Menu

एउटा यस्तो अभियन्ता, जसले यसरी सुधा-यो गाउँ !

प्रेम सुनार, गुल्मी २०७५ साउन १६ । आज भन्दा करिव दुई दशक अघि सम्म अरु समुदायबाट ‘खाई पिई गरेरै सकिएका मगरहरुको उपमा पाएको गाउँ हो त्यो । घरमा खाने खर्च नभएर तिन चार दिन सम्मको बाटो हिडेर गाउँ गाउँमा बेसाह ( अन्न ) खोज्न जाने गर्दथे । हुन त भारतीय सेनाका लाहुरेहरु पनि थिए तर खाई पिई गरेरै जोरजाम नगर्ने गरेका थिए ।

स–साना खरका झुपडी, ती झुपडीहरुमा दैनिक जसो रक्सीका वाहन बसालिन्थ्यो । विहानै देखि रक्सीले मातेर टिल हुन्थे पुरुषहरु । घर घरमा सुँगुर । बाटा देखि घरको दलान सम्म सुँगुरको दिशाले अरु समुदायलाई पाईलो हाल्न गाह्रो हुन्थ्यो ।

अझ यो वर्षायाममा त व्राम्ह्ण र क्षेत्री समुदाय खेतला खोज्न समेत जान घिनाउँथे । यो कथा हो हालको मुसिकोट नगरपालिका वडा नम्वर ४ दजाकोट गाउँको । स्थानियले तल्ला गाउँ भन्ने दजाकोट एकाधा वाहेक पुरै मगर समुदाय रहेको गाउँ हो ।

जुन गाउँमा एउटा छोरा यस्तो जन्मिए । जसले उच्च शिक्षा अध्यान गरी स्थानिय विद्यालयमा पढाउन थाले । त्यस गाउँको फोहर, असचेत मानिसहरु र खर्चिलो बानी ब्यवहार प्रति उनि चिन्तीत हुन थाले । उनिहरुलाई संगठित र सु–सुचित गर्न उनलाई गाह्रो थियो ।

यसो गरौं उसो गरौं भनेर उनले सम्झाउँदा निकै बाठो हुन्छ भनेर उनलाई कुटन समेत कसिन्थे । तर उनि २०५१ सालमा आएर गाउँवासीलाई संगठित गर्न सफल भए । उनले त्यस वर्ष गाउँ सुधार समिति गठन गर्न सफल भए ।
पहिला घर घरका सुँघुर विस्थापति गर्ने अभियानमा लागे । गाउँवासीको त्यही सुँगुर घरेलु मदिरा मुख्य आय आर्जनको माध्यम थियो । जसलाई विस्थापित गर्न उनलाई ठुलै चुनौती आई प¥यो ।

खल्तीमा पैसा भयो कि रक्सीमा । लाहुरे घर आयो कि जुगा तास, खानपिन र अनेक भड्काँईमा यस्तै चल्दै थियो त्यति वेला सम्म त्यस गाउँमा । छन्त्यालले त्यसरी खर्च हुने पैसा प्रत्येक घरधुरीबाट बचत संकलन अभियान चलाए ।

जति वेला यसले उठाएर खान लाग्यो भन्ने आरोप पनि उनले खेप्नु प¥यो । बचत संकलन संगै सुँगुर विस्थापित र बाख्रा पालन अभियान सुरु गरे । पछिल्लो दुई दशक देखि हाल सम्म त्यस गाउँ सुधारका अभियान्त हुन हरिप्रसाद छन्त्याल ।

उनै ब्यक्ति थिए जति वेला राज्य र यस जिल्लाले समेत खुल्ला दिशामुक्त गाउँको परिकल्पना गर्न सकेको थिएन । उनले त्यस गाउँलाई २०५१ साल मै खुल्ला दिशामुक्त गाउँ घोषणा गरेर देखाई दिए ।

स्थानिय पशुपति निम्न माध्यामिक विद्यालयका प्रधानध्यापकको जागिर छाडेर हाल उनि त्यस नगरपालिका कार्य समतिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक छन उनि । ८५ घरधुरी मध्ये ५८ वटा अव्यवस्थीत घर , गोठ र शौचालय ब्यबस्थीत घर , गोठ र शौचालय निर्माण कार्य सकाए ।

लामो प्रयास पछि गाउँमा आएको सुधारले छन्त्याल र उनका सहयोगी अभियान्तहरु सुखत क्षणमा थिए । दुर्भाग्य २०७३ बैशाख १८ गते भिषण आगोलागी भयो त्यस गाउँ नजिकैको जंगलमा ।

अकल्पनिय रुपमा आगो पस्यो त्यस गाउँमा । ५७ वटा घर र त्यतिनै मात्रमा गोठहरु जलेर त्यो गाउँ भग्नावशेष जस्तै बन्यो । सयौं चौपाय र चराचुरुङ्गी मरे । एक जनाको जलेर ज्यान गयो । करोडौंको क्षति भयो । त्यति बेलाको विपदलाई यहाँका सञ्चारकर्मीहरुले संसारभर पुराए । एक पछि अर्को हुँदै सहयोग ओईरिन थाल्यो ।

अहिले सम्म १ करोड ८२ लाख सहयोग भई सकेको छन्त्याल बताउँ छन । जापानको हिरोसिमामा जस्तै अहिले फेरी शुन्यबाटै त्यस गाउँको बिकासमा उनि सक्रिय छन । त्यस आगोलागी पछि नमुना घर गोठ र शौचालय धमाधम बन्दैछ ।

तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेत, हालका श्रम रोजगार मन्त्री गोकर्ण विष्ट, तत्कालिन सांसद चन्द्र भण्डारी लगायतका नेताहरु पुगे त्यति वेला । मन्त्री बस्नेतले पानीको अभावकै कारण ति घरहरु जल्नबाट बचाउन नसकिएको बुझेर सरकारको तर्फबाट त्यहाँ लिफ्टीङ्ग सिष्टम खानेपानी योजना घोषणा गरेर गए ।

तत्कालिन सांसद बिष्टले अस्थाई वसोवास छाउने जस्तापाता, खाने पकाउने भाँडा कुँडा उपल्ब्ध गराए । प्रत्येक राजनैतिक दलका युवाहरु महिनौ त्यही शिविर राखेर वसोवास निर्माण र सामुहिक भोजन गराए । कैयौं संघ संस्था ब्यक्तिले त्यस गाउँलाई प्रयाप्त जिन्सी समेत प्रदान गरे । पश्मिमा आगो लाग्दा पुर्वि नेपाल पनि सहयोगका लागि ओईरिएर नेपालीपनको अपन्त्वको उदाहरण दिएको गाउँ बन्यो दजाकोट ।

घर घरमा कम्ती पाँच वटा बाख्रा अनियवार्य पारिदा अहिले त्यहाँका हरेक घरधुरी आत्मानिर्भर भएका छन । । शिक्षित हुनेको संख्या पनि बढ्दो छ । घर घरमा टेलिभिजन र ईन्टरनेट चलाईन्छ । प्राय धेरैले मोटर साईकल सुविधा लिएका छन । सदरमुकामबाट त्य गाउँ सम्मै यातायातको सुविधा छ ।

अहिले स्थानिय तहको निर्वाचन पछि मात्र न्यायिक समितिको परिकल्पना बाहिर आयो तर त्यस दजाकोट गाउँमा आज भन्दा २५ वर्ष अघि देखि नै गाउँ मै अदालत थियो । कुनै समय दजाकोटका झगडालु मगरको उपमा समेत पाएका दजाकोटेहरु जुन ठाउँमा रामरमिता भयो त्यही ठाउँमा अरु गाउँका मानिसहरु कुटेर आउँथे । एक जनाले कुट्न थाल्यो कि सवै जना दजाकोटेहरु ओईरिन्थे ।

हातहातमा लाठी बोकेर रामरमितामा आउने गरे पछि धेरै जसो गाउँका मानिसहरु उनिहरु संग डराउँथे । त्यो दादागिरी नियन्त्रण गर्न छन्त्याल र उनक सहयोगीहरुलाई निकै गाह्रो भयो । विस्तारै प्रशिक्षित गर्दै गए ।

झगडा गर्नेहरुलाई तह लगाउन २०५१ साल मै न्यायिक समिति गठन गरियो । त्यसले जनअदालतको काम गर्दै आयो । कोही कसैबाट कुटिए धमाधम कार्वाही गरियो । अहिले पुर्णतः शान्त र सभ्य गाउँ बनेको छ दजाकोट ।

उठेको सहयोगबाट चिटिक्क परेका पक्की घर बन्दै छन । त्यति वेला सांसद विष्टले सरकारबाट एक एक लाख दिलाउने घोषणा गरे अनुरुप हिजो मात्र मुसिकोट नगरपालिकाले ३० घरलाई एक एक लाख दियो भने बाँकी २७ घरलाई भदौं भित्रमा उपलप्ध गराउने मेयर सोमनाथ सापकोटाले प्रतिवद्धता जनाएर गएका छन ।

उनले अग्नी पिडित दजाकोट गाउँलाई नमुना गाउँ बनाउने गरी नगरपालिका अगाडी बढेको बताएका छन । अभियान्त छन्त्यालले त्यस गाउँ सुधारमा खेलेको भुमिकाको उनले सह्रना गर्दै अन्य गाउँवासीले पनि उनको जस्तै कार्यलाई शिरोधार्य गर्न सके विकास र सुधार नागरिक आफ्नै हातमा पनि हुने सुझाव दिएका छन ।

छन्त्याल भने त्यसको श्रेय आफुले मात्र लिन नसक्ने बताउँ छन । उनले भने मेरो त पहल मात्रै हो । म जस्ता थुप्रै साथीहरुले अगुवाई गर्नु भयो । दिदी वहिनी आमाहरुले निकै साथ दिनु भयो । यसको श्रेय हाल सम्म त्यहाँका शिक्षित र सचेत वर्ग सवैलाई जान्छ ।

गाउँमा हरिसरका नामले चिनिने छन्त्याल अति सिमान्तकृत समुदायका ब्यक्ति हुन । अन्य गाउँमा बस्ने उनि जस्तै छन्त्याल समुदायका कैयौ मानिसहरुले अहिले सम्म उचित शिक्षा र वसोवास पाउन सकेका छैनन । स्थानिय अगुवाहरु भन्छन उनलाई यहाँ सम्म ल्याउने राजनीति हो ।

उनि स्कुले जिवन देखि नै तत्कालिन नेकपा मालेको विद्यार्थी संगठनमा आवद्ध भए । हाल तत्कलिन एमालेको जिल्ला सचिवालय सदस्य रहेका उनि पहिला आफु र आफ्नो गाउँ नसुधारे सम्म राजनीति गर्नुको अर्थ नरहेको भावनाबाट प्रेरित भएको बताउँ छन ।

तस्वीरः उनै अभियन्ता छन्त्याल, आगोलागी नहुनु पुर्वको दजाकोट, एक एक लाख मेयरव्दारा हस्तान्तरण र बन्न लागेका नमुना वस्तीका घरहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *