लागु औषध जस्ता अखाद्य वस्तु उत्पादन तथा विक्रि वितरणमा प्रतिबन्ध आवश्यक !

रबिना बोहरा, बागलुङ, २०७३ चैत २७ । बागलुङ नगरपालिका वडा नम्बर १४ साविक नारायणस्थान गाविसमा आयोजित ‘दुव्र्यसन विरुद्ध आमाहरु’ बिषयक सचेतना कार्यक्रमका बक्ताहरुले दुव्र्यसन नियन्त्रण गर्न लागु औषध जस्ता अखाद्य वस्तु उत्पादन तथा विक्रि वितरणमा राज्यले प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको आयोजना, जिल्ला प्रहरी कार्यालय बागलुङको सहकार्य एवं नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानको संयोजनमा सचेतनामुलक कार्यक्रममा सम्पन्न भएको थियो ।

कार्यक्रममा जनता धन माध्यामिक विद्यालयका पूर्व प्रध्यानाध्यापक लेखनाथ पौडेलले आफ्ना बालबालिकाहरुको असल बानी व्यहोराको खोजीमा आमाहरु लाग्नुपर्ने भन्दै आमा मात्र नभई सम्पुर्ण परिवार सचेत रहनुपर्ने बताए ।

आफ्ना सन्ततीलाई सिकाउनु पुर्व आमाहरु नै सचेत हुन आवश्यक रहेको भन्दै दुव्र्यसनलाई न्युनिकरण गरी समाज निर्माणको अभियानमा लाग्नुपर्ने उनको भनाई थियो ।

छोरा छोरीहरुसंग आमाहरु धेरै समय संगै हुने भएकाले उनीहरुलाई सुधार गर्नका लागि आमाहरु नै बढी सचेत हुनु पर्ने भएकाले सहकारीले यो अभियान सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा सहकारीको बारेमा जानकारी गराउदैँ आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले साथीसंगीहरुको लहैलहैमा पनि युवा युवतीहरु दुव्र्यसनमा फस्दै गएको देखिएकाले त्यसमा ध्यान दिनुपर्ने बताएका थिए ।

समग्र सहकारीका बारेमा सहजीकरण गर्दै जिसीले सहकारीमा शेयर सदस्य बन्नका लागि सबैलाई आग्रह पनि गरेका थिए ।

कार्यक्रममा दुव्र्यसनका विषयमा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक विदुर तिमिल्सिनाले दुव्र्यसन न्यूनिकरण गर्न घरपरिवार, विद्यालय, समाज सबैको भूमिका हुने भन्दै त्यसमा पनि आमाहरुको सचेतना थप प्रभावकारी हुने भएकाले सचेत रहन आग्रह गरेका थिए ।
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका चुँडामणी कँडेलले चुरोट, खैनी तथा लागुऔषधको सेवनले मानिसमा लाग्ने रोग तथा नियन्त्रणका उपायका बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा जनताधन माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमार पौडेल, महिला विकास बहुउद्देश्यीय सहकारी संस्था नारायणस्थानकी अध्यक्ष धनादेवी शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आदर्श सञ्चार सहकारी संस्था बागलुङका उपाध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले र स्वागत सचिव आशिष सुवेदीले गरेका थिए ।
कार्यक्रममा नारायणस्थानमा गठित विभिन्न आमा समुहका १ सय ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *