Menu

उत्तरगंगा माबि बुर्तिवाङमा एसईई पुरक परीक्षा :
केन्द्राध्यक्ष पौडेलले आफ्नो पार्टी निकटका शिक्षकहरुको मात्र परीक्षा सञ्चालन टिम बनाए !

बुर्तिवाङ, २०७५ साउन २३ । आजदेखि संचालन हुने २०७४ सालको एस.ई.ई ग्रेडबृद्धि (पुरक परीक्षा) मा उत्तरगंगा मा.वि. परीक्षा केन्द्रमा बागलुङ पश्चिम क्षेत्रका २७ विद्यालयका १५ सय २८ जना परीक्षार्थीहरु सहभागी छन् । परीक्षाको आज पहिलो दिन अँग्रेजी विषयमा भने २ सय ९९ जना विद्यार्थीहरु सहभागी भएको केन्द्राध्यक्ष इश्वरी प्रसाद पौडेलले जानाकारी दिए । परीक्षाको तेस्रो दिन गणित विषयमा सबैभन्दा बढी ६ सय ३५ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने छन् ।

उत्तरगंगा मा.वि.को प्र.अ. विवादमा सधैजसो चर्चामा आउने इश्वरी प्रसाद पौडेलले पछिल्लो समयमा विद्यालयको निमित्त प्र.अ.को जिम्मेवारी आफूले सम्हालेपछि विद्यालय सञ्चालनदेखि परीक्षा संचालनसम्म एकलौटी र निरङ्कुश शैली अपनाउँदै गएको अधिकांश शिक्षक स्टाफहरुको आरोप छ । यस पटकको एस.ई.ई. पुरक परीक्षा संचालन टिममा पनि पौडेलले आफ्नो पार्टी निकटका शिक्षक स्टाफलाई मात्र राखेर परीक्षा संचालन टिम बनाएपछि बाहिर चर्चामा आएका छन् । परीक्षालाई मर्यादित बनाउनका लागि के कसरी संचालन गर्ने र जिम्मेवारी बाँडफाँड कसरी गर्ने भन्ने विषयमा भने अन्य शिक्षक स्टाफसँग कुनै छलफल र सोधपुछ समेत नगरेको विद्यालयका एक शिक्षकले बताए ।

उनले सहायक केन्द्राध्यक्षदेखि परीक्षामा गार्ड बस्ने निरीक्षक र कार्यालय सहयोगी सम्म आफ्नो पार्टी निकटका व्यक्तिहरुलाई मात्र राखेपछि यतिबेला बाहिर चर्चा परिचर्चा चलेको छ । अँग्रेजी, गणित र विज्ञान विषयको दिन भने विद्यार्थी धेरै हुने भएको र निरीक्षक पनि सोही अनुपातमा आवश्यक पर्ने भएकाले ती विषयका दिनमा आफू निकटका शिक्षकले नपुग्ने भएपछि प्रा.वि. तहका अन्य शिक्षकहरुलाई परीक्षामा गार्ड बसिदिनका लागि हारगुहार गरेको विद्यालयको एक स्रोतले बताएको छ । विगतका दिनमा बागलुङ, हटिया, बुर्तिबाङ लगायतका परीक्षा केन्द्रहरुमा आफ्नै विद्यार्थीलाई चिट चोराएको आरोपमा व्यापक चर्चा कमाएका कतिपय शिक्षकहरुलाई समेत उनले आफ्नो टिममा समेट्न छुटाएका छैनन् ।

निमित्त प्र.अ.को जिम्मेवारी सम्हालेपछि पौडेलले पहिलो पटक गत सोमबार विद्यालयमा जबरजस्ती स्टाफ बैठक राख्ने कोशिस गरेपनि बैठकमा बहुमत शिक्षक स्टाफ उनको विपक्षमा उभिएर उपस्थितिमा समेत हस्ताक्षर नगरे पछि बैठकले पूर्णता पाउन सकेको थिएन । तर पनि आफू निकटका शिक्षकहरुको उपस्थिति उठाई केही निर्णयहरु जबरजस्ती गराएका थिए । बहुमत शिक्षकहरुले भने पौडेललाई पार्टी र नगरपालिकाको इसाराबाट विद्यालय प्रशासन चलाउने दुष्शाहस गरेको आरोप लगाएका थिए ।

विद्याालयको समग्र विकास र निकासको लागि आम सरोकारवाला निकाय, राजनीतिक दल, शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी लगायत सबैको व्यापक छलफल र साझा सहमतीबाट मात्र अघि बढ्नु पर्ने उनीहरुले बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *