहिर उतार्नुपर्नेमा जोड दिए । उनले कालिभक्तको छुतभेद र कर्तव्य यसको ज्वलन्त उदाहरण भएको बताउदै छुतभेदले गर्दा नै पक्षपात भएको र देशका प्रत्यक जाती र व्यक्तिका मानसिकतामा राष्ट्रिय ममता जागृत हुन नसकेको बताए ।

राष्ट्रिय रुपमा स्थापित भएका राजनितिक,इतिहासकार र लोक साहित्यका स्रष्टा स्व.कालीभक्त र उनकी श्रीमतीको नाममा स्थापना गरिएको उक्त प्रतिष्ठानको संरक्षण तथा सम्बर्धन गर्न सबैको साथ मिल्नेमा आफुहरुले आशा व्यक्त गरेको संस्थापक अध्यक्ष पार्थिबेश्वर प्रसाद तिमिल्सेनाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *