Menu

बागलुङ नगरपालिकाको मेयर पदको संभावित उमेदवारमा जसको बढी चर्चा छ …

बागलुङ २०७३ चैत २५ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरु नगरपालिकाका मेयर उपमेयर तथा गाउपालिकाका प्रमुख उपप्रमुख पदहरुमा को कसलाई उमेदवार बनाउने भन्ने आन्तरिक छलफलमा जुटेका छन् । नेपाली काँग्रेसले आज चैत २५ गते सम्ममा आकाँक्षीहरुले पार्टीको नगर समन्वय समितिमा नाम पेश गर्न समय सीमा तोकेर छनौट सिफारिस प्रकृयालाई अघी बढाएको छ भने नेकपा एमालेले पनि संभावित उमेदवारहरु चयनको प्रकृया टुंगाउने अवस्थामा रहेको बुझिएको छ । उता राष्ट्रिय जनमोर्चाले सम्भावित उमेदवारहरुको नाम केन्द्रमा सिफारिस गरी पठाई सकेको छ भने माओवादी केन्द्र लगायत अन्य राजनीति दलहरुले पनि उमेदवारहरुको चयन प्रकृयालाई अन्तिम रुप दिन थालेका छन् ।

जिल्लाको चुनावी राजनीतिलाई नियाल्दा नेपाली काँग्रेस अन्य दलहरुसंग तालमेल गर्ने पक्षमा देखिदैन । उता बाम दलहरु भने बृहत बाम एकताको पक्षमा उभिएका छन् । एमाले, माओवादी केन्द्र, राजमो, जनशक्ति लगायतका बाम दलहरुले बाम एकताका लागि बार्ता गर्न समिति गठन गरेर वार्ता अघि बढाएकाले बाम एक ठामको प्रयास तीब्ररुपमा अघि बढेको अनुमान गर्न सजिलो भएको हो ।

काँग्रेसलाई पराजीत गर्न सबै बाम दलहरुवीच चुनावी तालमेल हुनुपर्ने आवश्यकता महसूस गरेका बाम दलहरुवीचको एकत कति सम्भव छ त्यो समयले नै बताउला तर राजनीतिक विश्लेषकहरु भने बृहत् बाम एकता हुने सम्भावना देखिरहेका छ्रैनन् । उनिहरुको आँकलनमा एमाले र जनमोर्चा वीच एकता हुन सक्ने संभावना जीवित छ ।

जिल्लामा वाम दलहरुवीच चुनावी तालमेलको राणनीतिले काँग्रेस मजबुत भएको अवस्थालाई जाहेर गरिरहेको विश्लेषकहरुको ठम्याईँ छ । त्यसैले काँग्रेस भित्र उमेदवारका आकाँक्षीहरुको संख्या बढी देखिएको हो र बाम दलहरु उमेदवारको चयन भन्दा पनि पहिले बाम एक ठामको रणनीतिमा जुटेको अवस्था छ । माओवादी केन्द्रका केहि नेताहरु बाम एकता गरेर चुनावमा जाँदा आफना मत कति भन्ने पत्तो नलाग्ने भएकाले मत परीक्षण गर्न पनि एकल उमेदवारी दिने बताई रहेका छन् । यस अवस्थामा बाम एकताको प्रयास अन्तिम समयमा आएर तुहिने आशंका पनि त्यत्तिकै छ ।

जिल्लाको सदरमुकाम रहेको बागलुङ नगरपालिकामा नेपाली काँग्रेसबाट बाउबासंघका पूर्व अध्यक्ष बसन्त कुमार श्रेष्ठको नाम बढी चर्चामा रहेको छ भने नेकपा एमालेबाट पार्टीका पूर्व अध्यक्ष जनकराज पौडेलको नाम अग्रपंक्तिमा रहेको छ । चर्चामा त स्वयं वर्तमान पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा, महिला नेर्त मना केसी, डा. सूर्य पाठक, कृष्ण पाठकहरुको नाम पनि छ । तर प्रबल दाबेदारको रुपमा पौडेल रहेको पार्टी कार्यकर्ताहरुको दाबी छ । उप मेयरमा एमालेबाट महिला उमेदवार को हुने भन्ने त्यति चर्चा बाहिर आएको छैन तर संभावित उमेदवारमा रुद्रेपिपल माविकी प्रअ ममता शमाको नाम चर्चामा लिने गरिन्छ । बाम एक भएमा महिला उमेदवार अन्य बाम दलका महिला नेतृलाई दिईने चर्चा पनि छ । बाम एक भएमा जनमोर्चाकी लक्ष्मी बाँस्कोटा उपमेयर पदकी प्रबल दावेदार हुने निश्चित भएको बाम चर्चा छ ।

नेपाली काँग्रेसबाट मेयरको आकाँक्षीमा नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मापनि रहेकी छिन् । उनले मेयरमा उमेदवार दिने मनसुवा सामाजिक सन्जालबाट पहिले नै जाहेर गरिसकेकी हुन् । महिला नेतृहरु कल्पना हमाल, पार्वती आचार्यहरुपनि मेयर वा उपमेयर पदका आँकाँक्षीको रुपमा हेरिएको छ । मेयर पदमा श्रेष्ठले टिकट पाए भने अमलाचौरकी महिला नेतृ कल्पना हमाल उपमेयर पदकी प्रबल दाबेदार हुने संभावना रहेको काँग्रेस भित्र चर्चा रहेको छ ।

बागलुङ नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, किरण शर्मा, क्षत्रिय अध्यक्ष चिरन्जीवी गौतम उठ्नु पर्ने एक थरी काँग्रेसीहरुको दबाव रहेको चर्चा काँग्रसीबृत्तमा छ । यो दबाव दिने समुहको तर्क छ, सदरमुकाम रहेको नगरपालिकाको मेयर पदमा पार्टीको पाको नेता आवश्यक रहेकोले उपल्लो तहका नेताहरु उठाउनु पर्छ । यस तर्क भित्र लुकेको मनसुवा चाहिँ उपमेयरमा बजारका महिला उठाउनु रहेको बुझाई अर्काथरी काँग्रेसीहरुको छ । बजारको व्यक्ति मेयरम उठेपछी उपमेयरमा महिला उमेदवार बजारबाट उठ्ने वा उठाउने सँभावना राजनीति सन्तुलनका लागि पनि संभव नभएकाले उपल्लो तहको नेता मेयरमा उठ्नु पर्ने दबाव सिर्जना गर्ने जमर्को गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

अन्य राजनीति दलहरुबाट मेयर उपमेयर पदका दाबेदारहरुको संभावित नामहरु त्यति धेरै चर्चामा नरहेपनि राप्रपाबाट स्वयं पार्टी अध्यक्ष सुरेन्द्र खडका, माओवादी केन्द्रबाट यज्ञबल्लभ शर्मा, कुमार पौडेल, जशोदा शर्मा र राजमोबाट अमर थापा र लक्ष्मी बाँस्कोटाको नाम बाहिर आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *