Menu

शनिवार बन्द कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीले ताला लगायो !

कृष्ण कँडेल, बागलुङ २०७३ चैत १९ । स्थानिय तहको निर्वाचनको खारेजीको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले आज शनिवार विदाको दिन बन्द रहेका स्थानिय तहका कार्यालयहरुमा कतै तालाबन्दी त कतै कार्यालयको बोर्ड झिकेर फालेको र केहि च्यातेर छोडेको भेटिएको छ ।

ढोरपाटन नगरपालिका कार्यालयमा शनिबार विहान ताला लगाएको, कार्यालयको बोर्ड च्यातिएको र कार्यालयको च्यानलगेट भित्र नेपाल कम्युनिष्ट पार्टीको नाम उल्लेख भएको निर्वाचन बहिष्कारको पोष्टर राखेको भेटिएको प्रहरीले जनाएको छ ।

गल्कोट नगरपालिका, निसीखोला गाउँपालिका, वडीगाड गाउँपालिका र बरेङ गाउँपालिकाको कार्यालयमा पनि कतै ताला लगाएको त कतै बोर्ड निकालेर फालेको र कतै झिकेर लगेको भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए ।

कार्यालयको नजिकै ‘कथित स्थानिय चुनाब खारेज गरौँ’ भन्दै मतपत्र र मतपेटिका जलाएको तस्विर भएको नेपाल कम्युनिष्ट पार्टीको पर्चा भेटिएको प्रहरीको भनाई छ ।

ताला प्रहरीले तोडेको छ । निर्वाचन विरोधी गतिविधि गर्नेहरुको खोजी कार्य सुरु गरिएको ईप्रका बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए ।

गल्कोट नगरपालिकाका निमित्त कार्यकारी अधिकृत माधब शर्माले आज बिहान कार्यालयको बोर्ड झिकेको र कार्यालय नजिकै पर्चा भेटिएको स्थानियले आफुलाई बताएको जानकारी दिए ।

घटनाको बारेमा नेपाल कम्युनिष्ट पार्टीका जिल्लास्तरीय एक नेतालाई सोध्दा नाम नबताउने शर्तमा उनले पार्टीको निर्वाचन बहिष्कारको निति अनुसार नै आफ्ना कार्यकर्ताले यस्तो गतिबिधि गरेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *