बागलुङ जिल्ला मौरीपालनको लागि उत्तम थलो !

बागलुङ, २०७३ चैत ३० । कम लगानी र खर्चमा मनग्य आम्दानी भएपछि मौरीपालन व्यवसायमा किसानहरु आकार्षित भएका छन् । सरकारले दिने अनुदानले अझ बढी किसानहरु मौरीपालनमा उत्साहित भएको जिल्ला कृषि विकास कार्यालयको ठहर छ ।

साविम जैदी, दगान्तुडाडाँ, रिघा, रायडाँडा, रेश, सिगाना, छिस्ती गाविसहरुलाई मौरीपालनको पकेट क्षेत्रको रुपमा विकास गरिएको छ भने साविक दगान्तुडाडाँ, जैदी, रिघा र सिगाना गाविसमा मौरीपालन बढी फस्टाउदो क्रममा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाभर ४ हजार आधुनिक र १५ सय परम्परागत घार गरि ५ हजार ५ सय भन्दा बढी घारमा व्यावसायिक मौरीपालन हुँदै आएको छ । मौरीपालन व्यवसायमा किसानहरुको आकर्षण बढ्दै गए पछि वर्षेनी मह उत्पादनमा पनि वृद्धि हुँदै आएको कार्यालयका निमित्त प्रमुख कृषि प्रसार अधिकृत विप्लब अधिकारीले बताए ।

गत आर्थिक वर्षमा १८ टन मह उत्पादन भएकोमा अहिले २० मेट्रिक टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । मौरीपालनमा किसानलाई आकर्षित गर्न कार्यालयले घारमा ५० प्रतिशत अनुदान दिदैँ आएको छ ।

‘केही वर्ष अघि सम्म २५ प्रतिशत अनुदान थियो, अहिले बढेर ५० प्रतिशत पुगेको छ’ अधिकृत अधिकारीले भन्नुभयो, ‘२८ सय रुपैयाँ पर्ने घार किसानले १४ सय रुपैयाँमा पाएका छन् ।’ कार्यालयले यो वर्ष थप ५ सय घार किसानलाई वितरण गरेको छ ।

उक्त घार केही महँगो परेपनि किसानले ५० प्रतिशत छुटमै पाउने गरेको कार्यालयले जनाएको छ । ‘मौरीपालन व्यवसाय विस्तार हुँदै गएको छ, ५ सय घारले माग पु¥याउन सकिएको छैन’ अधिकृत अधिकारीले भने । किसानले परम्परागत र उन्नत दुवै घारमा व्यवसायिक मौरीपालन गर्दै आएका छन् । कृषि प्राविधिकहरुका अनुसार बागलुङ जिल्ला मौरीपालनको लागि उत्तम थलो हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *