मल्ममा जनचेतनामुलक गोष्ठी : प्रहरी र समुदाय बिचको सहकार्यमा मात्रै समाज सहि दिशा तर्फ जान्छ – प्रनाउ राणा

थम्मन थापा सन्देश, गल्कोट बागलुङ २०७५ भदौ २ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बाल नरसिंह राणालाई मल्ममा भव्य स्वागत गरिएको छ । राणा बागलुङमा प्रहरी नायव उपरीक्षकको रुपमा हालचालै सरुवा भई आएका हुन् ।

यसैबिच प्रनाउ राणाले सभ्य र शान्त बनाउन प्रहरीको मात्रै मुख ताक्ने परम्पराको अन्त्य गर्न आम समुदायको महत्वपुर्ण भुमिका हुने बताए । सामाजिक संस्था घुम्टे युवा परिवार र महिला जागरण केन्द्र गल्कोट नगरपालिका ७ मल्म बागलुङले आज आयोजना गरेको विकृति विसङगति न्यूनिकरण सम्बन्धि १ दिने जनचेतनामुलक गोष्ठीको उदघाटन पछि यस्तो बताएका हुन् । आम समुदाय सचेत बन्दै प्रहरी र समुदाय बिचको सहकार्यमा मात्रै समाज सहि दिशा तर्फ जाने राणाको भनाई छ ।

कार्यक्रममा गल्कोट नगरपालिका वडा नं ७ का वडा सदस्य मिना दर्जी र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सम्पादक राम बहादुर जिसीले शुभकामना मन्तव्य राखेका थिए ।

गोष्ठीमा गल्कोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला समुहहरुका प्रतिनिधीहरु स्थानिय गरि सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।

गोष्ठीको प्रहरी नायव उपरिक्षक राणा, जिल्ला प्रहरी कार्यालय बागलुङका महिला तथा बालबालिका प्रमुख अनु राई र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सम्पादक राम बहादुर जिसीले सहजीकरण गरेका थिए।

गोष्ठीमा मादक पदार्थ सेवन, अपराध न्यूनिकरण, लागु औषध दुर्व्यसनी न्यूनिकरण, समाजमा महिलाको नेतृत्वदायी भुमिका, महिला हिंसा, व्यावसायिमा जोडिदै आर्थिक सम्वृद्धि र स्वस्थ रहन स्थानिय उत्पादनको प्रयोग तथा व्यावसायिक बिक्री लगायतको विषयमा सहजीकरण गरिएको थियो ।

जनचेतनामुलक गोष्ठी महिला जागरण केन्द्र गल्कोट नगरपालिका ७ मल्मका अध्यक्ष ललिता थापाको अध्यक्षता, केन्द्रका कोषाध्यक्ष मिरा खडकाको स्वागत र घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देश र केन्द्रका सचिव सरस्वति केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *