माओवादीको नेतृत्वविना मुलुकमा समृद्धि असम्भव : नेता शाक्य

कमल खत्री, म्याग्दी, २०७३ चैत २७ । बेनी नगरपालिका–४ सिंगामा आईतवार नेकपा (माओवादी) केन्द्र बेनी नगर कमिटिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य हितमान शाक्यले नागरिकलाई अधिकार सम्पन्न गराई मुलुकलाई समृद्धितर्फ लैजानको लागि आगामी निर्वाचनमा माओवादीको बिजयी अनिवार्य रहेको बताएका छन् ।

नेता शाक्यले संविधान सभा मार्फत संविधान, संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातीक समावेशीता, महिला, आदीवासी जनजाती, अल्पसंख्यक र पिछडिएका क्षेत्रका नागरिकहरुलाई अधिकार सम्पन्न गराउन माओवादीले जनयुद्ध गरेको स्मरण गर्दै तिनै एजेण्डाहरुलाई कार्यान्वयन गर्न आबश्यक रहेकोमा जोड दिए ।

अहिले मुलुक माओवादीकै एजेण्डामा अगाडि बढेको भन्दै उहाँले वर्तमान सरकारले हाँसिल गरेको लोकप्रियताले पनि आगामी स्थानीय तह निर्वाचनमा जनताले माओवादीलाई रोज्ने उनको दावी थियो ।

उनले भने‘‘ हिजो भष्ट्राचार गरि कालोबजारीमा विद्यूत बेच्नेहरुले देश पछाडी धकेलेका हुन्, अहिलेको सरकारले जसरी लोडसेडिङ हटाएर मुलुकलाई उज्यालोतर्फ अगाडी बढाएको छ, यसले आम नेपालीमा समृद्धिको आसा पलाएको छ’’।

नेता शाक्यले विभिन्न शक्ति केन्द्रहरुले माओवादीहरुमा विभाजन ल्याएको जिकिर गर्दै मुलुकमा लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरुको रक्षाका निम्ती पुनः क्रान्तिकारी बिचारधाराका शक्तिहरु एकजुट हुनुपर्ने आबश्यकता औँल्याएका थिए । उनले माओवादीले जनयुद्ध नगरेको भए मुलुकबाट राजतन्त्रको अन्त्य सम्भव नरहेको बताउँदै माओवादीको नेतृत्वविना मुलुकमा समृद्धि समेत सम्भव नरहेको बताए ।

मुलुकको परिवतर्नका लागि गरिएको जनयुद्धको कार्यभार अझै पुरा नभएको बताउँदै उहाँले जनताका अधिकार स्थापित गर्दै मुलुकलाई दिगो विकासतर्फ लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य मानबहादुर बुढा, गोविन्द पौडेल लगायतले देशको विकासको योजना सहित माओवादी पार्टी निर्वाचनमा होमिएको बताउँदै निर्वाचनमा माओवादीको जित सुनिश्चित गर्न कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

नेकपा माओवादी केन्द्र बेनी नगर समितिका संयोजक शेरबहादुर केसीको अध्यक्षता, विनोद केसीको स्वागत र कुशल पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रमा अनेमसंघ क्रान्तिकारीका अध्यक्ष ज्योती लामिछाने, नवप्रवेशी देवी केसी लगायतले मन्तव्य राखेका थिए भने विभिन्न पार्टीबाट नवप्रवेशीहरुलाई प्रमुख अतिथि शाक्यले स्वागत तथा सम्मान गरेका थिए ।

यसैबिच नेकपा मओवादी बेनी नगरसमितीको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *