उद्घोषण तालिम सम्पन्न : पत्रकारिता जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्न आवश्यक – नगरप्रमुख पौडेल

बागलुङ २०७५ साउन २९ । धौलागिरीको पहिलो रेडियो धौलागिरी एफएम ९८.६ मेगाहर्ज बागलुङले आयोजना गरेको १० दिने रेडियो उद्घोषण, पत्रकारिता तथा प्राविधिक तालिम मंगलबार सकिएको छ ।

गत साउन १९ गतेदेखी सञ्चालित तालिममा सार्वजनिक उद्घोषण, रेडियो कार्यक्रम सञ्चालन, समाचार लेखन, बाचन, प्राविधिक जानकारी, पत्रकार रेडियोकर्मीले अब खेल्ने भुमिका लगायतका बिषयमा सैद्धान्तिक एवम् व्यवहारिक अभ्यास मार्फत प्रशिक्षार्थी सहभागीलाई जानकारी दिइएको थियो ।

तालिम सकिए पछि सहभागीले १० दिनको तालिमबाट आँफुहरुले ठुलो उत्साह, उर्जा र ज्ञान हासिल गरेको प्रतिक्रिया दिएका छन् । तालिम अवधिमा प्रत्येक दिन फरक फरक व्यक्तिबाट दिइएको प्रशिक्षणले परिचय दिन समेत कठिन मान्ने गरेका सहभागीले आँफुहरुमा तालिम पश्चात आत्मबिश्वास पैदा भएको बताएका छन् ।

तालिम समापन अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले पत्रकारिता जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्न आवश्यक भएको बताए ।

पत्रकारिता संचारको अति संवेदनशील र महत्वपूर्ण साधन भएको उल्लेख गर्दै उनले पत्रकारिता मार्फत समाज रुपान्तरण र समृद्धिको अभियानमा ठुलो टेवा पु¥याउन सकिने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे ।

‘समृद्धिको लागि सहकार्य अनिवार्य छ’ मेयर पौडेलले भने, जिम्मेवार पत्रकारिता मार्फत समाजलाई जवाफदेही र कर्तव्यनिष्ठ बनाउन सकिन्छ ।’ रेडियोले अब आफ्नो प्रस्तुतिकरण, बिषय, शैली र सिर्जनशिलतामा फरक देखाउनुपर्नेमा उनको जोड थियो ।

धौलागिरी एफएम आञ्चलिक हिसावले पनि अग्रणी रेडियो भएकाले यसले खेल्ने भुमिका अरुका लागि पनि प्रेरणादायक हुने भएकाले सोही अनुसार भुमिका खेल्न आग्रह गरे ।

धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमले जिल्लामा पत्रकारितामा आकर्षण घटिरहेको चर्चा र बहसका बिच धौलागिरी एफएमको तालिममा युवाहरुको सहभागिताले पत्रकारिता क्षेत्रमा फेरी युवा पुस्ताको आकर्षण साठीको दशकको जस्तै हुन थालेको बताए । सीमित व्यक्तिको नभई धौलागिरीबासी नागरिक सबैको अपनत्व हुने गरि रेडियोलाई अघि बढाउन लागिएकाले हरेक नागरिकलाई तिव्र विकास हुँदै गरेको प्रविधि र तालिमहरु मार्फत जोड्न थालेको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति धौलागिरीका पूर्व प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टीका युवा नेता लालबहादुर थापा, धौलागिरी एफएमका स्टेशन म्यानेजर दिल शिरीष, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, महासंघका गण्डकी प्रदेश सदस्य संगम घर्ती मगर, सल्लाहकार कोपिला कँडेल, सहभागीका तर्फबाट बलबहादुर रोका र ज्योति सापकोटाले बोलेका थिए ।

समापन कार्यक्रम धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता र कार्यकारी सम्पादक नवीन शिशिरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *