Menu

गल्कोट नगरपालिका : संक्षिप्त परिचय

बालकृष्ण सुवेदी

नेपालमा संघिय संरचनाको कार्यान्वयन प्रकिया सुरु भएको छ । नेपाल सरकार राज्य पुनसंरचना आयोगले तयार पारेको प्रतिवेदन राजपत्रमा प्रकाशित गरेपछि विधिवत रुपमा स्थानिय तह निर्धारण र कार्यान्वयनमा समेत आईसकेका छन् ।

७ सय ४४ स्थानिय तह अन्तगर्त बागलुङ जिल्लामा १० स्थानिय तह विधिवत प्रकियामा आईसकेका छन् । स्थानिय तह निर्धारणको शिलशिलामा ऐतिहासिक गलकोट तिन तहमा विभाजित भएको छ । समग्र गलकोट एउटै स्थानिय तह हुनुपर्ने आवाज पनि बेलाबखत उठ्ने गरेको थियो तर भौगौलिक कठिनतालाई मध्यनजर गर्दै गलकोट क्षेत्र ३ स्थानिय तहमा विभाजन भएको छ ।

तारा ,हिल ,अर्गल र अमरभुमी गाविस गाभेर ताराखोला गाउँपालिका बनेको छ । सुखौरा र सल्यान बरेङ गाउँपालिकामा समावेस भएका छन् । दुदिलाभाटी, नरेठाँटी, हटिया, हरिचौर, मल्म, काँडेवास ,रिघा र पाण्डबखानी मिलेर गलकोट नगरपालिका बनेको छ ।

२०७३ चैत ३ गते गलकोट नगरपालिका वडा नं ६ को मजुवा फाँटमा नगरपालिका कार्यालयको समेत सुरु भएको छ । गलकोट नगरपालिकाको लागि सरकारले प्रदिपचन्द्र सुवेदीलाई कार्यकारी अधिकृतको रुपमा सिफारिस गरिसकेको छ । गलकोट तिन निर्वाचन क्षेत्रमा विभाजित हुदाँ जनप्रतिनिधी छान्न देखि विकास निर्माणका कार्यमा कठिनाई भोग्नु परेको थियो । स्थानिय तह निर्धारण संगै गलकोट नगरपालिकाले विकास निर्माणमा फड्को मार्ने अपेक्षा गरिएको छ ।

गलकोट नगरपालिका प्राकितिक एँवम पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण क्षेत्र हो । यस क्षेत्रका केही महत्वपुर्ण सवाललाई यहाँ उल्लेख गर्ने प्रयास गरेको छु ।

यातायातमा पहुँच

(क) मध्यपहाडी लोकमार्ग
काठेखोला गाउँपालिकाको भ्यु टावर देखि दुदिलाभाटी, नरेठाँटी, हटिया, मल्म र रिघा हुदै बडीगाड गाउँपालिकाको खर्बाङ सम्म करिब ३५ किलोमिटर पुर्व पश्चिम मध्यपहाडी लोकमार्गले ओगटेको छ । घोडाबाधे देखि हटिया सम्म कालोपत्रे समेत भईसकेको लोकमार्गको हटिया (रिघा खण्डमा समेत कालोपत्रेको अन्तिम तैयारी भईरहेको छ । राष्ट्रिय गौरवको यो सडकमा आगामी ५ वर्ष सम्ममा ठुलो संख्यामा यातायातका साधनहरु पुर्व ( पश्चिम चल्ने भएकाले लोकमार्ग आसपासमा विभिन्न खाले ब्यवसायको राम्रो सम्भावना रहेको छ ।

(ख) अन्य महत्वपुर्ण सडक सञ्जाल
हटिया देखि मजुवा फाँट र हरिचौर बजार हुदै ताराखोला गाउँपालिका भएर म्याग्दि सम्म जोडिएको सडक खण्डमा पर्ने गौदी खोला र दरमखोलामा मोटरेवल पुल निर्माण कार्य चलिरहेका छन् ।यो सडकको विस्तार र पुल निर्माण संगै यातायातमा थप पहुँच पुग्ने देखिन्छ । हटिया ,काडेवास र थालेपोखरा हुदै सुखौरा सम्मको सडकमा ट्रयाक खोलि सकेको अवस्था छ । त्यसैगरी डाँडाखेत देखि खरुवा – शान्तिपुर हुदै बुटवल ,नुवाकोट –शान्तिपुर हुदै बुटवल र कोटमैदान –सुखौरा – शान्तिपुर हुदै बुटवल जाने सडकको पनि ट्रयाक खोलेर विस्तारको काम चलिरहेको छ । नरेठाँटी–दुदिलाभाटी हुदै बरेङ जाने सडक पनि सञ्चालनमा आईसकेको छ । यस बाहेक मध्यपहाडी लोकमार्ग देखि रिघा र पाण्डबखानी सम्म नियमित सवारी सञ्चालनमा रहेका छन् । नगरपालिकाका प्राय सवै वार्ड सम्म मोटरबाटो पुगेको छ । स्थानियको आफ्नै लगाडीमा समेत सडक बिस्तार गरिएको छ । राज्यको अनुदानमा गलकोट नगरपालिका भित्रमा सडक निर्माण र विस्तारको काम चलिरहेको अबस्था छ । यी सडकहरुको स्तरोन्नती गर्न सक्ने हो भने गलकोट नगर भित्र सहज यातायातको पहुँच पुग्ने छ ।

शैक्षिक पुर्वाधार
गलकोट नगरपालिकाको केन्द्रबिन्दु हटिया बजारमा गलकोट बहुमुखी क्याम्पस सञ्चालनमा रहेको छ । नगरपालिकाका प्राय वाडमा १२ कक्षा सम्म सञ्चालन भएका माद्यमिक विद्यालयहरु रहेका छन् । वडा नँ १ दुदिलाभाटीमा चौराह मावि र सरस्वती मावि ,वार्ड न २ नरेठाँटीमा महेन्द्र मावि ,वडा नँ ३ हटियामा गलकोट मावि र गलकोट बहुमुखी क्याम्पस ,वडा न ४ हटियामा खरुवा मावि सञ्चालनमा रहेका छन् । वडा नं ५ हरिचौरमा पृथ्वी मावि ,वडा नँ ६ हरिचौरमा पार्व्ति मावि ,वडा नँ ७ मल्ममा जनहित मावि , वडा नँ ८ काँडेवासमा जनजागृति मावि र शिव मावि ,वडा नँ ९ मल्ममा भैरब मावि ,वडा नँ १० पाण्डवखानीमा पाण्डबखानी मावि र वडा नँ ११ रिघामा रत्नलक्ष्मी मावि सञ्चालनमा रहेका छन् । खरुवा मावि ,पार्व्ति मावि ,जनहित मावि र भैरव माविमा दश कक्षा सम्म सञ्चालन भएको छ भने अन्य विद्यालयमा १२ कक्षा सम्म सञ्चालन गरिएको छ ।
सामुदायिक विद्यालय वाहेक निजि विद्यालयले समेत यहाँको शैक्षिक विकासमा टेवा पुयाएका छन् । प्रत्येक वार्डका टोलटोलमा रहेका प्राथमिक र आधारभुत विद्यालयको गलकोटको शैक्षिक विकासमा महत्वपुर्ण योगदान रहेको छ ।

गलकोट मावि हटियामा प्राविधिक धार अन्तगर्त कृर्षि विषयको समेत अध्यापन हुदै आएको छ ।
ग्रामिण भेगबाट बजार क्षेत्रमा बसाई सराई गर्ने र ग्रामिण भेगमा समेत निजी विद्यालय सञ्चालन भएको कारण सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी सँख्या घट्दो क्रममा रहेको पाईन्छ ।

पर्यटन

गलकोट नगरपालिकामा घुम्टे लेक ,घाईघाट झर्ना ,निलुवा लेक ,कोतमैदान जस्ता पर्यटकिय एवँम धामिक गन्तब्यहरु रहेका छन् ।गलकोट घुम्टे पर्यटन विकास केन्द्रको अगुवाईमा केहि पर्यटकिय गतिविधि अगाडी बढेका छन् । घुम्टे लेक सम्म जाने पर्यटकीय पदमार्ग निमार्ण संगै घुम्टे लेकमा जाने पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटकको वृद्धि संगै उनिहरुलाई खान र बस्नको सुविधा पदमार्गका नाका संगै घुम्टे धुरी सम्म न गर्न सक्ने हो भने घुम्टे लेक धार्मिक पर्यटनको प्रमुख गन्तब्य बन्ने छ । यहाँ रहेका सिद्ध भैरबको मन्दिरको संरक्षण र पर्यटकिय पुर्वाधारको विकास गर्नु पर्ने छ । घुम्टे लेक सम्म केबलकार सञ्चालन तर्फ अब अगाडी बढ्नु जरुरी छ । घुम्टे लेक संगै निलुवा, कोतमैदान, गाईघाट झरना जस्ता गलकोटका महत्वपुर्ण पर्यटकीय गन्तब्यमा पर्यटकीय पुर्वाधार निर्माण गर्न सकेमा पर्यटन मार्फत गलकोटको सँवृद्धिमा टेवा पुग्ने देखिन्छ ।

वैँकिङ तथा वित्तिय क्षेत्र
गलकोट नगरपालिकामा पछिल्लो समय बैङकहरु सञ्चालनमा आएका छन् । द्वन्दकालमा विस्थापित भएको नेपाल बैङक लिमिटेड हालचालै पुनस् स्थापना भएको छ । नेपाल बैङक सँगै कृर्षि विकास बैङक ,प्रभु बैङक ,ग्लोवल आईएमई बैङक र निर्धन उत्थान बैङकले वित्तिय कारोबार गरिरहेका छन् । बैङक संगै दर्जनौ सहकारी सँस्थाले आर्थिक क्रियाकलाप गरेका छन् ।

यस क्षेत्रमा लगानी मैत्री अवस्थाको सृजना गरी देश तथा विदेशमा काम गरेर रेमिटेन्स मार्फत देशमा भित्रिएको लगानी यस क्षेत्रमा उपयोग गर्न यस क्षेत्रमा सम्पूर्ण वुद्धिजिवीहरु, राजनीतिक दलहरु एवं नागरिक समाजले सकरात्मक भूमिका खेल्नु आवश्यक छ । यस क्षेत्रमा विशेष गरी व्यवसायिक कृषि, होटल तथा रेष्टुरेण्ट लगायतका क्षेत्रमा तत्कालै लगानी गर्न सक्ने अवस्था देखिन्छ ।

आशा गरौं ठूलो संघर्ष र उतारचढावका बीचबाट भर्खरै कार्यान्वयनमा आएको स्थानीय निकायको कार्यान्वयनसँगै यस क्षेत्रमा आर्थिक गतिविधिहरु अगाडि बढ्नेछन् र कमसेकम बागलुङ जिल्लाको नमुना नगरपालिकाको रुपमा यस नगरपालिकालाई उभ्याउन हामी सफल हुनेछौं ।

बालकृष्ण सुवेदी
२०७३ चैत १९ ।
गल्कोट हटिया

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. सुरेश छन्त्याल दर्पण

    सर्वप्रथम त सहकर्मी साथी बालकृष्ण सुवेदी लाई धन्यवाद दिन चाहान्छु।बागलुङ जिल्ला गलकाेट नगरपालिका काे विषय वस्तु र हाम्रो गाउघर अर्थात गलकाेट सबै क्षेत्रकाे विषयलाइ समावेश गरि तयार पार्नु भएकोमा हजुर र ई बागलुङ अनलाइनका प्रधान सम्पादक अादर्णिय दाजु विदुर खड्कालाई पनि धन्यवाद दिन चाहानेछु मेराे समाचार अडेट गरिदिनु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *