ढोरपाटन नगरपालिकाव्दारा बाढी-पहिरो पीडितहरुका लागि रु ८ लाख ६० हजार राहत वितरण !

नगरवासीको दु:खमा साथ दिन नगरपालिका हरदम तयार छ : नगरप्रमुख नेपाली

लोकेन्द्र निरासी, बुर्तिबाङ २०७५ साउन ३ । ढोरपाटन नगरपालिकाको कार्यालयले आज एक कार्यक्रमको आयोजना गरि बुर्तिबाङका वाढी तथा पहिरो पीडितहरुका लागि राहत रकम वितरण गरेको छ । राहत वितरण कार्यक्रमका बोल्दै नगर प्रमुख देवकुमार नेपालीले नगरवासीको दुःखमा साथ दिन नगरपालिका सधै तयार रहेको बताए । आफ्नो नगरपालिकाको तर्फबाटमात्र नभई पीडितहरुका लागि प्रदेश तथा संघीय सरकारमा समेत आफूले सक्दो पहल गर्ने नगर प्रमुख नेपालीको भनाई थियो । गत साउन १ गते रातिको अविरल वर्षाबाट आएको वाढी तथा पहिरोका कारण बुर्तिबाङमा करोडौंको क्षति पुराउनुका साथै बुर्तिबाङ बजार नै तहसनहस बनाएको थियो ।

नगरपालिकाले वाढी तथा पहिरो पीडितहरुको अवस्थाको इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट संकलन गरिएको घटनास्थलको मुचुल्काका आधारमा ३ भागमा वर्गिकरण गरि राहत रकम वितरण गरेको छ । पूर्ण रुपमा घरवाबास क्षति भएकालाई क श्रेणिमा राखिएको छ । पूर्ण रुपमा व्यवसाय क्षेति तथा टहरा क्षति भएकाहरुलाई ख श्रेणी र घर टहरा वा व्यवसायमा आंशिक क्षेति भएकाहरुलाई ग श्रेणीमा वर्गीकरण गरी राहत रकम वितरण गरिएको छ । क श्रेणीमा पर्नेहरुलाई ५० हजार, ख श्रेणीमा पर्नेलाई ३० हजार र ग श्रेणीमा पर्नेलाई २० हजार रुपैयाका दरले नगद राहत रकम वितरण गरिएको छ ।

यसरी प्रहरी मुचुल्काको आधारमा आजसम्म सूचीकृत भएका २८ घर परिवारलाई ढोरपाटन नगरपालिकाले कुल ८ लाख ६० हजार रुपैया वितरण गरेको छ भने नगर प्रमुख देवकुमार नेपालीले आफ्नो व्यक्तिगत तर्फदेखि प्रत्येक घरपरिवारलाई ५ हजारका दरले कुल १ लाख ४० हजार समेत आजै वितरण गरेका छन् । साथै अन्य छुट भएका बाढी पहिरो पीडितहरुको तथ्यांक तयार गरी पुनः अर्काे चरणमा नगरपालिकाबाट राहत रकम वितरण गरिने नगर प्रमुख नेपालीले बताए ।

उक्त राहत रकम वितरण कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख जनक थापा, ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओम प्रकाश यादब, वडान नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारी, वडा नं. २ का वडा अध्यक्ष युवराज महत, वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुन, ढोरपाटन नगरकार्यपालिकाका सदस्य गोकुल शेरचन, बेल कुमारी छन्त्याल, शान्ति वि.क., नगरसभाका अन्य सदस्यहरु, नेपाल कम्युनिष्ट पार्टी नेकपाका चन्द्र अर्याल, नेपाली काँग्रेशका शालिकराम शर्मा, समाजसेवी तुल्सीराम अर्याल, रेडियो परिवर्तनका स्टेशन म्यानेज राम सुवेदी, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, रेडियो बुर्तिबाङका प्रतिनिधि योगेन्द्र विश्वकर्मा लगायत समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी र बाढीपहिरो पीडित परिवारहरुको उपस्थिति रहेको थियो ।

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको अध्यक्षता रहेको उक्त राहत रकम वितरण कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ बागलुङका सदस्य लोकेन्द्र सुनारले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *