Menu

स्थानीय तहको निर्वाचन : बागलुङमा मतदाताको संख्या १ लाख ५६ हजार ८ सय २ !

बागलुङ २०७३ चैत २२ । २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा देश भरमा २ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता सहभागि हुने निर्वाचन आयोगले जनाएको छ । २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङमा १ लाख ५६ हजार ८ सय २ मतदाता रहेका छन् ।

बागलुङमा ७३ हजार ९ सय ६३ पुरुष र ८२ हजार ८ सय ३९ महिला कुल मतदाता निर्वाचनमा सहभागी हुने निर्वाचन आयोगले जनाएको छ । म्याग्दीमा ३३ हजार ७ सय ९० पुरुष, ३७ हजार ६ सय ७२ महिला र एक तेस्रो लिङ्गि गरि ७१ हजार ४ सय ६३ मतदाता सहभागी हुने भएका छन् ।

पर्वतमा ४७ हजार ३ सय ५४ पुरुष र ५१ हजार ८ सय ८९ महिला गरि कुल ९९ हजार २ सय ४३ मतदाता निर्वाचनमा सहभागी हुने आयोगले जानकारी दिएको छ । यस्तै हिमाल पारिको जिल्लाको मुस्ताङमा ४ हजार १० पुरुष र ४ हजार २ सय ५३ महिला गरि कुल ८ हजार २ सय ६३ मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।

आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको सङ्ख्या ६९ लाख ८४ हजार ६२५ रहेका छन् । त्यस्तै १४३ जना तेस्रोलिङ्गी मतदाता संख्या कायम रहेको आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता कायम रहेका छन् ।

२०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ । अब मतदाताको नामावली कुनै पनि ठाउँमा ठाउँ सारी नहुने तथा नाम दर्ता नगरिने आयोगले यस अघि निर्णय गरिसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *