Menu

प्रेम सुनारको टिप्पणी : घरेलु मदिरा पिउँदै पनि, फाल्दै पनि …. !

प्रेम सुनार

समुदाय र संस्कार, आ–आफ्ना देशका परम्परा, उत्पादन र परिकार संरक्षण गरिनु पर्छ भनिन्छ र होमस्टे मार्फत आन्तरिक र बाह्य पर्यटक भित्राउने प्रयास पनि भई रहेको छ । भक्तपुर लगायत राजधानीका विभिन्न शहरहरुमा जाँदा नेवार समुदायको ‘वासा’ जुन घरेलु मदिरा नै हो । पुर्व युवराजव्दय दिपेन्द्र शाह, पारश शाह लगायतले पनि त्यहाँ पुगेर पिउँथे भन्ने समाचार पनि पढिन्थ्यो । अहिले पनि त्यो समुदायको भोज–भतेरमा पुग्दा जुन कोही निम्तालुले पिउने गर्दछन । जसलाई प्रसादका रुपमा पनि लिईन्छ ।

यस्तै हिमाल पहाड तराईका जिल्लाहरुमा पनि विभिन्न समुदायले त्यस्तै घरेलु मदिरा पिउने मात्र गर्दैनन परम्परा अनुसार देवतालाई चढाउने समेत गर्दछन । साँच्ची भन्ने हो भने परम्परा देखि अहिले सम्म कुनै समुदाय त्यसमा पनि गरिव विपन्नहरुको आय आर्जनको गतिलो माध्यम भनेको घरेलु मदिरा उत्पादन बन्दै आएको अर्थात हामी सवैका सामु छर्लङ्ग छ । कतिले त अन्न बेसाएर, अर्थात अरुकोमा खोजेर, ऋण–धन गरेर त्यस्तो ब्यवसाय गर्ने गर्दछन ।

जसलाई देशको कानुनले अवैध भनेको छ । तर त्यो भन्दा अवैध र मानिसको स्वास्थ्यमा गम्भीर असर पुराउने कम गुणस्तरको केमिकल युक्त सिल्डप्याक मदिराहरु रहेका छन । त्यसमा कसैको दुई मत नहोला । कुनै समय प्लाष्टिकको पोकोमा शहर देखि गाउँ गाउँ सम्म बेचिने पौचले बैधानिकता पायो ।

सस्तो मुल्य, जहाँ पनि र जति वेला पनि छ्याप्छ्प्ती पाईने । अझ ठुलो संख्यामा त्यसलाई बेच्ने लाईसेन्स पनि नभएकाहरु । उनिहरु प्रति प्रहरीका नजर पुग्दैन । प्रहरी कार्यालय अगाडी जाँड भट्टीहरु छन । रातको १२ वजे सम्म प्रहरी नै जाँड खाएर बसेको तितो अर्थात सवै सामु छर्लङ्ग छ ।

जहाँ राजनैतिककर्मी, पत्रकार, वकिल, समाजका अगुवाहरु पनि एक आपसमा गफ हाँक्दै पिउँछन । अझ आजकल त अर्गानिक खानको फेशन भन्दा पनि रुची बढेको छ । सदरमुकामका तिनै मान्छे छन जसले गाउँबाट कोदो मगाउँछन । तिनपानेको हवला दिदै त्यही घरेलु मदिरा मगाउँछन, पिउँछन ।

सदरमुकाम देखि गाउँ गाउँ सम्मका ठुला बडाहरु विदाको दिन वा फुर्शद निकालेर जनजाती वस्तीहरुमा पस्छन । लौ आज त आटो–डिढो खाने, लोकल कुखराको मासु संग लोकल रक्सी पिउने भन्छन । गुल्मी कुर्घाको स्वाँरामा गुरुङ्ग वस्ती छ । जहाँ होमस्टे सञ्चालन गरिएको छ । त्यहाँ पुग्दा त्यस समुदायले सगुनका रुपमा अतिथीलाई टक्राउने भनेकै कुखराको भाले र त्यही मदिरा हो ।

कैयौ राजनैतिककर्मी र अन्य सरोकारवाला निकायका ठुला बडा पुग्छन । पिउने वानी परेकाहरुले चेस्… भन्दै खुलेआम दलानमा बसेर पिउँछन । पिउने बानी नपरेकाहरुले स्वागत भन्दै समर्थन जनाउँ छन । बडो रमाईलो गर्छन । रक्सी मात्रै होईन कोदाको भुरे जाँड छ भनेर समेत सोध्छन र पाए खान्छन ।

अब केहि दिन पछि गुल्मी कै हाडहाडेको जनजाती बस्तीमा होमस्टे सञ्चालन गरिदै छ । त्यहाँ पनि अर्गानिक खानका रुपमा अन्य परिकार झै त्यही घरेलु मदिरा नै सगुन टक्राईदै छ । गोरखाको घलेगाउँमा पुगियो त्यहाँ पनि त्यही घरेलु मदिरा नै खुवाईदो रहेछ । ठुलै बढा भनाउँदाहरु नै लोकल कुखरा संग लोकल रक्सीमा मात्न असाद्धै शौखिन हुँदा रहेछन ।

देशका अन्य होमस्टेहरुमा पनि पुगियो त्यहाँ पनि घरेलु मदिरा सगुन कै रुपमा टक्राईदो रहेछ । एकातिर घरेलु उत्पादन बढवा दिने भनिएको छ । जहाँ जे उत्पादन र परम्परा, संस्कृति र संस्कार छ त्यसैलाई अर्गानिक भनिन्छ । आदिवासी जनजातीहरुको संस्कार पहिचानका रुपमा रहेको घरेलु मदिरामा आँखा तर्ने र पिउने पनि कुनै एक समुदाय रहेको आरोप पनि लगाउँदै आएका छन दलित जनजाती समुदायले ।

ती समुदायका आफ्नै संस्कृत र संस्कारमा किन वर्षौं अघि देखि पटक पटक प्रहार हुँदै आएको छ ? नेवार समुदायको भोज भतेरमा हिजोका राजा महाराज देखि अहिलेका राज्य सञ्चालन कर्ताहरु नै वासा अर्थात घरेलु मदिरा पिउँनेहरुले पिउँदै आएका छन भने राजधानी बाहिरको त्यही घरेलु मदिरा किन अवैध मानिन्छ ? भनेर सवाल उठाउनेहरु पनि छन ।

घरेलु मदिरा पिय मात्र घरेलु हिँशा बढ्ने होईन । मदिरा त मादक पदार्थ हो, चाहे घरेलु होस् चाहे कुनै ब्राण्डेट होस् । ब्राण्डेट मदिरा पिउनेहरुबाट पनि हिंशाका घटनाहरु हुन्छन र भएका छन् । त्यसैले घरेलु मदिरा वा रक्सी पिउदैमा हिँशा हुन्छ भन्ने गलत सोँचाईलाई दिमागबाट हटाउनु जरुरी छ । घरेलु मदिरालाई हिँशाको पर्यायबाची बनाउन खोज्नु हाम्रो परम्परामाथी बज्रप्रहार हो ।

यसको मतलव खरेलु मदिरा उत्पादनलाई बढवा दिन खोजेको होईन, तितो यथार्थ उजागार गर्न खोजेको हो । सकिन्छ भने सवै भन्दा पहिला कम गुणस्तरको सिल्डप्याक मदिरा नियन्त्रण गरौं । विशेष गरी ग्रामिण क्षेत्रमा त्यस्तै मदिराले धेरै मान्छेको ज्यान लिएको छ । घरेलु मदिरा पिउँदै आएका जनजाती समुदायका मानिसहरुलाई हेरौ, हिष्टपुष्ट र राता पिराउँदा र बुढेशकाल लागे पनि ठिटा जस्ता देखिने उनै छन ।

विहानमा एक बटुको जाँडा खाएर दाउरा घाँस जाने उनिहरु १२ वजे सम्म खान नखाए पनि भोकाउँदैनन । नितान्त आफ्नै हातले उत्पादन गरेको घरयासी खानपिन हो त्यो । राजधानी जस्तो ठाउँ, छ्याप्छ्याप्ती नेवार समुदायको वासा पाईन्छ । सुरक्षा निकाय देखि सवै खाले मान्छेहरु दिनै रातै पिएर बसेका छन ।

जसलाई देशैभर नियन्त्रण गर्ने हो भने पहिला राजधानीको वासाबाट सुरु गरौं । त्यो वासा पनि अन्न्न र मर्चाबाटै उत्पादन भएको घरेलु मदिरा हो भने अन्य हिमाल, पहाड र तराईमा बनाईने पनि त्यसरी नै उत्पादन हुने पेय पदार्थ हो । यस घरेलु उत्पादनलाई वैधानिकता दिन सके, ब्यवस्थीत र गुणस्तर मापनको ब्यवस्था मिलाउन सके एकातिर अन्न उव्जनी बढ्ने र अर्को तिर घरेलु उद्योग फस्टाउने पनि देखिन्छ ।

हामी हाम्रो परम्परागत उत्पादनलाई निरुसाहित गर्दै विदेशी उत्पादनलाई प्रोत्साहन गरी रहेका छौं । यस प्रति राज्यको नीति निर्माणकर्ताहरुले विश्लेषण गरेर नयाँ अवधारणा ल्याउने कि ? गजवको कुरा त के छ भने आफ्नै गेट अगाडीको घरेलु मदिरा पसलमा छ्याप्छ्प्ती घरेलु मदिरा बेचिरहेको देख्ने तिनै प्रहरीले अलिपर गएर छापा मार्छ । त्यो पनि सधै होईन । प्राय धेरै जसो जुन सुकै जिल्लामा नयाँ प्रहरी प्रमुख आउने ताका ।

यो पंक्तिकारको झुटा आरोप पनि हो जस्तो लाग्ला । तर ख्याल गर्नु होला प्राय: हरेक जिल्लामा त्यस्तै हुने गरेको छ । त्यस्तो छापा त्यहाँ मारिन्छ जहाँ झुपडीवाला छन । ठुला घरानमा प्रहरीको ध्यान प्राय: गएको देखिन्न । छापा मार्ने भए सवै तिर मारौं र सधै मारौं तर प्रहरी प्रमुखका आगमन ताका मार्नु भनेको नयाँ जोगीले धेरै खरानी धस्नु जस्तै हो ।

गुल्मी, २०७५ साउन २७ ।

टिप्पणीकार ईबागलुङका सम्पादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *