कुस्मामा नागरिक सुनुवाई, निष्पक्ष भएर कार्यसम्पादन गर्न नागरिकको सुझाब !
प्रहरीसंग मिलेर अपराधमुक्त नगर बनाउने अभियानमा हातोमालो गर्न कुस्मा नगरपालिका तयार !

निर्मल पौडेल, पर्वत २०७५ भदौ १ । प्रहरी लाई निष्पक्ष भएर काम गर्न नागरिकहरुले सुझाव दिएका छन् । गैरकानुनी कार्यको अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीको जिम्मेवारी वोध गरेर कार्य गर्न कुस्मामा आयोजित एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका हुन् ।

पर्वत उद्दोग वाणिज्य संघको सभाहलमा जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक सेवा समाज पर्वतले आयोजना गरेको कार्यक्रममा समाजमा शान्ति सुरक्षा कायम गर्ने दायित्व बोकेको प्रहरीले आग्रह बोकेर कार्यसम्पादन गर्दा कतिपय निर्दोष नागरिक सजाय पाइरहेकोले अपराधको निष्पक्ष अनुसन्धान गर्दा दोषी उम्कन नपाउने तथा निर्दोषले सजाय भोग्नुपर्ने अवस्था अन्त्य हुने सुझाब दिएका थिए ।

प्रहरीले जुवातास नियन्त्रण, घरेलु मदिरा नियन्त्रण जस्ता नियमित अभियान मात्रै सञ्चालन नगरि लागु औषधको सबैभन्दा ठुलो ट्रान्जिट पर्वत बन्दै गएकाले यसलाई रोक्न बिशेष अप्रेशन चलाउन आग्रह पनि गरेका थिए । म्याग्दी, बागलुङ, रुकुम लगायतका क्षेत्रमा उत्पादन हुने लागु औषध पर्वत हुँदै बाहिरीने गरेपनि पक्राउ पर्ने संख्या अत्यन्त न्युन रहेको छ ।

कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीले निष्पक्ष भएर कार्य सम्पादन गर्नुपर्ने सुझाब दिदै अपराधको सही ढंगले अनुसन्धान गर्न आग्रह गरे । उनले कुस्मा नगरपालिका प्रहरीसंग मिलेर शान्ति सुरक्षा कायम गर्ने र अपराधमुक्त नगर बनाउने अभियानमा हातोमालो गर्न तयार रहेको चर्चा गर्दै कुस्माका सिसीटिभी ब्यबस्थापनमा नगरपालिकाले सहयोग गर्ने आश्वासन दिए ।

कुस्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले महिला हिंसाका घटना बढेका कारण जनचेतना जगाउन तथा पिडकलाई काबार्हीको दायरामा ल्याउन प्रहरी सक्रियताको खाँचो औल्याईन ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नागरिक र प्रहरीको सहकार्य बिना शान्ति सुरक्षा र अमनचयन कायम गर्न असम्भब भएको चर्चा गर्दै सहकार्य गरेर प्रहरी अघि बढ्ने बिश्वास दिलाए । उनले बिपदका बेला उद्दार र राहत कार्यमा स्थानियबासी तह र नागरिकको सहयोग सबैभन्दा बढी आवश्यक हुने बताउँदै बिगतमा जस्तै सहयोग र सक्रियताको अपेक्षा राखेको बताए ।

नागरिकका प्रश्नको जवाफ दिदै प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले प्रहरीले निष्पक्ष भएर कार्य सम्पादन गर्ने उल्लेख गर्दै गुणस्तरीय प्रहरी सेवा र अपराध विरुद्ध शुन्य सहनशिलताको निती अबलम्बन गरिने जानकारी दिए ।

फरार अपराधी पक्राउ एवम् हराएका बालबालिका तथा महिलाको खोजी अभियान यस अबधीमा चलाउने चर्चा गर्दै प्रनाउ तिवारीले प्रहरी कार्य र अपराध अनुसन्धानमा वैज्ञानिक साधनको प्रयोग बढाउने र ट्राफिक व्यवस्थापन चुस्त बनाइने आश्वासन दिए । उनले लागु औषध, मादक पदार्थ, महिला हिंसा, घरेलु हिंसाका विरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने पर्वतमा सञ्चालित बिकास आयोजनाको सुरक्षामा ध्यान दिइने बताए ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधी मिनराज केसी अबिरल, नेपाली कांग्रेसका जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, सामुदायिक सेवा समाज पर्वतका अध्यक्ष शिब शर्मा पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल, दुर्गाप्रसाद शर्मा, गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष सुन्दरप्रसाद जोशी, पत्रकार सरस्वती शर्मा जिज्ञासु लगायतले सुझाब र आफ्ना धारणा राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *