बागलुङ काँग्रेसको निर्णय : पार्टीलाई तोकिएको रकम नबुझाए कुनै पदमा उमेदवार बन्न नदिईने !

ढोरपाटन नगरपालिकाको मेयरमा उठन २०।२० हजार बुझाएर दर्खास्त दिने सिलसिला सुरु !

बुर्तिवाङ, २०७३ चैत ३१ । नेपाली काँग्रेसबाट ढोरपाटन नगरपालिकाको मेयर पदमा उठ्न इच्छा राख्नेहरुले नगद रु २० हजार सहित र उपमेयर पदका आकांक्षीहरुले नगद रु १५ हजार दस्तुर सहित नगर समन्वय समितिमा दर्खास्त दिने सिलसिला जारी छ ।

त्यसैगरी नगरपालिकाका वडा अध्यक्षमा चाहना राख्नेहरुले रु ८ हजार नगद सहित आफनो चाहना सहितको दर्खास्त समितिमा बुझाई रहेका छन् भने वडा समितिको सदस्यका लागी पुरुषहरुले जनही रु ३ हजार, दलित महिलाले रु १ हजार र खुला महिला सदस्यहरुले जनही रु २ हजार नगद सहित निवेदन दिने क्रम जारी रहेको छ ।

यो समाचार तयार पार्दा सम्म ढोरपाटन नगरपालिकाको मेयर पदका आकाँक्षी अर्जुन शेरचन, धीर प्रताप सिँह र दिपककुमार अदैले रु २०।२० हजार रकम सहित उमेदवार सिफारिस गर्न दर्खास्त हालेका छन । मेयर पदका आकाँक्षीहरु मेषलाल शर्मा, सागर छन्त्यालहरुले आज साँझ सम्म दर्खास्त समन्वय समितिमा बुझाउने बुझिएको छ ।

उपमेयरमा निलमायाँ पुनले चाहना व्यक्त गरेकी छिन् । यस अघी उपमेयरमा चर्चामा रहेकी दिलमाया पौवी भने आफना श्रीमान वडा अध्यक्षमा उठ्ने भएपछी उमेदवारीमा दावी नगर्ने श्रोतले बतायो ।

यसरी आकांक्षीहरुले बुझाएको नगद रकम आकाँक्षीले टिकट नपाएपनि फिर्ता नहुने र पार्टी हितका लागि खर्चिने समितिका एक सदस्यले जानकारी दिए ।
यसरी संकलित आकांक्षीहरुको निवेदनहरुबाट छानविन गरी समन्वय समितिले क्षत्रिय समिति र त्यस्ले जिल्ला समितिमा पठाउने र यिनै आकांक्षहिरु मध्यकालाई पार्टीले टिकट दिने ती सदस्यले बताए ।

आसन्न स्थानीयतहको निर्वाचनमा कुनै पदमा उमेदवार बन्न ईच्छुक कार्यकर्ताले पार्टीलाई रकम दिएरमात्र आफनो नाम दर्तागर्नु पर्ने नेपाली काँग्रेस जिल्ला कार्य समितिले केहि दिन पहिले निर्णय गरेको थियो । उमेदवारका आकांक्षीहरुको संख्या न्यूनिकरण गर्न यो नीति अवलम्वन गरेको पार्टी निकट श्रोतले बतायो ।

गाउपालिकाको प्रमुख र उपप्रमुख पदमा उठन चाहनेले क्रमश रु १५ हजार र रु १० हजार नगद सहित निवेदन पार्टीलाई बझाउनु पर्ने समितिले निर्णय गरेको बताईएको छ । पार्टी भित्र यस निर्णयको तीब्र बिरोध भैरहेपनि नगर र गाउपालिकाका ईच्छुक उमेदवारहरुले नगद सहित निवेदन हाल्ने क्रम सुरु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *