श्रीमतीको उपचार गर्न नसकेर श्रीमान फरार, मृतक श्रीमतीको काजकिरिया रोकियो !

प्रेम सुनार गुल्मी, २०७३ चैत १५ । गुल्मी दर्लामचौरका एक व्यक्ति विपन्नताका कारण श्रीमतीको उपचार गर्न नसकेर घरबाट फरार भएका छन् । ईस्मा गाउँपालिका अन्तर्गत साविकको दर्लामचौर ८ सेनखण्ड निवासी अन्दाजी ४० वर्षिय मंगल नेपाली श्रीमती पार्वती नेपालीको उपचार गर्न नसकेर फरार भएका हुन ।

स्थानिय समाज सेवी प्रेम भुसालका अनुसार मुटु सम्वन्धी रोगले ग्रस्त भएकी श्रीमती पार्वातीलाई जिल्ला अस्पतालले पाल्पा रिफर गरेको थियो । तर उनका श्रीमानले उपचार गर्ने खर्च नभएका कारण श्रीमतीलाई घर फर्काएका थिए ।

घरमा विरामी श्रीमतीको हेरचाह गर्नु पर्ने ठाउँमा १५ वर्षिय र ११ वर्षिय दुई छोराहरुलाई समेत संगै लगेर नेपाली चैत ९ गते फरार भएको र त्यसको दुई दिन पछि चैत १३ गते श्रीमतीको मृत्यु भएको थियो ।

भुसालले भने–‘ आज उनको मृत्यु भएको पनि पाँच दिन भई सक्यो । फरार उनका श्रीमानलाई तम्घास सम्म खोजतलास गर्न पनि गईयो । कहिँ फेला परेनन् । घरमा एक्ली पाँच वर्षकी छोरी मात्रै भएकोले हामी गाउँवासीले पालेर राखेका छौं । ’

उनको काज किरिया गर्ने कोही नभए पछि रोकिएको छ । उनको उपचारका लागि आफुहरुले गाउँमा चन्दा उठाएको तर त्यो रकमले नपुगे पछि ३० वर्षको उमेरमा उपचार पाउन नसकेर अकालमा ज्यान गुमाउनु परेको भुसालले बताए ।

गहुँगोरो वर्णका नेपाली र उनका दुई छोराहरुलाई देख्ने जो कोहीले खवर गरी दिन हुन स्थानियले अपिल गरेका छन् । आमाको मृत्यु पछि काखकी पाँच वर्षिया छोरीको विचल्लीको खवर बनाई दिन आउनका लागि समाजसेवी भुसालले पत्रकारहरुलाई अनुरोध समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *