बतासे खोलाबाट आएको भलबाढीले सिमसार टोलका बासिन्दा भागाभाग !
निसीखोला- ३ धुर्सौलामा पहिरोले मान बहादुर शाहीको घर पुरिदा सासू बुहारी बेपत्ता !

सुमन सुनार,बुर्तिबाङ २०७५ साउन ३० । गएरातिको अबिरल वर्षाका कारण निसीखोला गाउपालिका ३ धुर्सौलामा मानबहादुर शाहीको घर पहिरोले पुरिदा घरमा रहेका उनकी ६५ वर्षिया श्रीमती धन (दिल)कुमारी शाही र ३५ वर्षिया बुहारी डल्ली शाही सम्पर्कविहीन रहेका छन् । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दिएको जानकारी अनुसार ५ वर्षिय बिनोद शाही भने उछिट्टिएर बाँच्न सफल भएका छन् ।

घटना स्थलमा प्रहरी र स्थानीयहरुबाट उद्धार कार्य भैरहेको र बिहूँ घोँडाबाधेबाट नेपाली सेना, अर्जुनबाण गणको २५ जनाको टोली उद्धारकालागि मुभ भैसकेको पनि प्रजिअ खरेलले ईबागलुङलाई बताए ।

मान बहादुर शाही गोठ गएको हुँदा उनिसंग सम्पर्क स्थापित गर्ने प्रयास भैरहेको जानकारी दिँदै प्रजिअ खरेलले अहिले प्रहरी सहितको उद्धार टोलीले निजकी श्रीमती धनकुमारी र बुहारी डल्लीको खोजीमा लागेको बताए । निजहरु पहिरोमा पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

यसैवीच प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको ठाडो खोल्सा तथा बतासे खोलामा गए राति भलबाढी आउँदा बुर्तिबाङ बजारको सिमसार टोलका स्थानियलाई भागभाग बनाएको छ ।

हिजो साँझबाट परेको अविरल बर्षासंगै राती करिव ११ बजेको समयमा बतासे खोलामा बाढी आउन सुरु गरेपछि सिमसार टोलका बासिन्दा भागाभाग भएका हुन । बाढी आउन सुरु गरेको केहि समयमा नै प्राथमिक स्वास्थ्य केन्द्र नजिकै तथा सिमसार टोलमा रहेको हामी तिन भाई फर्निचर उद्योगमा बाढी भल पसेपछि स्थानिय उक्त बाढी नियन्त्रण कार्यमा जुटेका थिए । बाढीले कुनै मानवीय क्षती भने गरेको छैन । तर हामी तिनभाई फर्निचर उद्योग, सोही फर्निचर उद्योग संचालक बस्ने एक तले टिनको घर र ट्वाईलेटमा आंशिक क्षती पु¥याएको छ । यस्तै उत्तरगंगा माध्यमिक विद्यालय र घमसिन टोलका बासिन्दा आवजावत गर्ने बाटो बाढीले खोलेर ठुलो खोल्सो बनाएको छ ।
फर्निचर सहित तलका बस्तीहरुमा थप क्षती हुन नदिन स्थानीयवासी तत्काल बाढी नियन्त्रण तथा ब्यवस्थापनमा जुटेका थिए । स्थानिय बासिन्दा रातभर जागाराम बसेर कुटो, कोदाले, गैची बेल्चा लिएर बाढीले बगाएर ल्याएका ढुंगा, गग्रेटा, माटो पन्छ्याउने कार्यमा लागेका थिए ।

स्थानिय मिलन विश्वकर्माका अनुसार “तत्काल स्थानिय बासिन्दा भलबाढी नियन्त्रणमा नजुटेको भए, तिनभाई फर्निचर उद्योगबाट पसेको भलबाढीले तलका बस्तिहरुमा ठुलो क्षती पु¥याउने थियो । यस्तो आपत विपतको समयमा सबै एकजुट भएर संभावित जोखिम न्युनिकरण र विपत्त ब्यवस्थापनमा जुट्न आवश्यक रहेको उनको भनाई छ ।

उक्त खोल्सामा यसरी पटक–पटक आइरहने भलबाढीले सिमसार टोलका स्थानियलाई सास्ती बेहोर्नु परेको त छ नै, त्यहाँका बस्ती नै बाढीको उच्च जाखिममा रहेको छ ।

गत साउन १ गते राती आएको बाढीका कारण उक्त टोलका ४४ घरपरिवार प्रभावित भएका थिए । जस मध्य ६ घरपरिवार पुर्णरुपमा विस्थापित हुनुपरेको थियो ।

यसैवीच सहकर्मी राजु आचार्यले दिएको जानकारी अनुसार गए राति परेको मुसलधारे पानीले मध्यपहाडी लोकमार्गको बुर्तिवाङ देखी निसी बोहोरागाउ, भल्कोट हुँदै रुकुम खण्ड अवरुद्ध बनेको छ । साना ठुला कुनैपनि सवारी साधन चलेका छैनन् ।

सहकर्मी दीपक पराजुलीले दिएको जानकारी अनुसार बुर्तिवाङ बजार नजिकै बडीगाड खोलामा निर्माणाधीन मोटरेबल पुलमा पनि बडीगाड खोलाको बाढीले छोएको अवस्था छ । बडीगाड खोलामा पानीको बहाव बढ्दै गएमा पुलपनि उच्च जोखिममा पर्न सक्ने अवस्था छ ।

सहकर्मी झरना कँडेलले दिएको जानकारी अनुसार गएराति देखी आएको अबिरल वर्षाले निसीखोला गाउपालिका २ तल्लो बाँग्रेमा नरबहादुर घर्तीको दुईतल्ले घर भत्काएको छ भने काँल्ने चौर यमबहादुर कुँवरको दुईतला भएको घर भत्काएको छ ।

अबिरल वर्षाकै कारण भूजी खोलामा आएको बाढीले भूजीखोला लघु जलविद्युत आयोजनाको कुलो मुहान देखी ७ किलो मिटर तलसम्म बगाएको छ ।

भीषण वर्षा कै कारण बुर्तिवाङ नजिकै खल्तुबोट र भीङगिठेको सिस्नेरीमा पहिरो गएर यातायात अबरुद्ध बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *