जिल्लाकै सानो ढोरपाटन नगरपालिकाको यस्तो छ चुनावी अंक गणित !

बुुर्तिवाङ २०७३ चैत २५ । बागलुङ जिल्लाको सुदूर पश्चिममा रहेको निसीभूजी क्षेत्रको केन्द्रको रुपमा रहेको बुर्तिवाङमा अहिले चुनावी सरगर्मी बढेको छ । निसीभूजी क्षेत्रको एकमात्र ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजारमा राजनीति दलहरु नगरपालिकाका विभिन्न पदहरुमा उमेदवार छान्ने छलफलमा केन्द्रित रहेका छन् ।

खासगरी नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र र नेकपा एमालेको विशेष उपस्थिति रहेको ढोरपाटन नगरपालिकामा साबिक बुर्तिवाङ, अधिकारीचौर, बोवाङ र खुँगा गाविस समावेश छन् । यसैसंग जोडिएको बडीगाड गाउपालिका भन्दा जनसंख्या र वडाहरु कम भएको (सानो) नगरपालिका भएपनि बुर्तिवाङ बजारको चुनावी माहौल तातेको छ ।

नेपाली काँग्रेस उमेदवारको छनौटलाई लिएर वडाहरुको बैठक गरिरहेको छ । मेयर पदका आकाँक्षीहरुको लस्करलाई केलाउने काममा काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरु छलफल गरिरहेका छन् । उमेदवार सिफारिसका लागि शालिकराम शर्माको संयोजकत्वमा गठित ढोरपाटन नगरपालिकाको नगर समन्वय समितिको चैत २७ गते बस्ने बैठकले को कसलाई मेयर उपमेयर, वडा अध्यक्ष उठाउने भन्न सिफारिस गर्ने बताईएको छ ।

नेपाली काँग्रेसबाट मेयरका दाबेदारहरुमा धीरप्रताप सिँह, मेखलाल शर्मा, अर्जुन शेरचन, सागर छन्त्याल आदिको नाम चर्चामा छ । नेका क्षत्रिय अध्यक्ष द्रोण कुँवर मेयरको प्रवल दाबेदार मानिएपनि उनले खासै रुची देखाएका छैनन् । उप मेयरमा बर्तिवाङ बजारकी दिलमायाँ पौवी र लिलमायाँ पुनको नाम चर्चामा छ । पौवी बीए उत्तीर्ण महिला हुन् ।

उता राष्ट्रिय जनमोर्चाबाट मेयर पदमा जिल्ला सदस्य गौरिश्वर पाण्डे र टेक बहादुर घर्तीको नाम चर्चामा छ । राजमोले मेयर पदकालागि यिनै दुई नेताहरुको नाम केन्द्रमा सिफारिस गरी पठाएको बुझिएको छ भने उपमेयरको महिला उमेदवारमा दुर्गादेवी घर्तीको संभावना बढी रहेको श्रोतले बतायो ।

नेकपा एमालेबाट पूर्व प्रअ बेगबहादुर पुन, पूर्व जिविस उपसभापति मोहनलाल शर्मा, लक्ष्मन पुनको नाम चर्चामा छ । उममेयरमा अधिकारीचौरकी कर्मती पुन उमेदवार हुने संकेत एमाले श्रोतले दिएको छ ।

उता माओवादी केन्द्रबाट मेयरका आकाँक्षीहरुमा माओवादी नेता तुलसी अर्याल, शेरमान घर्ती, चन्द्र अर्यालको नाम प्रकाशमा आएको छ । समाचार श्रोतका अनुसार बाम एकता भएमा मेयरमा तुलसी अर्यालको प्रवल संभावना र नभए शेरमान घर्ती वा चन्द्र अर्यालले उमेदवारी दिने छन् ।

नेकपा एमाले जनमोर्चासंग भएपनि चुनावी तालमेल गरेर जाने तरखरमा देखिन्छ । यसो भएमा मेयर पद जनमोर्चालाई दिएर उपमेयर र अन्य वडाहरुमा आफनो बर्चस्व रहने गरी उमेदवारी दिने चर्चा सुनिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *