Menu

आज चैत्राष्टमी, बागलुङ कालिका देवीको मन्दिरमा श्रद्धालु भक्तहरुको अपार भीड !

बागलुङ २०७३ चैत २२ । आज चैत्रशुक्ल अष्टमी तिथी बागलुङ कालिका देवीको मन्दिरमा विहानै देखी श्रद्धालु भक्तहरुको अपार भीड लागेको छ । मुलुकका विभिन्न भागहरुबाट कालिका देवीको दर्शनार्थ श्रद्धालुहरु आउने सिलसिला जारी छ ।

चैत्रशुक्ल नवरात्रिलाई चैते दशैँको नामले पुकारिन्छ भने आजको अष्टमी तिथी कालिका देवीको पूजा अर्चनागर्ने प्रमुख दिन मानिन्छ । यस अष्टमी पर्वमा कालिका देवीको मन्दिरमा पन्चबलि दिईने प्रचलन रहेको छ । यस अवसरमा सयौँ पशुबलि चढाईन्छ । बागलुङ कालिका देवीको मन्दिरमा लाग्ने चैतेदशैँ मेला देशकै सर्वाधिक ठुलो मेला मानिएको छ । कालिका देवीको प्रशिद्धी सँगै चैतेदशैँको महत्व जोडिएको छ ।

नेपालीहरुले मनाउने चाडपर्वहरुमा चैते दशैँको महत्वपूर्ण स्थान रहेको छ । यस अवसरमा देशभरका शक्तिपीठहरुमा चैतेदशैँ मेला लाग्छ । बडादशैँ जस्तै देवीको पूजाअर्चना गरिन्छ । तथापि बागलुङ कालिका देवीको मन्दिरमा लाग्ने चैतेदशैँको विशेष महत्व रहेको छ ।

बागलुङ कालिकालाई साक्षात देवीको रुपमा श्रद्धालुभक्तहरुले मान्ने गरेका छन् । बागलुङ कालिकालाई स्मरण गरे मनले चिताएको पुग्छ भन्ने विश्वास रहनाले नै दिनप्रतिदिन बागलुङ कालिको प्रशिद्धी बढ्दै गएको छ भने दर्शनार्थीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।

कालिका देवीलाई ५ सय वर्ष पहिले पाल्पाबाट ल्याएर बागलुङमा स्थापित गरिएको हो । पाल्पामा कालिका देवीलाई माझकी देवी भनेर पुकारिन्थ्यो । श्रुतिस्मृति अनुसार पाल्पाका राजा मुनी मुकुन्द सेनकी राजकुमारीले माझकी देवीको प्रत्यक्ष दर्शन पाउथिन । राजकुमारी माझकी देवी विना एक क्षण बस्न नसक्ने भएकाले उनले विवाहामा माझकी देवीलाई बुबासंग मागी साथै ल्याएकी हुन् । पर्वतका राजा प्रतापी नारायण मल्लले माझकी देवीलाई विसं १५९१ मा बांगेचौरमा स्थापना गरी चैत्रशुक्ल अष्टमी अर्थात चैतेदशैँमा भव्य मेला लाग्ने परम्परा बसालेका हुन् ।

चैतेदशैँमा कालिका देवीको मन्दिर परिसरमा हप्ता दिन पहिले देखी नै विभिन्न भागहरुबाट भीक्षु (जोगी)हरु भीक्षाटनका लागि बसेका छन् । श्रद्धालुहरुबाट दिईएको भीक्षाबाट उनिहरुलाई महिनौ सम्मका लागि जीविका चल्छ । अनाथ, दुखी, अपांगहरुपनि यस मेलामा आफना सीप र कलालाई प्रदर्शन गरेर श्रद्धालुहरुको ध्यानाकर्षण गरिरहेको देख्न सकिन्छ भने केहि महिला पुरुषहरु भक्तजनहरुको हात हेरेर उनिहरुको भूत भविष्य बताईरहेको दृश्यपनि देखिन्छ । मादल, डम्फु, बोकेर बजाउदै हिँड्नेहरु पछिल्लो समय लगभग देखिन छोडेका छन् । लोकगीतको उद्गम स्थल मानिएको चैतेदशैँ मेला पछिल्लो समय स्टेजमा उभिएर गीत गाउनेहरुको जम्पिङ् स्थलमा रुपान्तरित भएको छ । चैतेदशैँ मेलाको चीरहरण गर्ने सिलसिला जारी छ । रुख काटेर छहारी खोज्नु मुर्खता हुन्छ, त्यसैले समयमै बिचार पुराउनु जरुरी छ ।

तस्वीर- किरण आचार्य, इबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *