चाहना इञ्जिनियर : बाटोभरी चुनौतीका चाङ / पहिरोले समेत एक्लो बनायो मौसमलाई !

रामबहादुर जि.सी. बागलुङ २०७५ साउन १ । इञ्जिनियर बनेर देशको विकासमा योगदान गर्ने लक्ष्य लिएका बागलुङको बरेङ गाउँपालिकाका एक बालक चुनौतीको चाङमा घेरिएका छन् ।

बरेङ गाउँपालिका वडा नं. १ धुल्लु लुरुङका ९ वर्षीय मौसम क्षेत्री सपनासंगै व्यवधानको चाङमा अल्झिएका छन् ।

आमालाई राम्ररी चिन्न पनि नसक्ने अवस्थामा उनकी आमाले उनी र उनको बाबालाई छोडेर अर्कैसंग घरजम गरिन् । बाबुले बाहिरको काम गर्थे, घरमा हजुरआमाले सहयोग गरिन्, हजुर आमाको आड पाएपछि उनले आमाको काँख नभएको महसुस गरेनन् । घरको आर्थिक अवस्था कमजोर थियो, छोरालाई राम्रोसंग पढाउनका लागि कमाई गर्ने भन्दै उनका बाबु पदमबहादुर क्षेत्री ५ वर्ष पहिला मुग्लान पसे । छोराको सुन्दर भविष्य बनाउने सोंचका साथ भारत पसेका पदमबहादुर उतै वेपत्ता भए । हैदरावाद पुगेका उनी आमाको निधन पछि पनि घर फर्केका छैनन् ।

हजुरआमासंग बस्दै आएका मौसमले बाबुको सहयोग त पाएनन् नै ३ वर्ष अगाडि हजुरआमाको पनि निधन भएपछि उनी यतिबेला आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

हजुरआमाको निधनपछि मौसमले आफ्नो घर छोडन् पर्ने अवस्था सिर्जना भयो ।

हाल कक्षा ३ मा पढ्दै गरेका अब्बल विद्यार्थी मौसमलाई ठुलो बाबा रामबहादुर क्षेत्री र ठुली आमा गीता क्षेत्रीले आश्रय दिएका छन् ।
पढ्नमा अब्बल छ, इमान्दार र व्यवहारिक पनि छ, तर हाम्रो पनि घरको अवस्था कमजोर नै छ, कसरी पढाउने भन्ने चिन्ता बढ्न थालेको छ, उनलाई आमाको माया दिदै आएकी ठुली आमा गीताले भनिन् ।

आफ्नै छोरा सरह पालेको बताउने गीताले बाबुको भविष्यका बारेमा आजैदेखि चिन्ता लाग्न थालेको सुनाइन् ।

अभिभावकको मायाबबाट वञ्चित बनेका मौसम नजिकै रहेको आफ्नो घरमा जाने घरको रेखदेख गर्ने गर्दै आएका थिए । गत असार ११ गते आएको पहिरोले उनको घर पनि पुरीदियो । अभिभावकले छोडेर गएपनि ठुलो भएपछि आफ्नै घरमा बस्ने उनको आस थियो, घर पनि पहिरोले पुरिएपछि उनी अहिले विक्षिप्त बनेका छन् । मेरो भन्ने यही घर थियो, पहिरोले यसलाई पनि पुरेपछि अब मेरो केही छैन, उनले पीडा सुनाए ।

२०७५ असार ११ गते राती लुरुङमा पहिरो गयो, पहिरोले विष्णुबहादुर क्षेत्रीको घर पुरिदा उनीसंगै उनकी श्रीमति विष्णुमाया क्षेत्री र ५ वर्षकी बालिका सोनिया क्षेत्रीको निधन भएको थियो ।

पहिरोमा पुरिएर सानी बहिनी मरिन्, मौसमले भने –विष्णु अंकल र आण्टीको पनि मृत्यु भयो । म अन्त्यै बस्ने भएकाले घरमात्रै पुरियो । यही घरको आस थियो, अब त्यो पनि रहेन उनले चिन्ता व्यक्त गरे ।

आमा, बाबु र हजुरआमाले साथ छोडेपछि एक्लो बनेका मौसमको ठुलो भएर आफ्नो घर सजाउने सपना पनि पहिरोले चकनाचुर पारिदियो ।

यतिबेला उनी कसैको साहराको आसमा छन् । पढ्ने धोको छ, तर सहयोग गर्ने कोही छैन, बस्ने बास र अभिभावकको आस नभएपछि उनको भविष्य अन्यौलमा छ । अब के गर्ने के गर्ने,, ठुलो बाबा र ठुली आमाले के भन्नुहुन्छ थाहा छैन, उनले बालापन अनुसार नै आफ्नो व्यथा सुनाए ।

ठुलीआमा गीता क्षेत्रीले उसलाई पाल्न त समस्या छैन, उसको चाहना अनुसार पढाउन सकिन्छ कि सकिदैन ? भन्न नसकिने बताइन् ।

कुनै संघ संस्थाले मौसमलाई पाल्छु, पढाउछु भन्यो भने के गर्नु हुन्छ भन्ने प्रश्नमा गीताले भनिन् त्यस्तो राम्रो संस्था आए विचार गर्न सकिन्छ । सानैदेखि ठुलो भएर इञ्जिनियर बन्छु भन्छ, इञ्जिनियर पढाउने हाम्रो अवस्था छैन, गीताले भनिन् यसको चाहना पुरा गर्ने हाम्रो सामथ्र्यले भ्याउदैन । इञ्जिनियर बन्ने चाहना भएका एक अब्बल विद्यार्थी चुनौतीको चाङमा पुरिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *