Menu

बुर्तिवाङमा पत्रकारिता तालिम सम्पन्न : सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह !

बुर्तिवाङ २०७३ चैत २१ । ग्रामीण विकास मञ्च अधिकारीचौरको आयोजनामा मंगलबारदेखि बुर्तिबाङमा संचालित एक हप्ते पत्रकारिता तथा उदघोषण तालिम आज सकिएको छ ।

मञ्चको आयोजना, सामुदायिक रेडियो परिवर्तनको समन्वय र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा संचालित उक्त तालिममा सांसद नरबहादुर थापाव्दारा सांसद विकास कोषबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।

तालिममा समाचार संकलन तथा लेखन, रिपोर्टिङ, समाचार वाचन, उद्घोषण, तथा रेडियो कार्यक्रम उत्पादन, प्रस्तुतिकरण, लगायतका विषयमा प्रशिक्षण दिइएको छ । तालिममा जिल्लाका विभिन्न स्थानबाट ३७ जनाको सहभागीता रहेको थियो ।

एक हप्ते पत्रकारिता तथा उद्घोषण तालिममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष एवं धौलागिरी एफएम बागलुङका सम्पादक दिल शिरिष, महासंघका जिल्ला कोषाध्यक्ष तथा परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक विजय राना, महासंघका जिल्ला सदस्य तथा रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनार महासंघका केन्द्रिय पार्षद सदस्य तथा रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी, महासंघका ४ नं. प्रदेश पार्षद सदस्य प्रशान्त घर्तिले सहजीकरण गरेका थिए ।

तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक दुवै व्यवस्था गरिएको थियो । आगामी चैत्र २५ गते अभ्यास परिक्षा हुने र त्यसपछि उत्कृष्ठ हुनेलाई सञ्चार माध्यममा काम गर्ने अवसर रेडियो परिवर्तनले मिलाउने भएको छ ।

तालिम सम्पन्न भएसँगै आजै एक कार्यक्रमको आयोजना गरि तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । आयोजक संस्था ग्रामीण विकास मञ्चका अध्यक्ष उमेश कुमार बुढामगरको अध्यक्षता, पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष तथा प्रशिक्षक विजय राना मगरको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले, पत्रकारिता मार्फत समाज र समुदायलाई सचेत बनाउने र समाजप्रतिको उत्तरदायित्वमा सबै सामाजिक निकाय तथा व्यक्तिहरुलाई जवाफदेही गराउने महत्वपूर्ण जिम्मेवारी हामी सबैमा रहेको बताए । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यन्वयन गर्न सबैलाई आग्रह पनि गरे ।

यसैबीच कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद सदस्य तथा रेडियो परिवर्तनका स्टेशन म्यानेर एवं तालिमका प्रशिक्षक राम सुवेदीले, एक हप्तासम्मको समयले सहभागीतामा केही न केही नयाँ ज्ञान तथा क्षमता विकासमा महत्व राख्ने भन्दै अव व्यवहारिक रुपले यसको प्रतिफल प्राप्त गर्न सहभागीले फिल्डमा लाग्न आग्रह गरेका थिए । तालिमले क्षमता विकासको मार्ग निर्देशन दिने भन्दै सुवेदीले प्रशिक्षकहरुले दिएको निर्देशन अनुसार अव व्यवहारको कार्यन्यनले नै हामीलाई क्षमतावान बनाएर देखाउने बताए । कार्यक्रममा सहभागीका तर्फबाट सावित्रा चालिसे र राजन केसीले आआफनो अनुभव बताएका थिए ।
मञ्चका कोषाध्यक्ष मीनादेवी घर्ति मगरको स्वागत तथा सचिव प्रेम घर्ति मगरको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !