Menu

सामाजिक उत्तरदायित्व सहितको आर्थिक विकासका लागि सहकारीको योगदान प्रशंसनीय !

बागलुङ, २०७३ चैत २० । ६० औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ आइतवार बागलुङमा मनाईएको छ । सहकारी दिवसका अवसरमा डिभिजन सहकारी कार्यालय बागलुङ र जिल्ला सहकारी संघ लिमिटेड बागलुङको संयुक्त आयोजना तथा जिल्लास्थित विभिन्न सहकारी संघ संस्थाहरुको सहयोगमा प्रभातफेरी सम्पन्न गरिएको थियो । प्रभातफेरी पछि आयोजित मुख्य समारोहमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले सामाजिक उत्तरदायित्व सहितको आर्थिक विकासका लागि सहकारीको योगदान बढाउनु पर्नेमा जोड दिए ।

उनले सहकारी आर्थिक विकास, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि उपयोगी माध्यम भएकाले यसका नीति नियम र मापदण्डहरुलाई पालना गर्दै अगाडि बढेर समृद्ध मुलुक निर्माणमा योगदान गर्न सहकारी क्षेत्रलाई सुझाव समेत दिए ।

कार्यक्रममा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी केसी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक चण्डीप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, समाजसेवी देवबहादुर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा डिभिजन सहकारी कार्यालयले सहकारी मार्फत सञ्चारको विकास र सहकारीप्रति आम जनतामा उत्प्रेरणा ल्याउन सञ्चारमार्फत गरेको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीलाई सम्मान गरेको थियो । यस्तै उत्कृष्ट सञ्चालकका रुपमा बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघका सञ्चालक तथा सिवाइसी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा सम्मान गरेको थियो ।

विभिन्न विधा तर्फका सहकारीहरु मध्ये बहुउद्देश्यीयतर्फ बागलुङको प्रगति बहुउद्देश्यीय, वचत तर्फ म्याग्दीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था र उत्पादनतर्फ पर्वतको बैशाली कृषि सहकारी संस्थालाई उत्कृष्ट संस्थाका रुपमा सम्मान गरिएको थियो ।

उत्कृष्ट कर्मचारीका रुपमा कार्यालयका सहकारी निरिक्षक होमनाथ ढकाललाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम डिभिजन सहकारी कार्यालयका प्रमुख विष्णुप्रसाद शर्माको अध्यक्षता, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको स्वागत र कोषाध्यक्ष भुपाल चालिसेको सञ्चालनमा सम्पन्न्न भएको थियो ।

पुरस्कृत तथा सम्मानितहरुका बारेमा डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक डिलबहादुर केसीले जानकारी गराएका थिए ।
डिभिजन सहकारी कार्यालय बागलुङले शनिवार आयोजना गरेको वकृत्वकला प्रतियोगिताका विजयी कर्मचारीहरुलाई पनि मुख्य समारोहमा पुरस्कार वितरण गरिएको थियो ।

दीगो आर्थिक विकास लक्ष्य प्राप्तीका लागि सहकारी विषयक वकृत्वकलामा गुहेली सञ्चार सहकारी संस्थाका सम्पादक नविन शिशिर विक प्रथम, आदर्श सञ्चार सहकारी संस्थाका सम्वाददाता रेणु केसी द्वितिय, सिवाइसी वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक नवराज शर्मा तृतिय र आस्था वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक अमरबहादुर थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

यसैवीच ६० औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले महिलाहरुलाई सहकारीका बारेमा जागरुक बनाउने उदेश्यका साथ काठेखोला गाउँपालिका वडा नंं ७ रेशमा आमा समुहरुबीच सहकारी सम्बन्धी भजन प्रतियोगिता सम्पन्न भएको छ ।
आमा समुहहरुबीच सहकारी भजन प्रतियोगिता सम्पन्न गरेको हो ।

भजन प्रतियोगितामा साविक रेश गाविसमा गठित विभिन्न ९ वटा आमा समुहको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी आमाहरुले भजन मार्फत सहकारी गरिवी अन्त्यको मन्त्र भएको, सहकारीमार्फत अर्थतन्त्रको विकास गर्न सकिने कुरा व्यक्त गरेका थिए । किसानले खेती खगेर उब्जाएको वस्तुको मूल्य बजारले तोक्ने प्रचलन अन्त्य हुनु पर्ने, स्थानीय स्रोत साधनको अधिकतम उपयोगमा ध्यान दिनु पर्ने लगायतका विषयहरु भजन मार्फत सार्वजनिक गरेका थिए ।

प्रतियोगितामा अनुभवी आमा समुह प्रथम, प्र्रगतिशिल आमा समुह द्वितिय, नवप्रतिभा आमा समुह तृतिय तथा प्रगतिशिल कुँवर परिवार महिला विकास समुह र डोटा देउराली आमा समुहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा विजयी हुने समुहहरुलाई वाद्यवादन सामग्रीहरु मादल, खैजडी, मुजुरा पुरस्कार प्रदान गरिएको थियो ।

भजन प्रतियोगिताकै क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक विदुरप्रसाद तिमिल्सिनाले दुव्र्यसन सम्बन्धमा, जिल्ला स्वास्थ्य कार्यालयका चुडामणी कंडेलले सूर्तिजन्य पदार्थको प्रयोग र यसबाट हुने हानी नोक्सानीका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्की, पूर्व जिल्ला विकास समितिका सदस्य हरिबहादुर कार्की, आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागत र सचिव प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *