बागलुङ नगरपालिकाबाट सेवाग्राही प्रति समान व्यवहार नभएको बक्ताहरुको आरोप !

नगरपालिका कार्यालय भित्रै कर्मचारी बिच देखिएको मत भिन्नतालाई हल गर्न सुझाव

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत १९ । बागलुङ नगरको विकासमा बागलुङ नगरपालिकामा देखिएको बिद्यमान समस्या र विवाद अन्त्यका लागि सरोकारवालाले सबैको सामुहिक पहल, सहयोग र समन्वय आवश्यकता औल्याएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र जवाफदेहिताका लागि असल छिमेकी बागलुङको आयोजनामा शनिवार बागलुङ बजारमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका अतिथी वक्ता र सहभागीले सबै भन्दा पहिले नगरपालिकालाई थप गतिशील र सेवालाई प्रभावकारी बनाउन कार्यालय भित्रै कर्मचारी बिच देखिएको मत भिन्नतालाई हल गर्न सुझाव दिएका थिए ।

घरको नक्सा पास, सडक मापदण्ड, सेट ब्याक लगायतका बिषय नगरपालिकामा ठुलो बिवादको बिषय बनेको प्रति संकेत गर्दै उनीहरुले भोलिको पुस्ताले धिक्कार नगर्ने हिसावले कानुनको जगमा टेकेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीले नगरपालिकामा घर जग्गा र सडकका बिषयमा कर्मचारी अनुसारको मापदण्ड कायय भएको, सेवाग्राही प्रति समान व्यवहार नगरेको, घर बहाल करमा ठुलो छली भएको, नगरपालिकामा कार्यरत रहेका नगर प्रहरीले कुनै काम नगरि तलव खाएको, सरसफाई कर अझै बैज्ञानिक नभएको, सौर्य वत्ति नगरका सबै ठाउँमा पुग्न नसकेको, खुल्ला दिसामुक्त घोषणा कार्यन्वयन नभएको, बिना सूचना क्षण क्षणमा बिद्युत जाने गरेको लगायतका बिषयमा प्रश्न, धारणा तथा सुझाव राखेका थिए ।

कार्यक्रममा बिशेष अतिथी वक्ताको रुपमा रहेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले नगरपालिकामा कर्मचारीहरु बिचनै मुख्य समस्या देखिएकाले त्यसलाई तत्काल समाधान गरेर अघि बढ्न आग्रह गरेका थिए । नगरपालिकालाई मात्र दोष दिएर मात्र नहुने भन्दै प्रजिअ पाण्डेले बिद्यमान वेथिति नियन्त्रणका लागि राजनीतिक दल र नगरबासी समेत जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

सहभागीको प्रश्नको जवाफ दिदै बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत सुवासकुमार लामिछानेले नगरपालिकाको बिद्यमान समस्या नियम कानुन भित्र रहेर तत्काल समाधान खोजिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नयाँ संरचना अनुसार नगरपालिकाको कार्यक्षेत्र र जनसंख्या पनि थपिएकाले चुनौति थपिएको भन्दै उनले नगरबासीको साथ सहयोगमा नमुना नगरपालिका बनाउन आफ्नो तर्फबाट इमान्दार प्रयास गर्ने बताए । कार्यक्रममा गम्भिर र मनन योग्य सुझाव प्राप्त भएकाले उक्त प्रश्न र सुझावका आधारमा नगरपालिकाको योजना तथा कार्यक्रम तय गर्ने उनको भनाई थियो ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरी अर्याल, महासचिव पद्मिनी प्रधानाङ्ग, नागरिक समाजका संयोजकका काजीगाउँले श्रेष्ठ, नेपाल कांग्रेसका पूर्व जिल्ला उपसभापति जगदिशचन्द्र उपाध्याय, राष्ट्रिय जनमोर्चाका धर्म कुवर, बागलुङ नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले नगरपालिको सेवा प्रवाह र बिबिध बिषयमा प्रकाश पारेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *